प्रधानसेनापतिका बोली र व्यवहारको विरोधाभास
हामी चाहन्छौँ, थापाले आफ्नो कूटनीतिक विनम्रता र व्यवहारबीचको विरोधाभास अन्त्य गरून् ।
पूर्णचन्द्र थापालाई भेट्ने जोकोहीले अनुभूति गर्न सक्छ– मेरो भेट प्रधानसेनापतिसँग होइन, कूटनीतिज्ञसँग भइरहेको छ ।
सादगी, विनम्रता र दृष्टिकोणको स्पष्टताका लागि थापाको प्रशंसा हुने गर्छ । तौलीतौली बोल्छन् । शाब्दिक छनोट किफायती छ । विगतमा अपारदर्शिता, आन्तरिक अन्याय र भ्रष्टाचारले गाँजेको नेपाली सेनाको नेतृत्वमा डेढ वर्षअघि उनी आएथे । उनी महारथी बन्दा थुप्रैले अड्कल काटे– अब सेनाभित्र सुधारको अध्याय प्रारम्भ भयो ।
थापाले आफैँबाट त्यस्तो सन्देश प्रवाह गर्न चाहे । पहिलोपल्ट सम्पत्ति विवरण सार्वजनिक गर्ने सेनापतिका रूपमा उनको वाहवाही भयो । उनी संस्थागत पारदर्शिता र जवाफदेहिताका लागि अग्रसर छन् भन्ने अर्थमा बुझियो । तल्लो दर्जाका सैनिकको मनोबल उकास्न उनीहरूलाई प्रत्यक्ष सुन्ने विधि बसाल्न खोजेको पनि देखियो । समाजमा नायक नपाएर छट्पटिएका प्रेसकर्मीदेखि बलियो राज्यका लागि बलियो सेनाका पैरवीकर्ताहरूले उनका पहलकदमीलाई ‘केही परिवर्तन हुन लागिरहेको’ रूपमा अर्थ्याए ।
नेपाल म्यागजिनको यो अंकका लागि हाम्रा संवाददाताद्वय जनक नेपाल र मनबहादुर बस्नेतले गरेको रिपोर्टिङले भने यस्तो भन्दैन । यसले त प्रधानसेनापति थापाका थुप्रै त्यस्ता क्रियाकलापको खुलासा गर्छ, जसबाट उनी सुधारका संवाहक होइन, त्यसका अवरोधक देखिएको पो संकेत गर्छ । एउटै प्रकृतिका कसुरमा थापाले परस्पर बाझिने गरी निर्णय लिँदा त्यसको असर सेनाभित्रको रोलक्रममा परेको देखिन्छ । उनी पनि अरू चिफसाबझैँ नातावादको चंगुलबाट मुक्त देखिन्नन् । समयमा पदोन्नतिको निर्णय नगरिदिँदा केही सैनिक अधिकारीको करिअर नै चौपट भएको छ । केही अधिकारीको जन्ममिति विवादलाई थापाले प्रतिशोधको अस्त्र बनाएको देखिन्छ ।
मनले खाएका अधिकृतलाई थापाले दोहोरो जिम्मेवारी दिएका छन्, मन नपरेकाहरूलाई किनारामा धकेलेका छन् । आफ्ना ‘आलोचक’ जर्नेलहरूमाथि सुराकी गर्न खटाएको आरोपसमेत उनीमाथि लागेको छ । फास्टट्रयाकलगायत पूर्वाधार निर्माणमा सेनाको उपस्थिति अनावश्यक र प्रत्युत्पादक बन्ने देखिँदै छ । अनि संघीय संविधानको मर्मविपरीत पृतनाहरू पुनर्संंरचना गर्ने उनको कदम जति अनावश्यक छ, त्योभन्दा आपत्तिजनक त राजनीतिक नेतृत्वलाई त्यसका लागि प्रभावित पार्न खोज्ने क्रियाकलाप ।
तीन वर्षको पूर्ण अवधिका लागि प्रधानसेनापति भएका थापाले ठ्याक्कै आफ्नो कार्यकालको ५० प्रतिशत समय गुजारिसकेका छन् । आफ्नो पालामा सेनाजस्तो संवेदनशील अनि राष्ट्रको अन्तिम सुरक्षाकवचभित्र व्यापक सुधारको सन्देश साँच्चिकै प्रवाहित गर्न चाहेको हो भने उनीसँग अझै पनि समय छ । थापालाई हेक्का हुनुपर्छ, उनीअघिका जर्साबहरूले पनि ठूल्ठूला प्रतिबद्धता जाहेर गर्ने तर व्यवहारमा संस्थागत विश्वसनीयता नै कमजोर बनाउने क्रियाकलाप गर्दै आएका थिए ।
परिदृश्यहरूले देखाउँछन्, परिवर्तित समयअनुरूप कस्तो सैनिक संस्था बनाउने भन्ने परिकल्पना गर्न अझै बाँकी छ । अब त धेरैले बिर्सिसकेको हुनुपर्छ– सेनाभित्र व्यापक पुनर्संरचनाको माग जनआन्दोलन ०६२/६३ का क्रममा चर्को स्वरमा उठेको थियो । सैनिक नेतृत्वको छवि सफा राख्ने, जनताको करले पालिएका राष्ट्र–रक्षकहरूको गुणस्तर बढाउने र नेपाली सेनाको संस्थागत साख जोगाउने हो भने अब प्रधानमन्त्री केपी ओली र संसद् दुवैको ध्यान सेनामाथि पर्नु आवश्यक छ ।
थापाले बुझ्नुपर्छ– सेनाभित्र सुधारको एजेन्डा अब उनी वा कुनै जर्नेलको इच्छाधीन होइन । यो आजको आवश्यकता हो । त्यसका लागि उनी जिम्मेवार र जवाफदेही भूमिकामा छन् । हामी चाहन्छौँ, थापाले आफ्नो कूटनीतिक विनम्रता र व्यवहारबीचको विरोधाभास अन्त्य गरून् ।
सम्बन्धित
स्वदेशभित्र औपचारिक क्षेत्रभित्र काम गर्ने कर्मचारीहरूदेखि सडकका व्यापार र मजदुरका कुरा, र...
रोगभन्दा भयानक बन्दै छ रोजगारी संकट [सम्पादकीय टिप्पणी]
समय छँदै देखाइने अग्रसरता यही स्तरमा कायम रहे हामी सम्भवत: यो विश्वव्याधि छल्न सफल राष्ट्र...
स्वास्थ्य संकटकाल : मिलेर सामना गरौँ [विशेष सम्पादकीय]
यो संकटोन्मुख घडीमा गर्न सकिने न्यूनतम जिम्मेवारी पनि पूरा नगर्दा आज फेरि एक पटक राज्यका न...
कोरोना सन्त्रासबीच अभिभावक-राज्यको खोजी
संकटको मौका छोपेर उपभोक्ता लुट्ने कार्य सर्वथा निन्दनीय छ । उनीहरूमाथि सरकारले तत्काल कार...
कोरोनाको नाममा कालाबजारियाको संक्रमण
निश्चित व्यक्तिको इच्छापूर्तिका लागि सिंगो प्रक्रिया बन्धक बनाउने कृत्य अब रोकिनुपर्छ ।...
प्रधानमन्त्रीले सरकारको बदनाम गरे, नेकपा सचिवालयले आफ्नै पार्टीको
भ्रष्टाचार आफू पनि नगर्ने, अरूलाई पनि गर्न नदिने प्रधानमन्त्री ओलीको प्रतिबद्धताको वास्तवि...