अख्तियारलाई आधा धन्यवाद
अख्तियारलाई तटस्थ संवैधानिक हैसियत त्यसै दिइएको होइन । त्यसअनुसारको व्यवहार पनि अपेक्षा गरिएको हुन्छ । आफ्नो साख जोगाउने हो भने अख्तियारले अझै पनि पूरक मुद्दा दायर गर्न सक्छ ।
भुरा माछामा मात्रै अल्झिएको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यशैलीप्रति आलोचना भइरहेका बेला बहुचर्चित ललिता निवास प्रकरणलाई एउटा टुंगोमा पुर्याएको छ । अख्तियारले अघिल्लो साता प्रधानमन्त्री निवास घुर्यानको जग्गा बेचबिखनमा संलग्न १ सय १० जनालाई भ्रष्टाचार मुद्दा अनि बाँकी ६५ लाई जग्गा जफत प्रयोजनका लागि मुद्दा दायर गर्यो । सराहनीय कदम चालेकामा अख्तियारलाई आधा धन्यवाद ।
आधा धन्यवाद किनभने यो प्रकरणमा संलग्न भनिएका सत्तासीन दलका नेताहरूलाई मुद्दा नचलाउने उसको निर्णयले केही गम्भीर सवाल सतहमा ल्याइदिएको छ । कानुनले व्यक्ति चिन्दैन । उसको हैसियत बुझ्दैन । कसुरका मात्रा मात्रै जोख्छ र दण्ड निर्धारण गर्छ । अख्तियारले भने व्यक्ति चिन्यो र चिन्यो उसको हैसियत । एउटै मन्त्रिपरिषदका समान कामकारबाहीमा संलग्न कसैलाई दोषी देख्यो, कसैको रौँधरी खोट पहिल्याएन । यसले निष्पक्ष र तटस्थ हैसियतमा बस्नुपर्ने संवैधानिक निकाय कतै सत्ताको प्रभावमा परेको सन्देश पनि दियो ।
विभेदकारी बन्न अख्तियारले टेकेको जमिन झनै खतरनाक छ, स्वयं उसका लागि पनि । मन्त्रिपरिषदको सामूहिक नीतिगत निर्णय आफ्नो क्षेत्राधिकारमा नपर्ने भन्दै दुई प्रधानमन्त्रीलाई उन्मुक्ति दिइयो । सत्ताधारी दलका महासचिव विष्णु पौडेल छानबिनमै तानिएनन् । नेपालले गत वैशाखमा स्थलगत खोजमार्फत पौडेलले कसरी गृहनगर बुटवलको सुकुम्बासी बस्तीदेखि बालुवाटारको जग्गासम्म हत्याए भन्ने तथ्य उजागर गरेको थियो । आफ्ना जिल्लाबासी शोभाकान्त ढकाललाई अगाडि सारेर ललिता निवासको जग्गा जालसाजीमा पौडेल संलग्न थिए । त्यसलाई वैध बनाउन आफ्नै पार्टीको सरकारलाई प्रभावमा पारे । हदैसम्मको कम मोलमा आफ्नो छोराले जग्गा किनेको फर्जी कागज मालपोतमा खडा गरे । तर उनलाई अख्तियारले प्रतिवादी नै बनाएन ।
कानुनले मालपोतको कार्यक्षेत्रमा पर्ने प्रस्ट व्यवस्था हुँदाहुँदै जग्गा स्रेस्ता खारेज, दर्ताबारे मन्त्रिपरिषद्ले निर्णय गरेर कार्यान्वयनका लागि पठायो । कानुनी प्रस्टता नभएको र कानुन बनाएर काम गर्दा अव्यावहारिक हुने भएमा मन्त्रिपरिषदले नीतिगत निर्णय गरेर गाँठो फुकाउन सक्छ । तर यहाँ त कानुनले दिएको अधिकार प्रयोग गर्ने संस्थालाई नै खास काम गर्न मन्त्रिपरिषद्ले अह्राएको छ । त्यस कारण मन्त्रिपरिषदको नीतिगत निर्णय भनेको के हो र यसको औचित्य कुन हदसम्म मान्ने भन्ने गम्भीर विषयको निर्क्योल गर्नुपर्ने भएको छ ।
आफू कारबाहीबाट बच्ने उपायको खोजी गर्दै मन्त्रिपरिषद्बाट सबै निर्णय गराउने हो भने मातहतका निकाय किन चाहियो ? त्यस कारण मन्त्रिपरिषदका निर्णय कुन नीतिगत र कुन कार्यगत भन्ने छुट्याउन जरुरी छ । नीतिगत निर्णय कार्यपालिकाको अनियमितताको ढकनी बन्नु हुँदैन । त्यसलाई अख्तियारले सहयोग गर्नु आफ्नो कार्यक्षेत्र झनै साँघुर्याउनु हो ।
निष्पक्ष भूमिकामा अविश्वास गर्ने ठाउँ दिएर अख्तियारले गल्ती गरेको छ । विगतमा पनि अख्तियार सरकारको प्रतिशोधी हतियार बनेको कुरा उठेको थियो । सूर्यनाथ उपाध्यायले तत्कालीन एमालेलाई जोगाएको र कांग्रेसलाई छानीछानी जेल हालेको आरोप लाग्ने गर्छ, यसको इतिहास खोतल्दा । अर्कातिर २० वर्षअघि लाउडा जहाज भाडा प्रकरणमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई जोगाएर तत्कालीन विभागीय मन्त्री तारिणीदत्त चटौत आदि मात्रै कारबाहीको भागीदार बन्नु परेको विवादास्पद विगत छ । बारम्बार यस्तो अवगाल खेप्दा संस्थागत साख सखाप हुन्छ ।
अख्तियारलाई तटस्थ संवैधानिक हैसियत त्यसै दिइएको होइन । त्यसअनुसारको व्यवहार पनि अपेक्षा गरिएको हुन्छ । आफ्नो साख जोगाउने हो भने अख्तियारले अझै पनि पूरक मुद्दा दायर गर्न सक्छ ।
सम्बन्धित
स्वदेशभित्र औपचारिक क्षेत्रभित्र काम गर्ने कर्मचारीहरूदेखि सडकका व्यापार र मजदुरका कुरा, र...
रोगभन्दा भयानक बन्दै छ रोजगारी संकट [सम्पादकीय टिप्पणी]
समय छँदै देखाइने अग्रसरता यही स्तरमा कायम रहे हामी सम्भवत: यो विश्वव्याधि छल्न सफल राष्ट्र...
स्वास्थ्य संकटकाल : मिलेर सामना गरौँ [विशेष सम्पादकीय]
यो संकटोन्मुख घडीमा गर्न सकिने न्यूनतम जिम्मेवारी पनि पूरा नगर्दा आज फेरि एक पटक राज्यका न...
कोरोना सन्त्रासबीच अभिभावक-राज्यको खोजी
संकटको मौका छोपेर उपभोक्ता लुट्ने कार्य सर्वथा निन्दनीय छ । उनीहरूमाथि सरकारले तत्काल कार...
कोरोनाको नाममा कालाबजारियाको संक्रमण
निश्चित व्यक्तिको इच्छापूर्तिका लागि सिंगो प्रक्रिया बन्धक बनाउने कृत्य अब रोकिनुपर्छ ।...
प्रधानमन्त्रीले सरकारको बदनाम गरे, नेकपा सचिवालयले आफ्नै पार्टीको
भ्रष्टाचार आफू पनि नगर्ने, अरूलाई पनि गर्न नदिने प्रधानमन्त्री ओलीको प्रतिबद्धताको वास्तवि...