समाचार निर्माताहरू-२०७२ ---शिखर नारी
यो शिखरारोहणले गणतन्त्रमा आमनागरिककी छोरी पनि मुलुकको सर्वोच्च पदमा पुग्न सक्छिन् भन्ने दृष्टान्तसमेत प्रस्तुत गरेको छ ।

गत ११ कात्तिकमा संसद्बाट राष्ट्रपतिमा निर्वाचित भएसँगै विद्यादेवी भण्डारीले नेपालको इतिहासमै पहिलो महिला राष्ट्राध्यक्षको इतिहास रचिन् । र, संविधानसभाबाट संविधान जारी भएपछिको पहिलो राष्ट्रपति बन्ने अवसर पनि उनले नै पाइन् । मानेभञ्ज्याङ, भोजपुरमा जन्मिएकी भण्डारीको यो शिखरारोहणले गणतन्त्रमा आमनागरिककी छोरी पनि मुलुकको सर्वोच्च पदमा पुग्न सक्छिन् भन्ने दृष्टान्तसमेत प्रस्तुत गरेको छ ।
धेरैको अनुमान थियो, एमालेले नयाँ राष्ट्रपतिका लागि पार्टीका पूर्वअध्यक्ष झलनाथ खनाल या पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई अघि बढाउनेछ । तर, अध्यक्ष केपी ओलीको लबिङका कारण पार्टी उपाध्यक्ष भण्डारीलाई अघि सारियो । एमाले, एमाओवादी, राप्रपा नेपालसहित अन्य साना दलको सत्ता समीकरण बनेकै थियो । त्यसैले भण्डारी ११ कात्तिकमा संसद्मा भएको राष्ट्रपतीय चुनावमा सहजै विजयी भइन् । खसेको ५ सय ४९ मतमध्ये भण्डारीले ३ सय २७ मत ल्याउँदै नेपालको इतिहासमा पहिलो महिला राष्ट्रपतिमा नाम लेखाइन् । कांग्रेसका कुलबहादुर गुरुडले २ सय १४ मत ल्याएर भण्डारीसँग पराजित भए । एमालेका पूर्वमहासचिव मदन भण्डारीकी धर्मपत्नी उनी पतिको निधनपछि सक्रिय राजनीतिमा प्रवेश गरेकी थिइन् ।