समाचार निर्माताहरू - २०७२ --- सद्भावका सेतु
इन्टरनेटका सामाजिक सञ्जालमार्फत दुई अधिकारकर्मी शान्ता चौधरी र सरस्वती सुब्बाले सामाजिक सद्भाव खलबलिने त्रस्त मनोदशामा भएका बेला सद्भावको अभियान सुरु गरे ।
प्रमुख ठूला राजनीतिक दलहरू संविधान जारी गर्ने अन्तिम चरणमा थिए तर मस्यौदामा मधेस, जनजाति र सीमान्तकृत समुदायको अधिकार तथा सीमांकनको रूपरेखा ठीक नभएको भन्दै तराईका विभिन्न स्थानमा आन्दोलन सुरु भयो । भदौको पहिलो साता कैलालीको टीकापुरमा हिंसा भड्कियो र आठ प्रहरीसहित दुईवर्षे बालकको ज्यान गयो । तराईमा पनि यसै गरी नागरिकको ज्यान जाने सिलसिला सुरु भयो । यस्तो बेलामा इन्टरनेटका सामाजिक सञ्जालमार्फत दुई अधिकारकर्मी शान्ता चौधरी र सरस्वती सुब्बाले सामाजिक सद्भावको अभियान सुरु गरे ।
‘राजनीतिमा हिंसा होइन, विवेकको स्थान बलियो हुनुपर्छ’ भन्दै उनीहरू सामाजिक सञ्जालमा मात्र सीमित भएनन्, विभिन्न स्थानमा शान्ति सभा र सद्भावपूर्ण भेटघाट तथा छलफलहरू चलाए । दाङकी चौधरी १८ वर्षसम्म कमलरी बसेकी र भूमि अधिकारको आन्दोलन हुँदै एमाले राजनीतिमा आएकी हुन् भने सर्लाहीकी सुब्बा भूमि अधिकार आन्दोलनमै सक्रिय छन् । दुवै सीमान्तकृत समुदायका महिला भएका कारण पनि उनीहरूको अभियान प्रभावी बन्यो । सामाजिक सद्भाव खलबलिने त्रस्त मनोदशामा भएका बेला आ–आफ्ना राजनीतिक र विषयगत मुद्दाभन्दा माथि उठेर सामाजिक सद्भावको अभियन्ताका रूपमा उनीहरू सोसल मिडियादेखि मूलधारको सञ्चार माध्यममा समेत छाइरहे । सामाजिक सद्भावका लागि उनीहरूको सन्देशले सकारात्मक योगदान पुर्यायो ।