समाचार निर्माताहरू - २०७२ --- बदनाम व्यवस्थापक
अखिल नेपाल फुटबल संघ (एन्फा)मा १९ वर्ष एकछत्र राज गरेका गणेश थापा नेपाली खेलकुद क्षेत्रमा सर्वाधिक बदनाम पात्र ठहरिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा)मा १९ वर्ष एकछत्र राज गरेका गणेश थापा नेपाली खेलकुद क्षेत्रमा सर्वाधिक बदनाम पात्र ठहरिए । लामो समयदेखि आर्थिक अनियमितताको आरोप खेप्दै आएका थापालाई यसपाला भने विश्व फुटबल महासंघ (फिफा)को अनुशासन समितिले सबैखाले फुटबल गतिविधिबाट १० वर्षको प्रतिबन्धसहित २० हजार स्वीस फ्र्यांक अर्थात् करिब २१ लाख रुपियाँ जरिवाना गरेपछि उनी नेपाली फुटबलको व्यवस्थापनबाट निलम्बित भएका छन् ।
सन् २०१२ मा भएको फिफाको निर्वाचन र सन् २००९ मा भएको एएफसी कंग्रेसमा थापाले घूस लिएको फिफाको ठहर छ । रोचक त के भने फिफाले कारबाही गर्दा उनी राप्रपा नेपालबाट समानुपातिक तर्फका सांसद् थिए/छन् र पार्टी अध्यक्ष उनका दाइ कमल थापाचाहिँ केपी ओली नेतृत्वको सरकारमा उपप्रधान एवं पराष्ट्रमन्त्री ।
फुटबलका यी व्यवस्थापकलाई अनियमितता र अधिकार दुरुपयोगको आरोप लगाउँदै संसद्को सार्वजनिक लेखा समितिले अनुसन्धानका लागि अघिल्लो वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिससमेत गरेको थियो । तर, अख्तियारले ‘क्लिन चिट’ दिएको केही महिनामै फिफाले उनीमाथि कारबाही र प्रतिबन्धको घोषणा गरेको थियो ।