समाचार निर्माताहरू - २०७२ --- अथक धाविका
ज्ञातव्य रहोस्, मीरा पूर्वमाओवादी लडाकू हुन् । र, सेना समायोजनका समयमा अयोग्य घोषित भएपछि खेल क्षेत्रमा लागेकी हुन् ।
वैशाख ०७१ मा फ्रान्सको चामोनिक्समा भएको वार्षिक मोन्ट ब्लँ म्याराथनको ८० किलोमिटरतर्फको अल्ट्रा म्याराथन (उच्च पर्वतीय क्षेत्रमा हुने दौड) उपाधि जित्दा नेपालमा धेरैलाई मीरा राई, २४, बारे थाहा थिएन । तर, १२ घन्टा ३२ मिनेटमा निर्धारित दूरी पार गरेर प्रतियोगितामा पहिलो भएपछि उनीबारे विश्वचाहिँ जानकार भइसकेको थियो ।
भोजपुरको दुम्मामा जन्मेकी मीराले ०७२ मा त झन् कमाल नै देखाइन् । जस्तो : असोजमा स्पेनमा सम्पन्न सालोमन प्रिनेउ अल्ट्रा म्याराथनमा उपविजेता बनेर आफूलाई थप प्रमाणित गरिन् । संसारकै उत्कृष्ट पाँच प्रतियोगिताभित्र पर्ने १ सय १० किलोमिटरको दूरीको यो दौड मीराले १३ घन्टा ४३ मिनेट ४१ सेकेन्डमै पार गरिन् । २४ माघमा हङकङमा सम्पन्न स्काई रनिङ एसियन च्याम्पियनसिप ५० किलोमिटरको दौड जितेर मीराले आफ्नो प्रख्याति बढाइन् । महिलातर्फ पहिलो भएकी उनले ट्रफीसँगै आठ हजार डलर पुरस्कार थापिन् ।
अक्सिजनको कमी हुने उच्च स्थानमा हुने दौड प्रतियोगितामा लगातारको जित हासिल गरेकै कारण मीरा अल्ट्रा म्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रिय खेलाडीको सूचीमा परेकी छन् । उनले यस वर्ष आफू सहभागी १४ अल्ट्रा म्याराथन प्रतियोगितामध्ये आठमा स्वर्ण पदक जितिन् । ज्ञातव्य रहोस्, मीरा पूर्वमाओवादी लडाकू हुन् । र, सेना समायोजनका समयमा अयोग्य घोषित भएपछि खेल क्षेत्रमा लागेकी हुन् ।