समाचार निर्माताहरू-२०७२ --- भूकम्पका विम्ब
प्रलयको त्यो सिलसिलामा भक्तपुर मूलढोकाका ६ महिने बालक सोनिस अवाल भने भूकम्पमा घर भत्केर २२ घन्टा पुरिँदा पनि बाँचे ।
१२ वैशाख ०७२ को विनाशकारी भूकम्पले ८ हजार ९ सय ३७ जनाको ज्यान लियो । २२ हजारलाई घाइते बनायो । १० लाख घरपरिवारका आवासमा क्षति पुर्यायो । तर, प्रलयको त्यो सिलसिलामा भक्तपुर मूलढोकाका ६ महिने बालक सोनिस अवाल भने भूकम्पमा घर भत्केर २२ घन्टा पुरिँदा पनि बाँचे । सुरक्षाकर्मीद्वारा उद्धार गरिएका उनै दूधे बालक भूकम्पभरि मात्र होइन, वर्षभर नै राष्ट्रिय/अन्तर्राष्ट्रिय मिडियाका लागि सर्वाधिक चासोका विषय बने ।
त्यसो त भूकम्प र शक्तिशाली परकम्पहरूका कारण भग्नावशेषमा पुरिएका र उद्धार गरिएका अरू धेरै पात्रका बारेमा समाचारहरू बाहिर आए तर श्याम र रमिला अवालका छोरा सोनिसको कथा किन पनि अलग अर्थको थियो भने ती शिशुको वृत्तान्तले तमाम दु:ख र भयबीच पनि आशाको तरंग सञ्चार गथ्र्यो । सुखद संयोगलाई संवेदित पार्ने प्रकृतिको एउटा विम्बका रूपमा सोनिसका तस्बिरहरू सामाजिक सञ्जालसहित देशविदेशका अनेकौँ सञ्चारमाध्यमले प्रयोग गरे ।