समाचार निर्माताहरू-२०७२ --- कांग्रेसका शेर
संसद्को सबैभन्दा ठूलो दलको शीर्ष पदमा आरोहणसँगै कांग्रेसको नेतृत्व पनि विद्यार्थी पुस्ताको हातमा पुगेको छ ।

नेपाली कांग्रेसको स्थापनाकालदेखिको विरासतलाई भत्काउँदै शेरबहादुर देउवा पहिलोपल्ट सभापतिमा निर्वाचित भए । विगतका दुई महाधिवेशनमा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालासँग पराजित उनी तेस्रो प्रयासमा पार्टी सभापति चुनिएका हुन् । कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिमा प्रवेश गरेर मुलुककै पुरानो प्रजातान्त्रिक दलको सर्वोच्च पदमा पुग्ने उनी पहिलो नेता पनि हुन् । अर्थात्, संसद्को सबैभन्दा ठूलो दलको शीर्ष पदमा आरोहणसँगै कांग्रेसको नेतृत्व पनि विद्यार्थी पुस्ताको हातमा पुगेको छ ।
वर्ष ०७२ मै उनले प्रतिस्पर्धी रामचन्द्र पौडेललाई दुईपटक महाधिवेशनमा र एकपटक संसदीय दलको निर्वाचनमा समेत पराजित गरे । संसदीय दलको नेतामा निर्वाचित भएपछि उनी संसद्को प्रमुख प्रतिपक्षी दलको नेता बनेका छन् । महाधिवेशनमा आफ्नो पल्ला भारी बनाउन खुमबहादुर खड्का, गोविन्दराज जोशी, चिरञ्जीवी वाग्लेलगायतका भ्रष्टाचारमा सजाय भोगेका वा मुद्दा खेपिरहेकाहरूको समेत साथ लिएका कारण उनी आलोचित पनि भए ।