समाचार निर्माताहरू - २०७२ --- लडाकू–सभामुख
उनी संसदीय व्यवस्थाका विरुद्धमा हतियार उठाएर १० वर्ष सशस्त्र संघर्ष गरेको दल एकीकृत नेकपा माओवादीमा आएको रूपान्तरणकी विम्ब हुन् ।

ओ नसरी घर्तीमगर नेपालको संसदीय इतिहासमै पहिलो सभामुख मात्रै होइनन् । नयाँ संविधान कार्यान्वयन गर्दै सयौँ नयाँ कानुन निर्माण गर्ने विधायिकाकी मुखिया मात्रै पनि होइनन् । खासमा उनी संसदीय व्यवस्थाका विरुद्धमा हतियार उठाएर १० वर्ष सशस्त्र संघर्ष गरेको दल एकीकृत नेकपा माओवादीमा आएको रूपान्तरणकी विम्ब हुन् ।
संसद्लाई 'खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो' भनेर टिप्पणी गर्ने माओवादी अन्तत: शान्ति प्रक्रियामार्फत बहुदलीय राजनीतिक प्रतिस्पर्धामा मात्र सामेल भएन, संसदीय गणितबाटै सत्ता राजनीतिमा हिस्सेदारी खोज्न पुगेको छ । सर्वहारावर्गको अधिनायकत्व स्थापनाको नारा दिने दल नै अहिले संसदीय प्रतिस्पर्धाबाट उपराष्ट्रपति, सभामुख, उपप्रधानमन्त्रीदेखि शक्तिशाली मन्त्रालयहरूका लागि मोलमोलाइ गर्न थालेको छ । र, अन्य संसदीय दलहरूसँगै सहकार्यका लागि हात बढाएको छ ।
घर्तीलाई वर्तमान सरकारको गठबन्धनले सभामुख पदको उम्मेदवारका रूपमा अघि सारेको थियो, त्यसैमा पनि प्रतिपक्षी नेपाली कांग्रेसले उक्त पदमा दाबेदारी प्रस्तुत नगरेर सहज बनाइदियो । त्यसैले, रोल्पाको जंकोट–१, माडीचौरमा जन्मेकी घर्ती २९ असोजमा सभामुख निर्वाचित भइन् । सभामुख भइसकेपछि न्यायाधीश नियुक्तिमा न्यायपरिषद्ले गरेको सिफासिलाई फिर्ता पठाएर विवादित पनि भइन् । तर, त्यो अडानमा टिक्नचाहिँ सकिनन् ।