समाचार निर्माताहरू - २०७२ --- अब्बल अनुसन्धानकर्मी
खनाल संगठित अपराधविरुद्ध नयाँ आयामबाट अनुसन्धान र कारबाही चलाएर उदाहरणीय प्रहरी अधिकारी साबित भए ।

संगठित गुन्डाराजविरुद्ध शृंखलाबद्ध अभियान छेडेर होस् वा गुप्त रूपमा सञ्चालित हुन्डी कारोबारीविरुद्ध अपरेसन थालेर, महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनालले सरकारी संरचनामा सक्रियताको उदाहरण प्रस्तुत गरे । उनकै पहलमा फुटबल ‘म्याच फिक्सिङ’को घटना सतहमा मात्रै आएन, त्यसमा संलग्न राष्ट्रिय खेलाडीहरूलाई कानुनी दायरामा ल्याउने काम पनि भयो ।
नाकाबन्दीका बेला पेट्रोल पम्पको मिटर बिगारेर ठगी गरेको आशंकामा उनले उपत्यकाका ५७ पम्पमा छापा हाने र १३ जनाविरुद्ध तत्काल मुद्दा चलाए । यस्तै, वर्षौंदेखि राज्यको कुनै पनि आधिकारिक निकायमा दर्ता नभई सञ्चालनमा रहेका शैक्षिक परामर्श केन्द्रदेखि लिएर तोकेभन्दा बढी रकम असुल्ने म्यानपावर कम्पनीविरुद्ध पनि कारबाही सुरु गरे ।
कुमार श्रेष्ठ ‘घैँटे’लगायतका गुन्डाहरूविरुद्ध खनालले एकपछि अर्को कारबाही चलाए । त्यसका अलावा नेपालमा अपराध गरी भारतमा लुकेका थुप्रै अपराधीलाई पक्रेर पनि ल्याए । नेटवर्क व्यवसायमार्फत अर्बौं रुपियाँ ठगेर पाँच वर्षदेखि फरार युनिटी लाइफ इन्टरनेसनलका प्रबन्ध निर्देशक विष्णुबहादुर क्षत्री र तालिम निर्देशक कृष्णबहादुर क्षत्री पनि यहीबीचमा समातिए । सारमा, खनाल संगठित अपराधविरुद्ध नयाँ आयामबाट अनुसन्धान र कारबाही चलाएर उदाहरणीय प्रहरी अधिकारी साबित भए ।