पानीका नाममा डोम समुदायमाथि अमानवीय व्यवहार

- राजकुमार राउत

करिब अढाइ सय घरबीच एउटा घर छ, खरले छाएको फुसको । घरअगाडि वर्षौं पुरानो पक्की सार्वजनिक इनार छ । तर, तिर्खा लाग्दा त्यो इनारको पानी काम लाग्दैन । जानुपर्छ, तीन किलोमिटर परको अर्को गाउँ विष्णपुरकट्टी । 

कथाजस्तो लाग्ने यो प्रसंग हो, धनगढी नगरपालिका–११, सिरहाकी प्रमिला मरिक (डोम), ६०, को (तस्बिरमा) । भन्छिन्, “किहान जाइतमे जन्म भेल, पाइनैबिना मरजावे ।” अर्थात्, कस्तो जातमा जन्मिइएछ, पानीबिनै मर्नुपर्ने !

१६ भदौ ०७२ मा पानी छोएको निहुँमा कथित उपल्लो समुदायका मानिसहरूले घरमा पसेर प्रमिलालाई कुटपिट गरे । “उनलाई गाउँ निकाला गर्न घर भत्काइदिए,” स्थानीय दलित अधिकारकर्मी प्रेम राम भन्छन्, “इलाका प्रहरी कार्यालयमा खबर गऱ्यौं, प्रहरी आए तर गाउँलेहरूको हुलका अगाडि उनीहरूको केही चलेन । पछि सदरमुकामबाट सीडीओ र एसपीको टोली घटनास्थाल आइपुग्यो । घटना साम्य त भयो तर कुटपिट गर्ने कसैलाई कारबाही गरिएन ।”

सीडीओ र एसपीले प्रमिलालाई इनारबाट पानी भर्न लगाए । सुरक्षाका लागि सात दिनसम्म गाउँमा प्रहरी खटाए । प्रहरी गाउँमा रहुन्जेल मरिकले इनारबाट पानी भरिन् । तर, प्रहरी गाउँबाट हिँडेपछि ‘हाम्रो इनार छुने तैँ होइनस् ? तेरो पुलिसले के गर्छ’ भन्दै कुटपिट गरे गाउँलेले । “डोमले छोएको इनार भनेर इनारमा फोहोर हाल्नुका साथै माटो, बालुवा, ढुंगा हालेर पुरिदिए” उनले गहभरि आँसु पारेर भनिन् । 

प्रमिलामाथिको यस्तो आक्रमणको सिलसिला यत्तिमै रोकिएन । भन्छिन्, “ममाथि तीनचोटि आक्रमण भइसक्यो । कुटपिट गर्नेमाथि उजुरी गर्न गयो प्रहरीले कुरै सुन्दैन । गाउँ छोडेर जाउँm, जाने ठाउँ छैन ।” कथित उपल्लो समुदायका केही व्यक्तिले इनार पुरिदिएपछि उनी आधा घन्टा परको इँटाभट्टाको पानी लिन गइन् । त्यहाँ पनि गाउँलेहरू पुगे । इँटाभट्टाका मालिकलाई उनीहरूले भने, ‘डोमलाई पानी दिइस् भने तेरो इँटाभट्टा बन्द गरिदिन्छौँ ।’ गाउँलेको धम्कीपछि इँटाभट्टा मालिकले पनि पानी दिन बन्द गरिदिए । हाल उनी अर्को गाउँ विष्णुपुरकट्टीको रामदेव साहको इनारबाट पानी ल्याउँछिन् । साहलाई पनि थर्काइसकेका छन् गाउँलेहरूले । 

प्रमिला मरिक मात्र होइन, सिरहामा दुई हजारको संख्यामा रहेका डोम समुदायहरूको अवस्था यस्तै पीडादायी छ । सिरहाकै मुसहरसनियाका प्रकाश मरिक भन्छन्, “हामी डोम जाति बिहान–बेलुकाको छाक टार्न चर्पी सफा गर्ने काम गर्छौं । काम नगरेको दिन अँगेनोमा आगो बल्दैन । एउटा ट्युबेल गाड्न कम्तीमा १० हजार रुपियाँ खर्च लाग्छ, कहाँबाट ल्याउने हामी गरिबले यत्रो पैसा ?” 

दलितको पक्षमा काम गर्दै आएका दलित जनकल्याण युवा क्लब, लहानका अध्यक्ष विनोद विसुंखे भन्छन्, “नैनपुरमा इनार छोएको निहँुमा डोमहरूमाथि आक्रमण भएपछि घटनाको यथार्थ बुझ्न घटनास्थल आएको प्रमुख जिल्ला अधिकारीको टोलीले एक घर डोमका लागि तत्कालै खानेपानीको व्यवस्था गरिदिने प्रतिबद्धता जाहेर गरेको थियो । एक वर्ष भइसक्दा पनि केही भएको छैन,” उनी थप्छन्, “गाविस, जिविसमा खानेपानीका लागि बर्सेनि बजेट आउँछ तर डोम जातिले पाउँदैनन् । डोम जातिलाई राज्यले नै उपेक्षा गरेको छ ।” 

सीमान्तीकृत जातिमा पर्ने सबैभन्दा पिछडिएको अल्पसंख्यक जाति हो डोम समुदाय । दलितभित्रका पनि दलितको रूपमा रहेका यी समुदायलाई तराईमा अझै पनि उपल्लो समुदायले मात्र होइन, दलितहरूले समेत निकृष्ट व्यवहार गर्छन् । 

खानेपानीका लागि बजेट

आव ०७१/७२ मा जिल्ला खानेपानी तथा सरसफाइ कार्यालय लहानमा सात करोड र आव ०७२/७३ मा ८ करोड ५९ बजेट आएको कार्यालयका लेखा अधिकृत भीम लिम्बू बताउँछन् । जिविस सिरहामा आव ०७१/७२ मा १ करोड ३० लाख रुपियाँ र आव ०७२/७३ मा दुई करोड रुपैयाँ खानेपानी तथा सरसफाइ बजेट रहेको सिरहाका स्थानीय विकास अधिकारी टुवराज अधिकारी बताउँछन् ।

हाल प्रधानमन्त्रीसमेत भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको क्षेत्र सिरहा क्षेत्र नम्बर ५ मा मात्र खानेपानीमा ५० लाख बजेट खर्च भएको छ भने नेपाली कांग्रेसका प्रदीप गिरीको गाउँ बस्तीपुरमा खानेपानीमा १० लाख बजेट गएको स्थानीय विकास अधिकारी बताउँछन् । खानेपानीका क्षेत्रमा यत्रो बजेट विनियोजन हुने गरे पनि डोम समुदाय पानीकै लागि घन्टौँ हिँड्न बाध्य छन् ।

 

प्रकाशित: श्रावण २५, २०७३

×