नेपालको धन, हरियो वन
चार दशकमा वन क्षेत्रको लोभलाग्दो फड्को
सन् १९७८ मा विश्व बैंकले नेपालको घट्दो वनको अवस्थाबारे अनुसन्धान गरेर एउटा सनसनीपूर्ण प्रतिवेदन सार्वजनिक गर्यो, जसमा अबको २५ वर्षभित्र नेपालका पहाडी एवं उच्च हिमाली भेग र १५ वर्षभित्र तराई भूभागका जंगल सखाप हुने उल्लेख थियो । त्यसभन्दा दुई वर्षअघि मात्रै एरिक एकहोल्मले लुजिङ ग्राउन्ड नामक पुस्तक प्रकाशित गरेका थिए, जसमा नेपालको वनजंगल सखाप भइरहेको भन्दै पर्यावरण भयावह अवस्थाबाट गुज्रिरहेको उल्लेख थियो । त्यस पुस्तकमा तराईको भूभाग मरुभूमीकरण हुने खतरा औँल्याइएको थियो । यस्तो निचोड त्यस्तो बेला निकालिएको थियो, जतिबेला नेपालमा वन फँडानी अत्यन्त तीव्र गतिमा भइरहेको थियो । त्यही दरमा फँडानी भएमा यस्तो भयावह अवस्था निम्तिने आकलन गरेको बुझ्न कठिन छैन ।
विश्व बैंकको प्रतिवेदन र एरिकको पुस्तकले नेपालको जंगल र पर्यावरणबारे ज्यादै नकारात्मक प्रक्षेपण गरेको करिब चार दशकपछिको अवस्था भने ठ्याक्कै उल्टो हुन पुगेको छ । पर्यावरण संरक्षणको क्षेत्रमा नेपालले उल्लेख्य नतिजा हासिल गरेको छ । जस्तो : पछिल्लो तथ्यांकले नेपालको वन क्षेत्र चार प्रतिशतले बढेको देखाएको छ । वनले ढाकेको क्षेत्र अहिले ५९ लाख ६२ हजार हेक्टर पुगेको छ । अर्थात् कुल भूभागमध्ये ४४ दशमलव ७ प्रतिशत वनजंगल छ । सन् १९९९ मा वन विभागले गरेको राष्ट्रिय वन सर्वेक्षणमा जंगलले ओगटेको क्षेत्रफल ५५ लाख हेक्टर थियो, जुन कुल जमिनको ३९ दशमलव ९ प्रतिशत हुन आउँछ ।
वन बढेपछि वन्यजन्तुको संख्यासमेत स्वत: बढेको छ । एकसिंगे गैँडा र बाघको संख्यामा उल्लेख्य वृद्धि भएको छ । सन् १९७८ मा ३ सय १० को संख्यामा रहेका एकसिंगे गैंडा अहिले दोब्बर अर्थात् ६ सय ४५ पुगेका छन् । त्यस्तै बाघको संख्या सन् २००९ मा १ सय २१ रहेकामा अहिले १ सय ९८ पुगेको छ । अन्य वन्यजन्तु एवं पन्छीहरूको संख्यासमेत वृद्धि भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव नारायण
रूपाखेती बताउँछन् ।
कारण यो हो
विश्व बैंकले विसं २०३५/३६ मा चेतावनीयुक्त उक्त प्रतिवेदन निकाल्दा नेपाल चरम राजनीतिक अस्थिरताबाट गुज्रिरहेको थियो । त्यसबखत चुरे र चारकोसे जंगलका रूख काटिएर भारत पार हुने गरेका थिए । विनाशको त्यस्तो विकराल अवस्थाबाट आफूलाई जोगाएर नेपाल अहिले वन संरक्षणमा समृद्ध बनिसकेको छ । आखिर कसरी त ?
सरकारले अख्तियार गरेको सामुदायिक वनको नीति, कृषि र पशुपालन पेसा त्याग्ने जनसंख्या वृद्धि, बसाइँसराइ, माओवादी द्वन्द्वजस्ता कारणले वन क्षेत्र फैलिएको हो । वन विभागमा लामो समय काम गरेका पूर्वसचिव केशवराज कँडेलका अनुसार सामुदायिक वनको अवधारणा लागू भएपछि नेपालमा वन क्षेत्र विस्तार भएको हो । वनको बढोत्तरी हुनुमा सामुदायिक वनको हिस्सा कति छ भन्ने कुरा पछिल्लो सर्भेले समेत खुलाउन सकेको छैन । तर, त्यसमा केही यस्ता संकेतहरू छन्, जसले सामुदायिक वनका कारण समग्र वन क्षेत्र बढेको देखाउँछ । जस्तो : पहाडी र हिमाली भेगमा वनको हिस्सा बढेको छ । ती क्षेत्रमा समुदायले व्यवस्थापन गरेका वनको अनुपात बढी छ । सामुदायिक वन नेपालको मौलिक अवधारणासमेत हो । “फाइदा भए पनि आफैँलाई, बेफाइदा भए पनि आफैँलाई हुने हुँदा समुदायहरू आफूवरिपरिका जंगल जोगाउन अघि सरे,” यो अवधारणा बनाउन र कार्यान्वयनमा समेत संलग्न कँडेल भन्छन्, “त्यसैको परिणाम अहिले हरियाली बढेको छ ।”
कृषि र पशुपालनमा आश्रित हुनेहरूको संख्या घट्नु वन जोगिनुको अर्को कारण हो । यसै पनि खेतीयोग्य जमिन घट्दो दरमा छ । कृषि मन्त्रालयका उपसचिव शंकर सापकोटाका अनुसार गत वर्ष मात्रै खेतीयोग्य जमिन दुई प्रतिशतले घट्यो । विसं २००७ मा ९३.८ प्रतिशत जनसंख्याले कृषि पेसा अपनाउँथ्यो । ०४६ मा आइपुग्दा ८१.२३ र अहिले ६२ प्रतिशतमा ओर्लिएको छ, त्यो जनसंख्या । खेतीयोग्य जमिन घट्नु भनेको या त त्यसमा जंगल उम्रनु हो या बस्ती विस्तार हुनु हो । अधिकांश पहाडी र हिमाली भेगमा खेतीयोग्य जमिन मासिएपछि बुट्यान हुर्कन्छ र कालान्तरमा जंगलको स्वरूप लिन्छ ।
पहाड र हिमाली भेगदेखि तराई एवं ग्रामीण भेगदेखि सहरमा बसाइँ सर्ने क्रमसमेत तीव्र छ । सन् २०११ मा केन्द्रीय तथ्यांक विभागले निकालेको आँकडा अनुसार गाउँदेखि सहर पस्नेको संख्या तीव्र गतिमा बढेको देखाउँछ । सन् २००१ मा गाउँबाट सहर पस्नेको संख्या २५ प्रतिशत थियो भने २०११ मा त्यो संख्या बढेर ३३ प्रतिशत पुग्यो । सहरमा बसाइँ सर्ने ८४ प्रतिशत गाउँका हुने गरेको तथ्यांक छ । पहाडबाट तराई र सहरी भेगमा बसाइँ सर्ने उच्च दर भएका १० वटा पहाडी जिल्लाको बसाइँसराइ र वनजंगलको अवस्था हेर्दा रोचक चित्र फेला पर्छ । बसाइँसराइ दर ६५ प्रतिशतभन्दा बढी भएका यी जिल्लामा वनको अनुपात भने बढेको छ ।
जमिन बाँझै छोडेर बसाइँ सर्ने प्रवृत्तिले समेत जंगलको अनुपात बढाएको हो । पहाडी इलाकाको जनसंख्याको तुलनामा तराईमा वृद्धिदर उच्च छ । रोचक त के छ भने जनसंख्याको घनत्व बढी भएको तराईमा वनको क्षेत्रफल घटेको छ भने कम हुने जिल्लामा बढेको छ । “यसबाट समेत बसाइँसराइ, जनसंख्या वृद्धिले जंगलको क्षेत्रफल थपघट हुनुमा भूमिका खेलेको प्रस्ट छ,” वन विभाग सामुदायिक वन महाशाखाका उपसचिव अनुजराज शर्मा भन्छन् ।
पछिल्लो कालमा काम गर्ने युवा शक्ति विदेशिएको छ । कृषिमा लागेको जनशक्ति विदेशिएपछि खेतीयोग्य जमिन बाँझो हुने नै भयो । “खेतबारी बाँझो छोड्ने क्रम बढेकाले वन क्षेत्र फैलियो,” वन अनुसन्धान विभागका उपमहानिर्देशक यामप्रसाद पोखरेल भन्छन्, “बसाइँसराइ, युवा शक्ति विदेशिनु, सामुदायिक वनको अवधारणा नै वन जोगिनुका प्रमुख कारण हुने हाम्रो अनुमान छ ।”
वैदेशिक रोजगारीबाट भित्रिने रेमिट्यान्सले समेत बसाइँसराइलाई बढावा दिएको छ । वैदेशिक रोजगारबाट आर्थिक स्रोत जुटेपछि उसले आफ्ना सन्ततिको शिक्षाका लागि परिवारलाई सदरमुकाम वा सुगममा सार्छ । गाउँका खेतबारी बाँझिन्छन् ।
१० वर्षे माओवादी विद्रहोहको समेत नेपालको वन विस्तार हुनुमा थोरबहुत भूमिका छ । त्यसताका माओवादीले बढी जमिन हुनेहरूलाई ‘टार्गेट’ गरेका थिए । परिणाम उनीहरू जमिन छोडेर सुरक्षित थलोतिर लागे । ती जमिन जंगलमा परिणत भए । साथै, द्वन्द्वकै कारण वनमा आश्रितहरू वन छिर्न कम भयो । वन्यजन्तुको चोरी–सिकार ीसमेत कम भयो । वनमा मानिसको चाप कम परेपछि स्वत: जंगल फैलिँदै गयो र जंगलभरि वन्यजन्तु बढ्ने नै भए । “संरक्षणका क्षेत्रमा हामीले उदाहरणीय काम गरिसकेका छौँ,” पूर्वसचिव कँडेल भन्छन्, “अब यसबाट प्रत्यक्ष फाइदा लिने काममा लाग्नुपर्छ ।”
तर, फाइदा बढेन
वन क्षेत्र त बढ्यो तर त्यसबाट देशको ढुकुटीमा सोझो प्रभाव भने परेको देखिएको छैन । वनजंगल बढे पनि जंगलमै आधारित उद्योग, कलकारखाना खासै खुल्न सकेका छैनन् । समुदायले दाउरा, घाँस, घर बनाउने काठपात, पानीको मुहान उपलब्ध हुने परम्परागत कुराबाहेक रोजगार सिर्जना हुने गरी प्रगति देखिएको छैन ।
४४ प्रतिशत वन क्षेत्र रहे पनि यसले मुलुकको कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी)मा दिने योगदान भने नगन्य छ । तथ्यांक अनुसार वनले १.२ प्रतिशत मात्रै मुलुकको जीडीपीमा योगदान गरेको छ । जब कि, सन् ’८० को दशकमा बनेको वनको गुरुयोजनाले जीडीपीमा १५ प्रतिशत योगदान दिने प्रक्षेपण गरेको थियो । वनमा आधारित उद्योगधन्दाको विकास नहुनु यसको प्रमुख कारण हो । “हामीले वनबाट जति फाइदा लिनुपर्ने हो, त्यो लिन नसकेको पक्का हो,” वन विभागका उपसचिव शर्मा भन्छन् ।
सरकारले वन संरक्षणको नीति त लियो तर त्यसको व्यवस्थापनमा भने चुक्यो । बूढा रूखहरूलाई समेत काटेन । जब कि, रूख बूढो हुँदै गएपछि धोद्रो पर्ने हुँदा त्यसबाट लिनुपर्ने फाइदा लिन सकिँदैन । निश्चित समयपछि रूखहरू छिमल्ने, कटान गर्ने र नयाँ बिरुवा रोप्ने चक्र पूरा गरेमा मात्रै वनबाट बढी फाइदा लिन सकिन्छ ।
वन व्यवस्थापनका लागि सरकारसँग पर्याप्त दक्ष जनशक्तिको अभाव छ । जोखिमपूर्ण हुने भएकाले वन व्यवस्थापनका लागि सुरक्षा उपकरणहरूको समेत आवश्यक पर्छ, जुन महँगो हुने हुन्छ । “वन व्यवस्थापनमा हामीले कामै गरेका छैनौँ भने पनि हुन्छ,” वन विभागका शर्माको भनाइ छ, “वनबाट मानिसले लाभ लिन सकेन भने त्यो वनको काम पर्यावरण सन्तुलन राख्नेमा मात्र सीमित हुन सक्छ । वनले मानिसको जीवनस्तर समेत उकास्न सक्नुपर्छ । अनि मात्रै, वन बढेकामा हामीले गर्व गर्ने ठाउँ रहन्छ ।”
विश्वकै नमुना
सामुदायिक वनको अवधारणा नेपालको मौलिक नीति हो । रैथाने सीपमा आधारित नीति, योजनाहरू सफल हुन्छन् भन्ने उदाहरणसमेत हो, सामुदायिक वन । नेपालमा सरकारले लागू गरेका सीमित सफलतम नीति, योजनामध्येमा पर्छ यो । वन विनाश तीव्र गतिमा हुन थालेपछि सरकारले यो नीति लागू गरेको थियो । विसं ०३५/३६ देखि नै सामुदायिक वनको अवधारणामा पाइलट प्रोजेक्टको काम भए पनि ०४६ पछि ऐन बनाएर काम सुरु भयो । त्यसपछि भारी मात्रामा वनको व्यवस्थापन समुदायलाई हस्तान्तरण गर्न थालिएको थियो । अहिले करिब १९ हजार सामुदायिक वन उपभोक्ता समूहका व्यवस्थापनमा सञ्चालित छन् ।
रैथाने सीपको उपयोग, महिला, जनजातिको संलग्नता सामुदायिक वनका सबल पक्ष हुन् । चार दशकमा सामुदायिक वनले लोभलाग्दो फड्को मारेको छ । उपभोक्ता समूह आफैँले विधान बनाएर त्यही अनुसार सञ्चालित हुन्छन् । त्यसलाई जिल्ला वन कार्यालयले नियमन गरेको हुन्छ । सामुदायिक वनको आम्दानी समुदायकै हुन्छ । विद्यालय भवन, बाटोघाटो, खानेपानीको धारा बनाउनेमा यस्ता वनको आम्दानीले धान्ने गरेका उदाहरण देशभर थुप्रै पाइन्छन् ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...