ब्याडमिन्टनले प्रख्यात डाँडागाउँ
एकै गाउँका पाँच अन्तर्राष्ट्रिय खेलाडी
भोजपुर ।। नेपाली ब्याडमिन्टन जगत्मा भोजपुरे खेलाडीको एकछत्र वर्चस्व कायमै छ, पुरुष र महिला दुवै स्पर्धामा । राष्ट्रिय होस् या अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, उनीहरूको दबदबा र सहभागिता अझै कायमै छ । त्यसमा पनि सबै खेलाडी एकै गाउँका छन् ।
विसं ०५९ यता नेपाली ब्याडमिन्टनका लागि भोजपुर उर्वरभूमि नै साबित भयो । सरादेवी तामाङ, नंसलदेवी तामाङ, विकास श्रेष्ठ, रत्नजित तामाङ, विवेक श्रेष्ठ र नवीन श्रेष्ठ नेपाली ब्याडमिन्टनमा आफ्नो प्रतिभा प्रमाणित गरेका खेलाडी हुन् । तामाङ र श्रेष्ठ परिवारका उनीहरू सदरमुकामस्थित एकै गाउँ (भोजपुर–७, डाँडागाउँ)का खेलाडी हुन् । सरादेवी, नंसलदेवी र रत्नजित तामाङ एकै घरका तीन दिदीभाइ हुन् । विकास र विवेक श्रेष्ठ परिवारका दुई दाजुभाइ तथा नवीन पनि श्रेष्ठ परिवारकै हुन् ।
उनीहरू सबैले १०/११ वर्षकै उमेरमा ब्याडमिन्टन खेल्न थाले । यसको श्रेय ब्याडमिन्टन खेलाडी दानबहादुर तामाङलाई जान्छ । उनी सरादेवी, नंसलदेवी र रत्नजितका बुबा हुन् । उनीलगायत अग्रज ब्याडमिन्टन खेलाडी मिलेर विसं ०४९ मा जिल्ला ब्याडमिन्टन संघ खडा गरेका थिए । प्राय: खेलाडीले ‘जुनियर लेभल’ को स्पर्धादेखि नै ब्याडमिन्टनमा लगातार प्रभुत्व जमाए ।
सरादेवी, विकास, विवेक र नवीन ‘जुनियर लेभल’मा नै राष्ट्रिय च्याम्पियन बनेका थिए भने रत्नजित र नंसलले पनि राष्ट्रिय स्तरका अन्य प्रतियोगितामा पदक जितेका थिए । जुनियर लेभलदेखि नै राष्ट्रिय च्याम्पियन हुनु यतिन्जेलसम्म ब्याडमिन्टनमा सफलता पाउने आधार बनेको थियो उनीहरूलाई । बाँकी जीवनलाई पूर्ण रूपमा खेल जगत्मा समर्पित गर्ने जग बन्यो । तर, उनीहरूको संघर्ष कथा भने कम मार्मिक छैन । दानबहादुरको छत्रछाया नपाएका भए संघर्षका लागि साहस र उत्साह पक्कै पाउने थिएनन् । जिल्लामा उनैले ब्याडमिन्टनको वातावरण तयार गरिदिएका थिए । उनको घरैमाथि आउटडोर कोर्ट छ, त्यसैमा सिक्ने र सिकाउने गर्थे । त्यसताका उनी क्षेत्रीय तथा राष्ट्रिय स्तरका स्पर्धामा जिल्लाको प्रतिनिधित्व गर्थे । उनका शिष्यहरू, जो अहिलेका अन्तर्राष्ट्रिय खेलाडी छन्, उनीहरूलाई प्रतिस्पर्धामा लिएर जान्थे । जति नै संघर्ष गर्न परे पनि तीन परिवारका खेलाडीको गजबको तालमेल छ । दानबहादुरलाई सबै ब्याडमिन्टन खेलाडीले गुरु थापे । सरादेवीको पाइला पछ्याउँदै विकास, नंसल, विवेक, रत्नजित र नवीन ब्याडमिन्टनमा लागे । यद्यपि, नवीनलाई ब्याडमिन्टनमा टेकाउनु र मलजल गराउनुका पछाडि विवेकको हात रह्यो । सरादेवी, नंसलदेवी, विकास र रत्नजित काठमाडौँमै बसेर खेल्थे । विवेक काठमाडाँै र गृह जिल्ला ओहोरदोहोर गरिरहन्थे । आफू सिक्थे र अरूलाई सिकाउँथे । त्यही मौकामा नवीन अघिल्ला पुस्ताको बिँडो थाम्ने खेलाडी बने । “ब्याडमिन्टनमा जम्दै जाँदा एकपछि अर्कोले बिँडो थाम्नुपर्छ भन्ने दबाबले नै वर्चस्व जमाउन सकियो,” नवीन सुनाउँछन् ।
विकास र विवेकका लागि इन्डोरमा खेल्नुपर्ने ब्याडमिन्टन खुला आकाशमुनि सिकेर एकैचोटि प्रतिस्पर्धामा जम्नु त्यसबेला चानचुने कुरा थिएन । ‘जुनियर लेभल’को राष्ट्रिय च्याम्पियन जसोतसो भए । त्यसपछि खेल जीवनमा समर्पित हुन गृह जिल्ला बसेर सम्भव थिएन । सबै खेलाडी एकपछि अर्को गर्दै काठमाडौँ पुगे । डेरा लिएर बसे । सामान्य परिवारमा जन्मे–हुर्केका उनीहरूलाई डेरा भाडा तिर्न समेत धौधौ पथ्र्याे । सरादेवी, नंसलदेवी र रत्नजितको सवालमा केही सहजता थियो । उनीहरूका बुबाआमाको मनग्य साथ थियो । विकास र विवेकको सवालमा निकै कष्टकर नै रह्यो । ब्याडमिन्टनका लागि पारिवारिक वातावरण पाउनुपर्ने बेला उनीहरूका बुबाले सदाका लागि संसारबाट बिदा लिए ।
विकास जुनियर लेभलमा पहिलोपटक राष्ट्रिय च्याम्पियन हुनु तीन महिनाअगावै बुबा बितेका थिए । सिनियर लेभलमा लगातार तीनपटक राष्ट्रिय च्याम्पियन बने, उपत्यकाबाहिरका खेलाडीमध्येको यो नै उनको पहिलो ह्याट्रिक थियो । बुबा बितेपछि घरको जेठो छोरो भएको हैसियतले पारिवारिक जिम्मेवारी पनि थियो ।
०६० मा काठमाडौँमा भएको प्रतियोगितामा जुनियरतर्फ राष्ट्रिय च्याम्पियन भए । त्यसपछि ब्याडमिन्टन खेल्नकै लागि गृह जिल्ला छाडेर विराटनगर जानुपर्यो । विराटनगरमा उत्तम सिम्खडासँग तीन महिना प्रशिक्षण गर्ने मौका मिल्यो । यो नै कभर्ड हलभित्रको पहिलो प्रशिक्षण थियो । त्यसपछि काठमाडाँै बस्नुपर्ने भयो । सरादेवी तामाङ ०६० देखि नै महेन्द्र पुलिस क्लबबाट खेल्न थालिसकेकी थिइन् । त्यसपछि विकास पनि ०६१ बाट क्लबमा आबद्ध भए । क्लबबाट दिइने सीमित तलबले काठमाडाँैमा बस्न निकै सकस थियो ।
दु:खको कुरा त विकास च्याम्पियन हुँदासम्म आफ्नै र्याकेट थिएन । पहिलोपटक च्याम्पियन हुँदा अर्काको र्याकेटले खेलेर च्याम्पियन भएका थिए । च्याम्पियन हँुदा अर्काको र्याकेटले खेल्नु पनि उनका लागि संघर्ष नै थियो । च्याम्पियन भइसकेपछि अहिलेसम्म र्याकेट किन्नुपरेको छैन । उनका भाइ विवेक अहिले पनि गृह जिल्लामा जुनियर खेलाडीलाई प्रशिक्षणमा व्यस्त भेटिन्छन् । बिहानै उठ्नु, र्याकेट र सटल बोकेर ब्याडमिन्टन कोर्टमा पुग्नु तथा जुनियर खेलाडीलाई खेल्न सिकाउनु उनको दैनिकी नै बनेको छ । त्यसबापत न त उनले तलबभत्ता नै बुझ्छन्, न लाभोपार्जन नै गर्छन् । “आफूजस्तै, आफूभन्दा पनि राम्रा खेलाडी उत्पादन गर्न सेवाभावले सिकाउँछु,” विवेक भन्छन् । उनले यहीँ बसेर प्रशिक्षण थालेको हाल वर्ष पूरा हँुदैछ । नवीन श्रेष्ठ, सुवास तामाङ, लोकमाता राईलगायत च्याम्पियनहरू उनैले उत्पादन गरे । नवीन राष्ट्रिय च्याम्पियन मात्र भएनन्, अन्तर्राष्ट्रिय खेलाडीका रूपमा प्रतिनिधित्व गरिरहेका छन् । सुवास क्षेत्रीयस्तरको अन्डर–१४ का च्याम्पियन हुन् । बिहानको समय अढाई–तीन घन्टा जुनियर खेलाडी उत्पादनका लागि र्याकेट, सटल लिएर कोर्टमै पुग्छन् । आर्थिक अवस्था कमजोर भएका तर सम्भावना बोकेका नौ जना खेलाडीलाई जर्सी नि:शुल्क दिएका छन् । उनीसँग दैनिकजसो १० देखि १५ जना जुनियर खेलाडी सिक्न आउँछन् ।
सरादेवी, नंसलदेवी, रत्नजित र नवीन काठमाडाँैमा बसेका छन् । नंसलदेवी, रत्नजित र नवीन प्रतिस्पर्धामा उत्रिरहेका हुन्छन् । एकै जिल्लाका तथा एकै गाउँका रत्नजित र नवीनको प्रतिस्पर्धा चल्ने गर्छ । अहिलेसम्म सरादेवी तीनपटक, नंसलदेवी दुईपटक र रत्नजित तीनपटक सिनियर लेभलमा राष्ट्रिय च्याम्पियन बनिसके । नंसलदेवीले यस वर्षको ‘पल्सर स्पोटर्स अवार्ड’ जितिन् । उनकी दिदी सरादेवी तामाङ र भाइ रत्नजित तामाङको सानदार जित पनि उल्लेखनीय छ । एकै घरका तीन दिदीभाइको चर्चा जिल्लाभित्र मात्रै होइन, राष्ट्रका लागि तामाङ परिवार उदाहरण बनेको छ । यी ६ खेलाडी राष्ट्रिय च्याम्पियन भएपछि अन्तर्राष्ट्रिय खेलहरूमा सहभागिता जनाउन थालेका थिए ।
तर, अबदेखि भोजपुरको प्रतिनिधित्व खोइ भन्ने प्रश्न जन्माएको छ । नवीनपछि उही स्तरको खेलाडी जन्मिन सकेका छैनन् । जति पनि राष्ट्रिय स्तरका खेलाडी जन्मिए, सबैले आफ्नै व्यक्तिगत लगानीमा संघर्षका साथ खेलेका थिए । अहिले पनि खेलिरहेका छन् । सरकारले चासो नदिँदा आर्थिक अवस्था कमजोर भएका तर खेलमा अब्बल क्षमता बोकेका कतिपय खेलाडी जिल्लाबाट बाहिर जान सकेका छैनन् ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...