राजालाई रुपान्तरण गर्न सकिएन
गणतन्त्रले अहिले हामीलाई अधिकारसम्पन्न बनाएको छ । तर, जनताका आकांक्षा पूरा गर्ने सवालमा हामी अलि पछि परेका छौँ ।
पछिल्लो पटक राजा ज्ञानेन्द्रले तानाशाही व्यवस्था लादेपछि मलाई के लाग्यो भने, अब राजतन्त्रको औचित्य छैन । राजा स्वयं राजनीतिमा प्रवेश गरेपछि यस्तो लाग्नु अस्वाभाविक पनि होइन । राजा सक्रिय भएर पखेटा फिजाउन थालेपछि प्रजातन्त्र जहिले पनि अधूरो भयो । राजतन्त्र रहुन्जेल प्रजातन्त्र अधूरो हुने र जनताको अधिकार जुनसुकै बेला खोसिन सक्ने यथार्थबोध भएपछि नै गणतन्त्र स्थापना गरिछाड्ने निष्कर्षमा पुगिएको थियो ।
नेपाली कांग्रेसलगायत मुलुकमा रहेका वैधानिक दलहरूले गणतन्त्रको ‘ग’ समेत उच्चारण गर्न आनाकानी गरिरहेका बेला मेरो नेतृत्वको नेकपा एमालेले जोखिम मोलेर गणतन्त्रमा जाने निर्णय गरेको थियो, साउन ०६२ मा ।
जतिबेला म गणतन्त्रका पक्षमा दृढतापूर्वक उभिने निष्कर्षमा पुगेको थिएँ, त्यसबेला पार्टीभित्रकै केही साथीहरू गणतन्त्रमा जान सकिएला ? यस्तो निर्णय अहिले नगरौँ भन्दै डराएका थिए । भिन्न मत विद्यमान थिए । गणतन्त्रमा जानुहुँदैन, जान सकिँदैन भन्ने जबर्जस्त मान्यता बोक्ने साथीहरू पनि थिए । तर, विशेषगरी तत्कालीन नेतृ साहना प्रधान, वामदेव गौतमले मलाई बलियो साथ दिए । त्यसैले पार्टी केन्द्रीय कमिटी बैठकबाट निर्णय गर्न सहज भयो ।
आन्दोलन उचाइमा पुग्नुअघि पनि राजालाई दिन सकिने ठाउँ केही बाँकी छ कि ? जापान/नर्वेको जस्तो सम्मान दिएर राख्न सकिन्छ कि ? संघर्ष गरेर रुपान्तरण र सहकार्य गर्न सकिन्छ कि भनेर सोचिएको थियो । त्यसैले गणतन्त्र स्थापना गर्ने निष्कर्षमा पुग्नुअघि लामो समय धैर्य राख्यौँ । तर, केही गरे पनि राजालाई रुपान्तरण गर्न सकिएन । त्यो नभएपछि सहकार्यको सम्भावना रहने कुरै भएन । यही सेरोफेरोमा म र पार्टीको केन्द्रीय कमिटी गणतन्त्र स्थापना गर्ने मान्यतामा पुगेका थियौँ ।
पार्टीभित्रै गणतन्त्रमा जान आत्मविश्वासको अभाव देखिएपछि लाग्न थाल्यो– गणतन्त्रको आन्दोलनमा काठमाडौँबाट दुई–चार सयको जुलुस/प्रदर्शन निकालेर सम्भव छैन, बाहिरबाट सुरु गर्नुपर्छ । त्यसका लागि देशभर जन प्रदर्शन र र्याली निकाल्न मैले नेपाली कांग्रेसलाई प्रस्ताव राखेँ ।
कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले त्यो आँट गरेनन् । उनी तयारै भएनन् । कांग्रेस डराए पनि हामी आत्मविश्वासमा थियौँ । त्यसपछि एमाले एक्लैले देशका विभिन्न स्थानमा जुलुस, र्याली, जन प्रदर्शन गर्ने निर्णय गर्यो । मैले केन्द्रीय कमिटीको बैठकमा सोधेँ, “जनपरिचालनका निम्ति ‘आइसबेक्र’ गर्ने एक न एक नेता चाहिन्छ । एक्लै जन प्रदर्शन गर्ने आँट कसले गर्नुहुन्छ ? जसले अरूलाई पनि बाटो देखाओस् ।”
त्यो अग्रपंक्तिमा उभिने आँट देखाए, केन्द्रीय सदस्य रामनाथ ढकालले । ढकालले बुटवलबाट सकिन्छ भने । (उनी केही वर्ष पहिले बिते । उनीप्रति मेरो गहिरो श्रद्धान्जली छ ।) असोज ०६२ मा बुटवलमा विशाल सभा राख्न मैले प्रेरित गरेँ । अन्तत: ३ मंसिरको विशाल सभामा ५० हजारभन्दा बढी मानिस सहभागी भए । त्यो सभालाई मैले र वामदेव गौतमले सम्बोधन गर्यौँ । बुटवलमा आमसभा हुनुअघि नेपालका लागि अमेरिकी राजदूत जेम्स एफ मोरियार्टी मलाई भेट्न आएका थिए । उनले भने, “नेपालका राजनीतिक दलहरूमा जनताको विश्वास, प्रतिष्ठा रहेन । अब आन्दोलन उठ्न सक्तैन । तपाईंहरूले पार लगाउन सक्नुहुन्न ।”
मैले त्यसलाई चुनौतीका रूपमा लिएँ । र, भनेँ, “त्यसो भए तिमी जनता कसका पक्षमा छन् भन्ने भ्रममा रहेछौ । २ मंसिरमा बुटवल आऊ र त्यहाँको सबैभन्दा अग्लो घरको छतमा बसेर दूरबिनले हेर । ५० हजारभन्दा तल भएछ भने म राजनीति छाडिदिन्छु ।” मैले नेताहरूलाई ताकेता गरिरहेँ, जनतामा उत्साह कस्तो छ ? कति मानिस सहभागी होलान् भनेर । बुटवलको आभसभाले आन्दोलनका पक्षमा सुनामी सिर्जना गरिदियो । देशभर उत्साहको तरंग जागृत भयो । गणतन्त्रका लागि माहोल बन्यो ।
त्यही बेला जावलाखेलमा नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन भएको थियो । त्यहाँ मैले कांग्रेसलाई गणतन्त्रका पक्षमा आउन आह्वान गरेँ । त्यसपछि गिरिजाप्रसाद कोइराला उठेर खण्डन गरे । जनकपुर पुगेर गणतन्त्रका पक्षमा उठ्न आग्रह गरेँ । सद्भावना पार्टीका तत्कालीन नेता हृदयेश त्रिपाठीले गणतन्त्रको भ्रममा नपर्नुस्, त्यो भ्रममा परे हामी सिद्धिन्छौँ भने । कांग्रेस प्रजातान्त्रिकका तत्कालीन सभापति शेरबहादुर देउवाले गणतन्त्रमा जाने प्रस्ताव राख्दा झन् ठूलो आपत्ति जनाएका थिए । तर, मेरो र एमालेकै अगुवाइमा बिस्तारै गणतन्त्रको माहोल बन्दै गयो । परिस्थिति परिपक्व बन्यो । एमाले नभएको भए देशमा गणतन्त्र आउन समय लाग्थ्यो वा नआउन पनि सक्थ्यो ।
गणतन्त्रले अहिले हामीलाई अधिकारसम्पन्न बनाएको छ । तर, जनताका आकांक्षा पूरा गर्ने सवालमा हामी अलि पछि परेका छौँ । अधिकार प्रयोग गर्ने क्रममा कर्तव्य पूरा गर्न धेरथोर चुकेका छौँ । जहाँ कमजोरी भएको छ, त्यसलाई सुधार्दै अब समृद्धिको यात्रा सुरु गर्नुपर्छ । समृद्धिसँगै जनताले गणतन्त्र स्थापनाको सुखद अनुभूति गर्न पाउँछन् ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...