ज्ञानेन्द्रलाई राजमुकुट दिएनौँ
राजाले गद्दी त्याग्न गिरिजाबाबुसँग कुनै सर्त राखेका थिए भन्ने मलाई लाग्दैन । राजाको कुनै सर्त भएको भए गिरिजाबाबुले मलाई भन्नुहुन्थ्यो होला ।
१८ असोज ०५९ को तत्कालीन राजाको प्रतिगामी कदमविरुद्ध गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा पाँच राजनीतिक दलले सडक आन्दोलन सुरु गरे । राजाले निर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरेर मनोनीत प्रधानमन्त्री प्रथा सुरु गरेपछि गिरिजाबाबुले सडकबाट राजालाई चेतावनी दिनुभयो, “यो देशमा अहिलेसम्म गणतन्त्र र राजतन्त्रका दुइटा नदी बगेका छन् । यी दुई नदी मिसिए भने एकादेशमा राजा थियो भन्ने कथा बन्छ ।”
गिरिजाबाबुको चेतावनीले राजा र राजाका सहयोगीको चेत खुलेन । अन्तत: दुई नदी मिसिएर देशमा गणतन्त्र आयो । सात दल र माओवादीबीच भएको १२ बुँदे समझदारीले गणतन्त्रको नयाँ कोर्ष खडा गरेको हो । नेपाली कांग्रेसले पार्टीको विधानमा संवैधानिक राजतन्त्र राखुन्जेल राजतन्त्र नेपालमा रह्यो, हटाएपछि गयो । कम्युनिस्टहरूको त घोषणापत्रमै गणतन्त्र थियो ।
पछिल्लो समय गिरिजाबाबु प्रधानमन्त्री हुँदा म गृहमन्त्री थिएँ । त्यसैले गणतन्त्रको स्थापना र कार्यान्वयनमा मलाई सहजीकरण गर्ने मौका मिल्यो । १५ जेठ ०६५ मा भएको संविधानसभाको पहिलो बैठकमा मैले नै गणतन्त्रसम्बन्धी सरकारको प्रस्ताव पढेको हुँ । प्रस्ताव पारित भएपछि सरकारको पत्र लिएर तत्कालीन राजालाई भेट्न नारायणहिटी गएँ । एक्लै कुरा गर्न चाहेपछि राजा र मबीच एक्लाएक्लै कुरा भयो ।
राजमुकुट आफैँले राख्न पाउनुपर्ने, सेनाले सुरक्षा गर्नुपर्ने आदि विषयमा राजाका केही माग थिए । राजमुकुट राष्ट्रको सम्पत्तिको रूपमा सुरक्षित रहने र राजाले राख्न नपाउने कुरा मैले प्रस्ट पारेँ । आफ्ना पुर्खाहरूले लगाउँदै आएको राजमुकुट के हुने भन्ने उहाँको जिज्ञासा स्वाभाविक थियो । त्यो किनभने, राणाहरूले पनि राणा शासन हटेपछि श्री ३ महाराजको श्रीपेच आफैँले लगेका रहेछन् । राणा शासकले लगेको त्यो श्रीपेच कहाँ छ ? कसैलाई थाहा छैन । त्यसैले राजमुकुट राजाले लानुभन्दा राज्यसँग नै रहनु उचित हुन्छ भनेपछि उहाँले मान्नुभयो । गणतन्त्र स्थापना भइसकेकाले त्यसको कार्यान्वयनमा राजाबाट कुनै बाधा–व्यवधान भएन ।
पूर्वराजाका रूपमा राज्यले दिने सम्मान र सुरक्षा सरकारले गर्ने सुनिश्चितता गरियो । त्यसपछि उहाँ नारायणहिटी छाडेर सरकारले तोकेकै मितिमा राष्ट्रियकरण भएको नागार्जुन दरबार सर्न राजी हुनुभएको हो । उहाँकी मुमा रत्न र रानी सरलालाई नारायणहिटीमै बस्ने व्यवस्था गरियो ।
गणतन्त्र नमान्ने कुनै लक्षण देखाएनन् राजाले मसँगको भेटमा । त्यसका धेरै कारण थिए । आन्दोलन सकिए पनि गणतन्त्र स्थापना गर्न दुई वर्ष लागेको थियो । संसद् पुनर्बहाली भएलगत्तै संसद्मा रहेको राजाको कुर्सी हटाइयो, सरकारी कार्यालयबाट राजारानीका फोटा हटाइए । राजा वीरेन्द्र र दरबारका नामका सम्पत्ति राष्ट्रियकरण गरेर नेपाल ट्रष्टमा ल्याइयो । राजाको जन्मदिनमा दिने गरिएको सरकारी बिदा खारेज गरियो । अन्तरिम संविधान लागू गरियो, शाही सेनालाई नेपाली सेना बनाइयो, शाही सैनिक ऐन खारेज गरी नेपाली सैनिक ऐन लागू गरियो । सेनालाई सरकार र संसद्को मातहत ल्याइयो । राजालाई काठमाडौँमै बस्नुहोस् भनेर सन्देश दिइयो, उहाँलाई विदेश जान दिइएन । तत्कालीन गृहमन्त्री भएकाले यी सबै काममा संलग्न थिएँ म । राजकीय र सार्वभौमसत्ता जनतामा पुर्याउने लामो शृंखला थियो । संविधानसभाको पहिलो बैठकमा गणतन्त्रको प्रस्तावमा सबैले समर्थन गरेका थिए, राप्रपा नेपालका चार सांसदबाहेक । त्यसैले गणतन्त्र हठात् आएको होइन, परिवर्तनकै रूपमा गणतन्त्र आएको हो । र, त्यो जनआन्दोलनको निरन्तरता थियो ।
राजाले गद्दी त्याग्न गिरिजाबाबुसँग कुनै सर्त राखेका थिए भन्ने मलाई लाग्दैन । राजाको कुनै सर्त भएको भए गिरिजाबाबुले मलाई भन्नुहुन्थ्यो होला । किनभने, म गिरिजाबाबुसँगै थिएँ । हाम्रो पार्टीको बैठकमा पनि गिरिजाबाबु आफैँले गणतन्त्रमा जाने प्रस्ताव राख्नुभएको हो । अन्य पार्टीका नेतासँग पनि राजाले कुनै सर्त राखेका थिएनन्, राजगद्दी त्याग्न । यदि सर्त थिए भने हामीलाई थाहा हुन्थ्यो । त्यसकारण पूर्वराजाले गणतन्त्र कार्यान्वयनका लागि सर्त थियो भन्नुको कुनै अर्थ र औचित्य छैन ।
राजा ज्ञानेन्द्रलाई जस्तै प्रचण्डलाई शान्ति प्रक्रियामा ल्याउन पनि मैले नै सहजीकरण गर्ने मौका पाएँ । शान्ति प्रक्रिया सफल पार्न फोनमा कुरा गरेर मात्र हुँदैन भनेर गिरिजाबाबुकै योजनामा प्रचण्डलाई काठमाडौँ ल्याउन म र शेखर (कोइराला)जी सिक्लेस गयौँ । हेलिकप्टरमा उहाँलाई काठमाडौँ ल्याएपछि बालुवाटरमा प्रचण्ड र गिरिजाबाबुबीच कुराकानी भयो । प्रचण्डले अलि लामो व्याख्या गर्नुभयो । त्यसपछि गिरिजाबाबुले भन्नुभयो, “यो लामो कुरा छाडौँ, तपार्इंहरू शान्ति र लोकतन्त्रमा आउने हो कि होइन ?” प्रचण्डले भन्नुभयो, “त्यसकै लागि त्यति टाढादेखि तपाईंलाई भेट्न बालुवाटार आएको ।” त्यसपछि मिलेर अघि बढौँ भनेर अघि बढिएको हो । त्यही बिन्दुबाट आजको स्थितिमा पुगिएको हो ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...