[नोटबुक] त्रिविको मिचाइ
३० दिनपछि जाँदा जवाफ आयो, “तपार्इंको ट्रान्सक्रिप्ट त आएकै छैन । केही दिनपछि आउनुहोस् ।”
कम्प्युटर विज्ञान तथा सूचना प्रविधिको स्नातक तहको अन्तिम बोर्ड परीक्षा भएको महिनौँ बितिसकेको थियो, नतिजा आउने सुरसार थिएन । डीनको कार्यालय घेराउ र उपकुलपतिलाई निवेदन लेखी ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ भएन । ०७० मा सुरु भएको चार वर्षे कार्यक्रम ०७५ मा आएर सकियो । तर, त्रिभुवन विश्वविद्यालयले आफ्नो दुनो सोझ्याउने उपाय निकालिहाल्यो । लब्धांकपत्रमा ०७५ मा नभई, ०७४ मै नतिजा प्रकाशन भएको देखाइयो । विदेशका विश्वविद्यालयमा भर्ना गर्न अब सबै विद्यार्थीले एक वर्ष ढिला भएको कारण सप्रमाण पेश गर्नुपर्ने हुन्छ । ती विश्वविद्यालयले अयोग्य विद्यार्थीका रूपमा हेर्छन् । त्रिविका पदाधिकारी भने यसमा तैँ चुप मै चुप छन् ।
त्यस्तै झमेलाको सामना ट्रान्स्क्रृप्ट लिँदा पनि भयो । १८ जेठमा आवेदन दिँदा परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीले २५ दिनपछि मात्र ट्रान्स्क्रृप्ट दिन सकिने बताए । ३० दिनपछि जाँदा जवाफ आयो, “तपार्इंको ट्रान्सक्रिप्ट त आएकै छैन । केही दिनपछि आउनुहोस् ।” १५ साउनमा बल्ल ट्रान्सक्रिप्ट हात पर्यो । उपकुलपतिलाई सोधेँ । डीन र पनिकाका पदाधिकारीलाई दोष लगाए । तिनलाई सोध्दा उल्टै उपकुलपति र रजिस्ट्रारलाई दोष लगाए । साँढेको जुधाइ, बाच्छाको मिचाइ ।
इमरानबाट सिकौँ
पाकिस्तानमा सर्वाधिक रुचाइएका पूर्वक्रिकेटर इमरान खानको चुनावपछिको भाषणले धेरैलाई मन्त्रमुग्ध तुल्यायो । परराष्ट्र सम्बन्ध सुदृढीकरणबारे उनले राखेको धारणाले त वाहवाही कमायो, प्रधानमन्त्री भवनलाई कुनै शैक्षिक संस्थामा र सम्पूर्ण गभर्नर निवासलाई होटलमा परिणत गरी धेरैभन्दा धेरै पर्यटक तान्ने उनको निर्णयको पनि चौतर्फी प्रशंसा भयो ।
हाम्रोमा भने अहिलेकाले मात्र नभई भूतपूर्व विशिष्ट पदाधिकारीले समेत सरकारी सेवासुविधा लिने चलन छ । कुनै मन्त्रीले आफूले पाउनुपर्ने आधारभूत सेवा–सुविधासमेत कटौती गरी सामाजिक हितमा टेवा पुर्याएका उदाहरण सायदै होलान् । भन्नेले भनिरहेका छन्, ‘इमरानसाग पैसाको छेलोखेलो छ । त्यति गरेर के नै फरक पर्यो ?’ तर, भ्रष्टाचारका कारण अधोगति लिएको पाकिस्तानलाई हुनेवाला प्रधानमन्त्रीको यस्तो उत्साहजनक मन्तव्यले केही राहत त पक्कै दिँदो हो ।
कस्तो असंवेदना !
सन् २०१२ मा भारतको नयाँ दिल्लीमा भएको निर्भया सामूहिक बलात्कार प्रकरणको सम्झना धेरैलाई होला । बीबीसीले यस घटनालाई लिएर गरेको भिडियो रिपोर्टिङमा अभियुक्तले निर्लज्ज भई महिला राती घुम्न निस्किएकाले बलात्कार हुनु स्वाभाविक रहेको र यसमा आफ्नो कुनै गल्ती नरहेको बताए । मिडियालाई पुलिसले पीडितको फोटोसहितको विवरण त उपलब्ध गरायो । सबैलाई मृत्युदण्ड दिए पनि एकलाई भने नाबालिग ठहर गर्दै हिरासतमुक्त गरियो । उनको विवरण कहीँ कतै खुलाइएन ।
हालै कञ्चनपुरमा १३ वर्षीया बालिकाको बलात्कारपश्चात हत्या भयो । त्यस्तो क्रुर तथा पाशविक घटनापछि सामाजिक सञ्जालमा उनको शवको हृदयविदारक तस्बिर व्यापक सेयर भयो । बलात्कारी त संवेदनहीन थिए नै, फोटो भाइरल बनाएर हामीले पनि हाम्रो संवेदना हराइसकेको प्रमाण दियौँ । पीडितका हकमा बालिग–नाबालिग मतलब गरिएन । बलात्कारका अधिकांश घटनामा यस्तै देखिने गरेको छ ।
हाम्रो रुढीवादी मान्यताले बलात्कारमा पुरुषको भन्दा बढी हात महिलाको रहेको ठान्छ । राती एक्लै हिँड्दा, छोटा लुगा लगाउँदा बलात्कृत हुने सम्भावना बढ्छ रे । त्यसो हुँदो हो त दिउँसै बलात्कार गरेर बालिकालाई झाङमा फालिँदैन थियो, बुर्का लगाएर पूरै आङ ढाकी हिँड्ने महिला बलात्कृत हुनु पर्दैनथ्यो । महिलालाई दोष लगाउने समाजले अब बुझ्न पर्यो, बलात्कारको कारण बलात्कारी हुन्, महिलाका आचरण होइनन् ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...