रोक्न सकिन्छ, नसर्ने रोगको महामारी

- डा तारासिंह बम, जनस्वास्थ्य बिज्ञ

विश्व स्वास्थ्य संगठनको अनुमानित तथ्यांक अनुसार प्रत्येक वर्ष नेपालमा १ लाख २१ हजार मानिस नसर्ने रोगबाट मर्छन् । यो तथ्यांक समग्र मृत्युदरको ६५ प्रतिशत हो । तर, नसर्ने रोगको कारण पत्ता लगाउने हो भने त्यसलाई धेरै हदसम्म रोकथाम गर्न सकिन्छ । महामारीको रूपमा बढ्दै गएको नसर्ने रोगको वृद्धिदर रोक्न सरकारले ढिलो नगरी केही काम भने तत्काल अगाडि बढाउनैपर्छ । सबैले बुझ्नुपर्ने कुरा के हो भने नसर्ने रोग लाग्नै नदिनतर्फ सचेत भयौँ भने धेरै हदसम्म सफल हुन्छौँ । तर, रोग लागिसकेका बिरामीको उपचार लामो प्रक्रियामा जान्छ र खर्च पनि धेरै हुन्छ ।

हाम्रोजस्तो देशमा त्यो खर्चकै कारण उच्च तथा मध्यम वर्गका मानिस गरिबीको अवस्थामा आइपुगेका पनि उदाहरण छन् । अझ राज्यका तर्फबाट उपचारका लागि गरिने सहयोग पनि अर्बौं रुपैयाँ छ, जुन यस्ता रोग लाग्नै नदिने रोकथाममा खर्चिर्ने हो भने आधा पनि खर्च हुँदैन, जसले जनता र राज्य दुवैलाई फाइदा हुन्छ । नसर्ने रोगको यो महामारी कम गर्न सबैभन्दा पहिले त्यसको कारण पत्ता लगाउनुपर्छ ।

सुर्तीजन्य पदार्थ नियन्त्रण

नसर्ने रोगको प्रमुख कारण भनेको सुर्तीजन्य पदार्थको सेवन नै हो । सुर्तीजन्य पदार्थको सेवन दर कम गर्न सबैभन्दा राम्रो उपाय राज्यले त्यस्ता पदार्थमा कर बढाएर महँगो बनाउनु नै हो । सुर्ती सेवनमा भर्खरै लागेका सिकारु युवाहरूमा यसको पहुँच पुग्न नदिन पनि महँगो कर लगाएर बानी पर्नबाटै रोक्नु सबैभन्दा राम्रो उपाय हो । अर्को प्रभावकारी तरिका भनेको सुर्तीजन्य पदार्थको खोलमा ठूलाठूला चेतनामूलक चित्र तथा सन्देश छाप्नु हो । यसको प्रत्यक्ष प्रभाव कति हुन्छ भन्ने कुरा हेर्न नेपालमा सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत चेतावनीमूलक चित्र तथा सन्देश छापेपछि मानिसले चुरोट खाने दर घटाएको तथ्यांक स्वास्थ्य अनुसन्धान परिषद्, द युनियन र एक्सन नेपालले गरेको अध्ययनले देखाएको छ ।

उक्त अध्ययनले चित्र छापिनुअगाडि दिनको १५ खिल्ली चुरोट खाने मानिसले घटाएर ५ खिल्लीमा झारेको पाइएको थियो । यसलाई अझ बढाएर ९० प्रतिशत कार्यान्वयन गर्न प्लेन प्याकेजिङमा जाने हो भने त्यो अझ कम हुन्छ । नेपालको कानुनले बन्देज गरेका सुर्तीजन्य पदार्थको विज्ञापनमा रोक लगाउने, प्रचारप्रसार गर्न नदिने, सार्वजनिक स्थलमा धूमपान निषेधितजस्ता सचेतना अभियानलाई कडाइसाथ लागू गरिनुपर्छ । र, विद्यालय तथा सार्वजनिक स्थलमा जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ । नेपालले विश्व स्वास्थ्य संगठनको सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी सन्धिको पक्षमा हस्ताक्षर गरेकाले सुर्तीजन्य पदार्थ उत्पादक उद्योगलाई निरुत्साहित गर्दै बन्द गर्नेतर्फ कदम चाल्नुपर्छ ।

मदिरा नियन्त्रण

हाम्रो देशमा नसर्ने रोगको अर्को प्रमुख कारणको रूपमा मद्यपानको अधिक सेवन पनि रहेको छ । गुणस्तर मापन नगरिएका घरेलुदेखि लिएर उच्च स्तरका भनिएका रक्सी बजारमा खुलेआम पाइन्छन् । स्वास्थ्यका हिसाबले कुनै पनि खालका मद्यपान ठीक हुँदै हुँदैनन् । सरकारले यसलाई नियन्त्रण गर्न करको दायरा बढाउनुपर्छ । चेतनामूलक कार्यक्रम गर्नुपर्छ । त्यसैगरी विज्ञापनमा बन्देज गर्नुका साथै बालबालिका तथा जोखिम समूहको पहुँचभन्दा बाहिर पार्न सक्नुपर्छ । त्यसका लागि कानुन बनाएर निश्चित समयमा निश्चित स्थानबाट मात्र किनबेच गर्न पाउने बनाउन सकिन्छ ।

खानपानमा जागरुकता

खानेकुराको गुणस्तरमा सहजै विश्वास गर्न सकिने अवस्था छैन । राज्यको अनुगमन पाटो कमजोर छ भने कस्ता खानेकुरा खाने, कस्ता नखाने भनेर जनतामा जागरण पनि छैन । नसर्ने रोगका मन्दविष चिनी, नुनजस्ता पदार्थको उच्च प्रयोग हुन्छ । विशेषगरी प्लास्टिक प्याकिङयुक्त तयारी खानेकुरा, चिसा पेय पदार्थजस्ता खाद्यवस्तुलाई निरुत्साहित गरी फलफूल, सागसब्जी, स्थानीय उत्पादन सेवनलाई राज्यले प्रोत्साहन गर्नुपर्छ । नुन तथा चिनीजन्य खानेकुरा कम खाने बानी विकास गराउन राज्यले विशेष चेतनामूलक कार्यक्रम चलाउनुपर्छ ।

व्यायामलाई प्रोत्साहन

सर्ने रोग नियन्त्रण गर्ने अर्को महत्त्वपूर्ण पाटो शारीरिक व्यायाम पनि राम्रो उपाय हो । पछिल्लो समय सबै नेपाली अल्छी बन्दा धेरै रोगको सिकार बढ्दै गएको छ । राज्यले शारीरिक व्यायामको महत्त्व जनतालाई बुझाउने कार्यक्रम ल्याउनुका साथै खुल्ला स्थानको व्यवस्था गर्ने, साइक्लिङ वे बनाइदिने, हाइकिङ रुट पहिचान गरिदिने र व्यायाम स्थल स्थापनामा जोड दिनु राम्रो हुन्छ ।

(डा बम युनियनको एसिया प्यासिफिक उपनिर्देशक हुन् )

यो पनि पढ्नुहोस् :

विशेष : दीर्घरोगी बन्दै नेपाली

प्रकाशित: आश्विन २, २०७५

×