ताप्लेजुङ हेलिकप्टर दुर्घटना : मौसमको लय नबुझ्दा
साविकभन्दा फरक रुटबाट उडेको थियो, ताप्लेजुङमा दुर्घटनाग्रस्त हेलिकप्टर
पाथीभरा मन्दिर वरपरको मौसम गडबड थियो, १५ फागुनमा । आकाश नियालिसकेपछि हेलिकप्टरका पाइलट प्रभाकर केसीले विशिष्ट यात्रुसमक्ष भनेका थिए, 'एक पटक प्रयास गरी हेरौँ, भएन भने फेरि आएर बस्नुपर्छ ।' हेलिकप्टर उडाए । उडेलगत्तै मौसमले साथ दिएन । अगाडि बढ्न सक्ने स्थिति भएन । पाइलट केसीले हेलिकप्टरलाई मन्दिरतिरै फर्काउन खोजेका थिए, तर मन्दिरसम्म पुर्याएर सुरक्षित अवतरण गराउने उनको प्रयास सफल हुन सकेन ।
घटनास्थल पुग्दा हेलिकप्टरको अगाडिको भाग पाथीभरा मन्दिरतर्फ फर्किएर ओडारमा ठोक्किएको स्पष्ट देखिन्छ । पछाडिको भाग भने अर्को ढुंगामा ठोक्किएजस्तो देखिन्छ । अगाडिको भाग ओडारको फेदमै जलेको अवस्थामा छ । सबै शव यही आसपास नै संकलन गरिएका थिए । पछाडिको भाग भने छरपस्टिएको छ । पाइलटले मन्दिरमाथिबाट ल्याएर अवतरण गराएका थिए, जुन फक्तालुङ गाउँपालिकाको तापेथोकतिरबाट आएको थियो । उडाएर पनि त्यतैतिर लगे । खासमा यो साविकको रुट थिएन । अरू हेलिकप्टर मन्दिरको पूर्वपट्ट (फुङलिङ नगरपालिका-११ फावाखोला क्षेत्र) बाट उडान र अवतरण गर्छन् । "पाइलट केसीले किन मन्दिरको माथिबाट हेलिकप्टर उडाए भन्ने हामीलाई लागेको थियो," पाथीभरा मन्दिरका पुजारी डिल्ली आचार्य सम्झिन्छन्, "तर प्राविधिक विषय थाहा नभएकाले थप चासो दिइएन ।"
पाथीभरा मन्दिरका कर्मचारी इन्द्र पौडेलका अनुसार हेलिकप्टर उडेको क्षेत्रमा सबैभन्दा बढी हिमपात हुन्छ । हावाको चाप पनि यो क्षेत्रमा अधिक हुन्छ । हेलिकप्टर ठोक्किएको प्रकृति हेर्दा उड्ने बेला पाइलटले भनेजस्तै आपतकालीन अवतरणका लागि पाथीभरातिरै फर्काउने प्रयास गरेको देखिन्छ । किनकि, उँधो फर्किएको ओडारमा उँभो फर्किएको हेलिकप्टर ठोक्किएको छ । हेलिकप्टरको अघिल्लो सिटमा बसेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र उपसचिव युवराज दाहालको शव पनि यही दिशामा भेटिएको छ । पुजारी डिल्ली आचार्यका अनुसार पाइलट छेउमा उपसचिव दाहाल बसेका थिए । ससुरालीतर्फका नातेदार र पहिल्यैदेखिको चिनजान भएकाले दाहाललाई हेलिकप्टरभित्र पुर्याएर उनी फर्किएका थिए । दाहाल छेउमा मन्त्री अधिकारी बसेका थिए । अरू चार जना दोस्रो लहरको सिटमा थिए ।
हेलिकप्टर दुर्घटना स्थल | तस्बिरहरु : आनन्द गौतम
त्यसो त, मन्दिरतर्फबाट घुमेपछि फेरि सदरमुकाम फुङलिङतिर र्फकंदा पनि हेलिकप्टरको अग्र भाग यही ओडारतिरै पर्छ । तर दुर्घटना हुन बादलका कारणले केही नदेखेको, हावाले बटारेर लगेको या हेलिकप्टरले उचाइ लिन नसकेको हुनुपर्छ । पुग्न समय लाग्ने तर आँखाले नजिकै देखिने काफ्लेपाटीभन्दा केही माथि बस्ने इन्द्रमाया भट्टराईका अनुसार त्यो समयको मौसम यति धेरै बिगि्रएको थियो कि घरबाट बाहिर निस्कने अवस्थासमेत थिएन । स्थानीय स्वास्थ्यकर्मी उमानाथ पौडेलका अनुसार अरू बेलाको तुलनामा हिउँ बाक्लो गरी र ठूल्ठूलो भएर झरेको थियो ।
मन्त्री अधिकारीसहितको टोली मन्दिर पुग्दा पनि हिउँ सामान्य परिरहेको थियो । अलिअलि हावा चलेको भए हिउँ परिरहेका बेला अनुहारमा आउँछ । अनुहारमै हिउँ परिरहेको र बाहिर उभ्याउने अवस्था नभएकाले यो टोलीलाई पाथीभरा मन्दिरका कर्मचारीले हवनमण्डल रहेको भवनभित्र लगेर खादाले स्वागत गरेका थिए । हेलिकप्टरमा मन्त्रीसँगै एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरे थिए ।
हेलिकप्टरमा चढिसकेको यो टोली चाँडै र्फकन मौसम थप प्रतिकूल बनेपछि केही बेर अडिएको थियो । सुरुमै चिया खान प्रस्ताव गरेका मन्दिरका कर्मचारीले हेलिकप्टर अडिने भएपछि फेरि प्रस्ताव गरे । "मन्त्री अधिकारीले चिया खानुपर्ने भन्नुभयो, उपसचिव दाहालले दूध चिया खाने मन गर्नुभयो," आचार्य थप्छन्, "हावा चलिरहेको र अनुहारमा हिउँ पर्ने भएकाले हेलिकप्टरबाट ओर्लिएर भान्साघरसम्म आउनुभएन । कर्मचारीले हेलिकप्टरमै चिया लगेर दिए ।" आखिर पाथीभरा मन्दिरमा बनाइएको यही चिया नै मन्त्री अधिकारीसहितको टोलीको अन्तिम पेय बन्यो ।
हेलिकप्टरको सहायताबाट शव संकलन गर्दै सुरक्षाकर्मी
छैन, मौसम सूचना केन्द्र
विश्वको तेस्रो हिमाल कञ्चनजंघा र प्रसिद्ध धार्मिक थलो पाथीभरा क्षेत्रमा आन्तरिक रूपमा वाषिर्क करिब तीन लाख र बाह्य एक हजार हाराहारी पर्यटक आउने गरेका छन् । कञ्चनजंघाको घुन्सा र पाथीभराको फुरुम्बुमा मौसमकै कारण ठूला दुर्घटना भएका छन् । तर यी दुवै क्षेत्रमा मौसमसम्बन्धी जानकारी दिने आधिकारिक निकाय नै छैन । सदरमुकाम फुङलिङमा रहेको मौसम केन्द्रले जिल्लाको विवरण संकलन गरेर केन्द्रमा पठाउने काम गर्छ । सञ्चार माध्यमले दिने सूचनाका आधारमा मात्रै जानकारी हुने गरेको छ । ताप्लेजुङ मात्रै नभएर पूर्वी नेपालका कुनै पनि जिल्लामा मौसमसम्बन्धी जानकारी दिने सूचना केन्द्र नै छैन ।
३ हजार ७ सय ९४ मिटर उचाइको पाथीभरा क्षेत्रमा मौसम छिनछिनमा बदलिन्छ । मन्दिरमा नियमित बस्ने पुजारी तथा यसको केही तल फेदीमा बसेका स्वास्थ्यकर्मी अनि व्यवसायी यो क्षेत्रमा छिनमै पानी, छिनमै हिउँ, छिनमै हावा चल्ने गरेको बताउँछन् । माघमा कहिल्यै पानी पर्दैन थियो, हिउँ पथ्र्यो । यो वर्ष माघमा एक दिन पानी पर्यो, हिउँ परेन । होटल व्यवसायी संघका अध्यक्ष इन्द्रनारायण भट्टराई भन्छन्, "वैशाख/जेठसम्म नै बेलाबेला हिउँ पर्छ ।"
हेलिकप्टर दुर्घटना भएलगत्तै १५ र १६ फागुनमा उद्धारमा खटिएका प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापा नेतृत्वको प्रहरी टोली पनि मौसम बदलीको मारमा परेको थियो, जसका कारण शव संकलन गर्न हम्मे परेको थियो ।
यी पनि पढ्नुहोस् :
→ पूर्वमा अस्ताएका ती सात
→ [सम्पादकीय] शोकभित्र सन्तप्त सन्देश
→ हेलिकोप्टर दुर्घटनामै बितेका थिए आङछिरिङका भाइ पनि
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...