अदालतमा 'धृतराष्ट्र सिन्ड्रोम’
दुई वर्ष कायममुकायमसहित झन्डै सात वर्ष रजिस्ट्रार बनेका तिमल्सेनाले सातै प्रधानन्यायाधीश ब्यहोरे । ती न्यायमूर्तिका स्वभाव, मनोविज्ञान र क्षमतामाथि प्रकाश पार्दै उनले न्यायालयको चित्र उतार्न खोजेका छन् ।
न्यायालयका भित्री पाटो खुलाइएका किताब निकै कम छन् नेपालमा । ०७५ मा दुई पुस्तक आए, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको न्याय र सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार रामकृष्ण तिमल्सेनाको अदालतभित्र अदालतबाहिर । यी दुवैले न्यायालयलाई केही मद्दत गरेका छन् ।
दुई वर्ष कायममुकायमसहित झन्डै सात वर्ष रजिस्ट्रार बनेका तिमल्सेनाले सातै प्रधानन्यायाधीश ब्यहोरे । ती न्यायमूर्तिका स्वभाव, मनोविज्ञान र क्षमतामाथि प्रकाश पार्दै उनले न्यायालयको चित्र उतार्न खोजेका छन् । अदालतभित्र मौलाएको भ्रष्टाचार, राजनीति र न्यायाधीशका व्यक्तिगत अहंले गिजोलिएको न्याय प्रणालीलाई विश्लेषण गरेका छन् । अदालतभित्र हुने अनियमितताबारे तिमल्सेनाले अझ धेरै खोतल्न सक्थे । भ्रष्टाचारका बहुरुपको चर्चा त गरेका छन्, तर एउटा अनुभवी रजिस्ट्रारका रुपमा खुलेआम प्रस्तुत गर्न हिच्किचाएका छन् ।
अदालतका कर्मचारीले नुन, तेल र तरकारी किन्नु नपर्ने जिल्ला अदालतका स्रेस्तेदारको प्रसंग होस् वा अदालतभित्र मौलाएको 'जज सपिङ' र 'बेन्च सपिङ', तिमल्सेनाले गहकिलो बहस छेड्न सकेका छैनन् । न्यायालयको भ्रष्टाचार सुधार्नै नसक्ने अवस्थामा पुगिसकेको भने उनी ठान्दैनन् । तर न्यायालयको भ्रष्टाचार कम भए पनि त्यसले अरु क्षेत्रमा पार्ने प्रभाव कैयौँ गुणा घातक रहन्छ । न्यायालयमा हुने भ्रष्टाचारको दोषी त्यसको नेतृत्व, न्यायाधीश, कर्मचारी र बार हुन् भन्नेमा उनमा कुनै द्विविधा देखिँदैन ।
अदालतबाहिरबाट भ्रष्टाचारविरुद्धका मुद्दा किनारा लगाएर वाहवाही कमाएका प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठलाई सक्षम मान्न भने उनी हिच्किचाएका छन् । आफ्नो पालामा भ्रष्टाचार नियन्त्रण गरेको प्रधानन्यायाधीशको दाबीलाई समेत बेतुक ठान्छन् । पुस्तकमा अदालतलाई बाहिरबाट भन्दा भित्रैबाट खतरा देखाइएको छ । भाइभतिज, ज्वाइँ, व्यावसायिक साझेदारलाई न्यायाधीश नियुक्ति गर्ने विकृतिलाई 'धृतराष्ट्र सिन्ड्रोम' नाम दिइएको छ । कानुन व्यवसायभित्र बिचौलिया प्रवृत्ति फस्टाएको र त्यसले मुद्दामा न्यायाधीश रोज्ने अर्थात् 'जज सपिङ' र 'बेन्च सपिङ' मौलाएको छ । बार र न्यायालयमा प्रभावित पार्न सक्ने थुप्रै नाम चलेका वकिलले बिचौलिया धन्धा गरिरहेको दाबी पुस्तकमा छ ।
न्याय सम्पादनमा प्रधानन्यायाधीशको भूमिका अरु न्यायाधीशभन्दा बढी हुँदैन । संयुक्त इजलासमा प्रधानन्यायाधीशको भार अर्को न्यायाधीशजत्तिकै रहन्छ । तर पेसी तोक्ने र कुन मुद्दा कसको जिम्मा लगाउने भन्ने अधिकारले प्रधानन्यायाधीश धेरै कुरामा हाबी हुँदा अरु न्यायाधीश छायामा पर्ने अवस्थालाई पनि तिमल्सेनाले खुलाएका छन् । सर्वोच्चभित्र प्रधानन्यायाधीश र वरिष्ठ न्यायाधीशको अहं र शक्ति-मनोविज्ञानले रजिस्ट्रार 'स्यान्डविच' हुनुपर्ने अनुभव तिमल्सेनाले लेखेका छन् ।
जिम्मेवारीको हिसाबले रजिस्ट्रार प्रधानन्यायाधीशको नजिक हुनुपर्छ । न्यायालयभित्रका सूचना गोप्य राख्नुपर्छ । आफूलाई भावी प्रधानन्यायाधीशका रुपमा हेरेका वरिष्ठले ती सूचना चुहाओस् भन्ने चाहन्छन् । प्रधानन्यायाधीश केदारप्रसाद गिरी र मीनबहादुर रायमाझीको चिसो सम्बन्धबीच आफू 'स्यान्डविच' हुनुपरेको प्रसंग उनले उल्लेख गरेका छन् ।
सर्वोच्चमा रजिस्ट्रारका रुपमा तिमल्सेना सफल मानिन्छन् । लम्बेतान, गुजुल्टिएको, धेरै अर्थ र व्याख्या गर्न सकिने भाषालाई कानुनी भाषा भनिँदै आएको छ । उनकै पालामा कार्यविवरण निर्देशिकामै फैसलालाई प्रस्ट लेख्नुपर्ने उल्लेख गरियो । १७ शब्दभन्दा बढीको वाक्य लेख्न नहुने र फैसला कतृवाच्यमा लेख्नुपर्ने निर्देशिका जारी गरियो । त्यसले अदालतको काइते भाषा सुधारमा मद्दत पुग्यो ।
२७ वर्षे कान्छो न्यायाधीशका रुपमा जिल्ला अदालत पाल्पाबाट करिअर सुरु गरेका तिमल्सेनामा प्रधानन्यायाधीशसम्म पुग्ने ठूलो सपना थियो । उच्च अदालतको मुख्य न्यायाधीशको नियुक्ति पर्खिंदै उनले सर्वोच्चमा सात वर्ष गुजारे । बाटो खोलिदिने कोही प्रधानन्यायाधीश भएन । विशिष्ट श्रेणीमा पाँच वर्षभन्दा धेरै रहन नपाउने व्यवस्थाले अन्ततः राजीनामा गर्न बाध्य भए ।
मुख्य न्यायाधीश नियुक्त भएका भए स्वाभाविक रुपमा तिमल्सेना प्रधानन्यायाधीशको रोलक्रममा पर्थे । ६ वर्ष प्रधानन्यायाधीश हुने सम्भावनाको सधैँ चर्चा भइरह्यो । तर उनी रजिस्ट्रारबाटै घर फर्किनुपर्यो । अवकाशपछि पनि सर्वोच्चको न्यायाधीश हुने आकांक्षा उनमा देखिन्छ । त्यसैले न्यायाधीश हुन नपाउँदाको कुन्ठा पनि पुस्तकमा प्रशस्तै मिसिएको छ ।
पुस्तकमा तिमल्सेना आफ्नो जीवनकथा, न्यायालयभित्रका तीतामीठा, न्यायिक अनुभवसँगै अवकाशपछि थालेको कलेज व्यवसायबारे चर्चा गर्छन् । झट्ट हेर्दा यो पुस्तक अवकाशपछि आत्मकथा वा संस्मरणका नाममा आफ्नो कुन्ठा पोख्ने पूर्वअधिकारीहरुको शृंखलामा थपिएको देखिन्छ । तर अदालतभित्रका थुप्रै प्रवृत्ति चिरफार गर्ने कोसिस गरिएकाले न्याय क्षेत्रमा रुचि राख्नेका लागि पठनीय छ ।
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...