पूर्वराजाको होटल प्रमको रिबन कटाइ
होटल सोल्टीको वेस्टेन्ड प्रिमियर सञ्चालनमा आएसँगै नेपालगन्जमा पूर्वराजा ज्ञानेन्द्र शाहको परिचय फेरिएछ ।
होटल सोल्टीको वेस्टेन्ड प्रिमियर सञ्चालनमा आएसँगै नेपालगन्जमा पूर्वराजा ज्ञानेन्द्र शाहको परिचय फेरिएछ । बितेको डेढ वर्षमा उनी पूर्वराष्ट्राध्यक्षभन्दा धेरै होटल व्यवसायीका रुपमा नेपालगन्ज ओहोरदोहोर गरेछन् । आफ्नो होटलको प्रमोसनमा हप्तौँ बिताएछन् ।
सन् २०१८ को नयाँ वर्ष मनाउन नेपालगन्ज पुगेका शाहले त्यतिबेलै होटलको सफ्ट ओपनिङसमेत गरे । स्थानीय होटल व्यवसायीसँग दिवाभोज तथा अन्तर्क्रिया गरे । उनको बसाइ सीमावारि मात्र होइन, पारिसम्मै चर्चित रह्यो । भारतीय मिडियाले समेत लेखे, ‘नेपाल पूर्वनरेशका होटल ।’
पूर्वराजा शाहको नेपालगन्ज बसाइ त्यत्तिमै सीमित रहेन । बर्थ डे मनाउनकै लागि सपरिवार नेपालगन्ज पुगे र समर्थक/शुभचिन्तकको शुभकामना लिए । हिन्दु राज्य तथा राजासहितको प्रजातन्त्रको माग गरिरहेको राप्रपा अध्यक्ष कमल थापा र स्थानीय नेता/कार्यकर्ता भेट्नेबाहेक पूर्वराजा शाहको मुख्य ध्यान राजनीतिमा कम, होटलमा ज्यादा देखिन्थ्यो । त्यतिबेला उनले नेपालगन्जलाई केन्द्र बनाएर कैलाश मानसरोवरमा भारतीय पर्यटक भित्र्याउने योजना सुनाएका थिए । व्यवसाय प्रवर्द्धनकै लागि उनी लखनउसम्म पुगेर उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथलाई समेत भेटे ।
लोकतन्त्रको सुन्दरता भने पनि हुन्छ, पूर्वराजा शाहको लगानी रहेको सोही होटल उद्घाटन गर्न ३ वैशाखमा पुगे, प्रधानमन्त्री केपी ओली । एक वर्षअघि नै सफ्ट ओपनिङ भइसकेको होटलको ओलीसँगै ऊर्जामन्त्री वर्षमान पुन, प्रदेश ५ प्रमुख उमाकान्त झा र मुख्यमन्त्री शंकर पोखरेलले रिबन काटेर औपचारिक उद्घाटन गरे ।
नेपालगन्जको बार्गेनिङ
संघीयतामा नेपालगन्जले आफू किनारामा परेको महसुस गरेको पाइयो । त्यसैको प्रतिक्रियास्वरुप नेपालगन्ज उपमहानगरपालिका मेयर धबलशमशेर राणाले कर्णाली प्रदेशमा गाभिने अभियानै सुरु गरे । प्रदेश सांसद आईपी खरेलले संसद्मै पायक पर्ने ठाउँमा राजधानी नसारिए हाँसीहाँसी कर्णालीमा जाने चेतावनी दिइसकेका छन् । अर्कै कार्यक्रममा नेपालगन्ज आउँदा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राणासँग हात मिलाउँदै भनिदिए, “बाँके–बर्दियालाई कर्णाली प्रदेशमा स्वागत छ ।”
संघीयताअघिका केही दशक नेपालगन्जले क्षेत्रीय सदरमुकामका लागि सुर्खेतसँग प्रतिस्पर्धा गरेरै बितायो । नेता र प्रशासकले सुगमता खोज्दै अधिकांश क्षेत्रीय कार्यालय नेपालगन्जमै राखे । तर नेपालगन्जलाई सदरमुकाम बनाएनन् । राजा ज्ञानेन्द्रको शाही शासनमा सदरमुकाम पूरै सुर्खेत सर्यो ।
नयाँ संविधान जारी हुँदा नेपालगन्जकै सुशील कोइराला प्रधानमन्त्री थिए । राज्य पुनर्संरचनाको रस्साकस्सीमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भनेझैँ सुदूरपश्चिम अखण्डै रह्यो । पूर्वमा केपी ओलीको चाहनाअनुसार प्रदेश बन्यो । अर्का पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनलाई प्रदेश ३ मै राखे । तर कोइरालाले नेपालगन्जलाई केन्द्रमा पार्ने गरी कुनै काम गर्न सकेनन् । फलतः नेपालगन्ज किनारामै पर्यो ।
यस्तोमा नेपालगन्जमा उठेको प्रदेश हेरफेरको आवाजले नयाँ बहस छेडेको छ । प्रदेश ५ को किनारामै चित्त बुझाउने कि सबैभन्दा लामो कर्णाली नदीको शिरदेखि तीरसम्म एउटै प्रदेशमा बनाउने, नेपालगन्जले निर्णय गर्नै बाँकी छ । अहिलेको असन्तुष्टि तत्कालीन बार्गेनिङ मात्र हो वा मेयर राणा, सांसद खरेल र कर्णालीका मुख्यमन्त्री शाहीले भनेझैँ भविष्यप्रतिको चिन्ता हो ? नेताका बोलीको लोली बुझ्न कठिन छ ।
मुबारकको बिरयानी
अमेरिकी दूतावासले चैत दोस्रो साता एउटा भिडियो सार्वजनिक गर्यो । झन्डै सवा लाख दर्शकले हेरेको उक्त भिडियोमा राजदूत र्यान्डी बेरी नेपालगन्जको लोकप्रिय परिकार बिरयानीको स्वाद लिइरहेका देखिन्छन् । मुबारकको बिरयानीको दृश्यले धेरै पारखीको मुखै रसाउँछ ।
उनै मुबारकलाई वैशाखका दुई साता भ्याई–नभ्याई थियो । आठौँ राष्ट्रिय खेलकुदका क्रममा नेपालगन्ज पुग्ने पाहुनाले त्यही रैथाने स्वादको खोजी गरे । नियमितभन्दा दोब्बर–तेब्बर बिरयानी बनाउँदासमेत मध्याह्न नछिप्पिँदै सकिने गरेको उनी भन्दै थिए । २ नबज्दै उनी ढोका लगाउँथे र बाहिर सूचना टाँस्थे, ‘क्लोज्ड’ ।
रैथाने स्वाद पनि राम्ररी ब्रान्डिङ भए अथाह व्यापार हुन सक्छ भन्ने यो राम्रो उदाहरण बनेको छ । नेपालगन्ज त्यसै पनि सडक परिकारका लागि प्रख्यात छ । चारै प्रहरमा भिन्न परिकार पाइन्छन् । चनाकचौडी र पुरीपकैडादेखि सेकुवा, बिरयानी, कबाब, लस्सी, चाट, पानीपुरी, राबडी र पानले पाहुनाको स्वाद फेरिरहन्छ । नेपालगन्जको गर्मीमा रात्रिकालीन जीवनशैलीले खेलाडी, प्रशिक्षक, व्यवस्थापक र पाहुना त्यसैमा रमाइरहेका थिए ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...