रोक्नुस्–रोक्नुस्
सार्वजनिक यातायात चढ्नुस्, सहचालक भन्छन्– पछाडिपछाडि ।
सार्वजनिक यातायात चढ्नुस्, सहचालक भन्छन्– पछाडिपछाडि । पछाडि मात्र कहाँ हो र दायाँ फर्केर उभिनु, बायाँ फर्कनु न त्यहाँ त्यत्रो ठाउँ छ । सिटको के कुरा गर्नु । खुट्टा राख्नेसम्म ठाउँ हुँदैन, यात्रु कोच्न छाड्दैनन् । मानौँ, यात्रु राँगाभैँसी हुन्, मःमका लागि ढुवानी हुँदै छ ।
जसोतसो सिट पाइहाले काइदै भयो । तर बीचमा हुनुहुन्छ भने कतै अडेस लगाउनुपर्दैन, उभिए पुग्छ । आखिर चारैतिरबाट खाँदिहाल्छन् । सिटमा बस्ने पनि कहाँ आनन्दित हुन्छन् र ! झर्ने बेला उस्तै सास्ती ।
पछाडिको सिटमा बसेर एकान्तकुनादेखि थापाथली आउँदै थिएँ, बसमा । कुपन्डोलदेखि नै उत्रिने सुरसार कसेँ । उभिएर यात्रा गरिरहेकालाई ठेल्दै अगाडि बढिरहेको थिएँ । मेरो गन्तव्य थापाथली इन्जिनियरिङ कलेज अगाडिको बसबिसौनी थियो । बस रोक्न भनेँ, तर रोकिएन । कारणचाहिँ ओर्लिने थुप्रै थिए तर चढ्ने थिएनन् ।
गाडी रोक्न कराउँदै थियौँ, चालकले माइतीघर पुर्याए । ट्राफिक प्रहरीले बसबिसौनीमा मात्र गाडी रोक्नू भन्छ । नियम पनि त्यही हो । तर हुन्छ ठीक उल्टो । तपाईं गाडी चढ्दै हुनुहुन्छ भने बसबिसौनी चाहिँदैन तर झर्ने बेला थप अगाडिको बसबिसौनी होइन, अझ अगाडि पुर्याइन्छ ।
पैदलेका पीडा
पैदल र साइकल यात्रीका लागि हुँदै होइन, सहरी सडक । यो त गाडीका लागि हो, सार्वजनिकभन्दा निजी । नत्र भएभरका फुटपाथ मासेर किन गाडी गुडाइन्थे ?
उपत्यकामा सहरी सडकको मापदण्ड बल्ल बनाइँदै छ । अन्तर्राष्ट्रिय प्रचलन हेर्ने हो भने फुटपाथ कम्तीमा पनि १.५ मिटर चौडा हुनैपर्छ । काठमाडौँमा चौडा, फराकिलो फुटपाथ त परै जाओस्, कतिपय ठाउँमा सडकबाटै हिँड्नुपर्छ ।
अनामनगर–बानेश्वर सडक हिँड्नुभयो भने केही ठाउँमा मात्र फुटपाथ भेटिन्छ, नत्र सडकै प्रयोग गर्नुको विकल्प छैन । बानेश्वरको फुटपाथ जहिल्यै कब्जामा हुन्छ, फुटपाथ व्यापारीको । व्यापारीको कब्जामा के भन्नु ? काठमाडौँ महानगरकै भने हुन्छ । नत्र हिँड्नसम्म नमिल्ने गरी बानेश्वर, रत्नपार्क, पुरानो बसपार्क क्षेत्रमा सडकमै पसल थाप्न किन दिइन्थ्यो ? महानगरले पटके कर त उठाएकै हुन्छ ।
हिँड्न खोजे फुटपाथै भेटिँदैन, भएको पनि कब्जामा हुन्छ । पैदल यात्रुलाई सडकबाटै हिँडे दुर्घटनाको सिकार भइएला भन्ने त्रास । अझ सडक पार गर्न उस्तै सास्ती । ट्राफिक प्रहरी भन्छ, जेब्रा क्रसिङबाट मात्र बाटो काट्नू । जेब्रा खोज्यो भेटिँदैन, भेटिए पनि बाटो काट्दा गाडीले ठक्कर देला भन्ने पीर ।
२० वैशाखमा बानेश्वर–गौशाला सडकको बानेश्वर चोकमा त्यस्तै भयो । बानेश्वरबाट शान्तिनगर जाँदै थिएँ, जेब्राक्रसबाट बाटो काट्ने म एक्लै थिइनँ । बाटो काटिरहेका बेला गाडी पनि रोकिएका थिए । एउटा मोटरसाइकल तीव्र गतिमा आयो, झन्डै सँगै हुत्याएन । पछाडि नहटेको भए ठक्कर खाइन्थ्यो । तर मोटरसाइकल कता हुइँकियो, थाहै पाइनँ ।
माइतीघर–बानेश्वर–कोटेश्वर सडक फराकिलो छ । फुटपाथ पनि छ । बबरमहलस्थित जिल्ला अदालत र नागरिक उड्डयन प्राधिकरण भवन अगाडिको फुटपाथ पार्किङ स्थल बनेको छ । केबुल, इन्टरनेटका तार लत्रिएकै छन् । कुपन्डोलमा त पसलका सामान फुटपाथमै राखिन्छन् ।
१ भदौदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता, ०७४ मा जथाभावी सडकमा निर्माण सामग्री राख्नेलाई २५ हजारसम्म जरिवाना व्यवस्था छ । तर कार्यान्वयनको जिम्मेवारी पाएका निकायले केही कदम चालेको देखिँदैन ।
आसन ग्रहण नगराउँदा
नेपाली राजनीति आसन र भाषणकै परिधिमा घुमिरहेका बेला कर्मचारीतन्त्र पनि अछूतो हुने कुरै भएन । त्यसमा पनि विशिष्ट श्रेणी । २९ वैशाख नयाँ बानेश्वरस्थित अल्फाबिटामा काठमाडौँ महानगरपालिका, सहरी योजना आयोगले ‘सहरी सुरक्षा तथा वातावरणीय सुधार’ कार्यक्रम गर्यो ।
काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यलाई सभापतिको आसन ग्रहण गराएसँगै उपत्यकाका विभिन्न नगरका मेयरलाई मञ्चमै राखियो । तर उपमेयरलाई एकमुष्ट यथास्थानमै आसन ग्रहण गराइयो । महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेलाई अतिथिका रुपमा आसन ग्रहण नगराउँदा उनी त्यहाँबाट हिँडे ।
दोस्रो चरणको कार्यक्रमका लागि मेयरसँगै पुगेका न्यौपाने राष्ट्रिय गान नबज्दै त्यहाँबाट हिँड्दा मञ्चमा बसेका मेयर शाक्य टुलुटुलु हेरिरहेका थिए । यसलाई न्यौपाने हिँडेपछि आयोजकले पनि महसुस गरेको हुनुपर्छ सायद । त्यसअघि उपमेयरलाई एकमुष्ट आसन ग्रहण गराइएकामा फेरि एक–एक गरी दोहोर्याइयो ।
मेयर शाक्यले भाषण ठोकिहाले, “नेपाल सरकारको तर्फबाट कार्यरत प्रमुख प्रशासकीय अधिकृतज्यूहरु ।” स्थानीय तह मातहत रहने गरी संघ सरकारबाट खटिने प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिबीचको ठाकठुक के नौलो भयो र ?
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...