दैलामा सिंहदरबार आएर के भो !
पश्चिम सुर्खेतका पञ्चपुरी, चौकुने र बराहतालका बढीजसो युवा कामको खोजीमा भारत जान्छन् । यहाँका अधिकांश युवाको पढ्ने र रोजगारी गर्ने उमेर भारतमा कुल्ली काम गरेरै बित्छ ।
पञ्चपुरी नगरपालिका–१०, तातापानीका नवराज ढकाल, २२, को अधिकांश समय भारतमा बित्छ । उनलाई घर नजिकैको क्याम्पसमा बीबीएस पढ्दै काम गर्ने रहर नभएको होइन । “वातावरण मिलाइदिने कसले ?” भन्छन्, “नीति बनाउने नेताहरू नै उतै जाऊन् भन्ने चाहन्छन् ।”
संघीय सरकार त टाढा भइहाल्यो, नजिकको स्थानीय र प्रदेश सरकारले चाहे थुप्रै युवाको कालापहाड यात्रा रोक्न सकिन्छ । त्यही मेसो नमिलाउँदा पढाइ छाडी कामको खोजीमा भारत जानुपर्ने बाध्यता छ । “हामी गाउँमै बसेर पढ्दै काम गर्न थाल्यौँ भने उनीहरूको राजनीति धरापमा पर्ला । भरसक उतै बसून्, चुनावमा अघिपछि लाग्ने गरेर आऊन् भन्ने सोचाइ देखिन्छ,” नवराज औडाहा पोख्छन् ।
पश्चिम सुर्खेतका पञ्चपुरी, चौकुने र बराहतालका बढीजसो युवा कामको खोजीमा भारत जान्छन् । यहाँका अधिकांश युवाको पढ्ने र रोजगारी गर्ने उमेर भारतमा कुल्ली काम गरेरै बित्छ । नेताहरू भने गाउँमै स्वरोजगारका अवसर सिर्जना गर्न उदासिन देखिन्छन् ।
लामो समय भारतमै काम गरेकाहरू अहिले स्थानीय तहमा जनप्रतिनिधि छन् । तीमध्येका एक हुन्, पञ्चपुरी–११ का वडा सदस्य वीरबले कामी । अर्काको देशमा गुलामी हुनुपर्दाको पीडा थाहा भए पनि नेतृत्वमा पुगेपछि काम गर्न गाह्रो हुने उनको अनुभव छ । भन्छन्, “हिजो नेताहरूले केही पनि गरेनन् भनेर धारे हात लगाएर गाली गरिन्थ्यो । युवालाई गाउँमै आयआर्जनका योजना ल्याऊँ भन्दा माथिकाले सुन्दैनन् ।”
लामै समय भारतमा मजदुरी गरेर बिताएका पञ्चपुरी–१० का वडा सदस्य नैनसिंह विकले जनप्रतिनिधि चुनिएपछि स्थानीयको आयआर्जन बढाउन तातापानी गाउँमा बदाम खेती थालेका छन् । “गाउँघरमै आयआर्जनका कार्यक्रम ल्याउन सके कोही पनि मुग्लान पस्नुपर्दैन । यसका लागि जनप्रतिनिधिले नै सोच्नुपर्यो ।”
नगरपालिकाले हालै ल्याएको नीति तथा कार्यक्रममा चुनौतीका १९ बुँदा समेटिए । तर त्यसमा दुई छाक जुटाउन भारत जानुपर्ने जनताको बाध्यता कतै उल्लेख छैन । स्वरोजगारका कुनै ठोस योजना छैनन् । “श्रमशक्ति भारततिर जानुपर्ने बाध्यताबारे थाहा छ,” उपमेयर मुक्तिदेवी रेग्मी भन्छिन्, “तर बजेट अभावलगायत कारण उनीहरूलाई गाउँमै रोक्ने योजना ल्याउन सकेका छैनौँ ।”
‘गाउँ–गाउँमा सिंहदरबार’ नारालाई संघीयताले उप्काइदिएको हो । चौकुने गाउँपालिका–७, जुम्ल्यामूलकी मीना विक, २४, लाई यो नारा सुन्दैमा उदेक लाग्छ । दुई महिनाअघि भारत गएका पति अर्जुन रोगले थला परेका छन् । यता बारीको अनाजले एक महिना पुग्न मुस्किल छ । वेदना पोख्छिन्, “दैलोमा सिंहदरबार आयो भनेर के गर्नु ? दुःखले कहिल्यै छाड्ने होइन ।”लामो समय भारतमा मजदुरी गरेपछि अटो व्यवसायमार्फत स्वरोजगार हुने प्रयास गर्दै पञ्चपुरी नगरपालिकाका हेमराज देवकोटा
चौकुनेका ४ हजार ९ सय ७६ घरधुरीमध्ये २३ दशमलव ३५ प्रतिशत परिवार मात्र खाद्यान्नमा आत्मनिर्भर छन् । अन्य परिवारलाई रोजीरोटी जुटाउनैका लागि भारत जानैपर्ने बाध्यता छ । स्थानीय निकायले पहल गरे उनीहरूलाई गाउँमै रोजगारी दिन सकिन्छ । चालू आर्थिक वर्षमा गाउँपालिकाले ५ करोड लागत बराबरको सडक निर्माण गरे पनि स्थानीय श्रमशक्तिलाई परिचालन गरेन । डोजर–स्काभेटर लगाएर सडक खन्यो । “यो काममा हाम्रा छोराबुहारीलाई लगाएको भए अर्काको देशमा गुलामी गर्न किन जानुपर्थ्यो ?” मीनाकी सासू हिउँकला भन्छिन्, “हाम्रा लागि त सरकार छैन भन्दा पनि हुन्छ, दुःख नदेख्नेलाई केको सरकार भन्नू ?”पति भारत गएपछि एक्लै खेतमा काम गर्दै पञ्चपुरी नगरपालिका–१०, तातापानीकी पवित्रा पोख्रेल ।
चुनावमा प्रलोभनका पोका बाँड्ने अनि जितेपछि वास्तै नगर्ने प्रवृत्तिले जनतामा जनप्रतिनिधिप्रति निराशा जागेको छ । पञ्चपुरी–१०, नार्सीकी पवित्रा पोख्रेलको ५ जनालाई वर्षभरि खान पुग्ने जग्गा भए पनि सिँचाइ अभावले उत्पादन न्यून हुन्छ । अगाडिबाट भेरी बगिरहेको छ, खेत भने बाँझै । पति कामको खोजीमा बर्सेनि भारत जान्छन् । “चुनावमा गरेको वाचाअनुसार सिँचाइ र खानेपानी पुर्याइदिएको भए पतिलाई भारत पठाउनुपर्ने थिएन,” भन्छिन्,“यहीँ बाह्रैमास तरकारी फल्थ्यो, अन्न उब्जिन्थ्यो, बारीमै सुन फलेपछि किन जानु कालापहाड ?”
भोट माग्न भारतमै
चुनाव आयो कि त नेताहरू भोट माग्न भारतै पुग्छन् । मतदानका लागि घर फर्किन आग्रह गर्छन् । नेपाली मजदुरको बाक्लो बसोबास रहेका मुम्बई, नैनीताल, कुल्लु मनाली, सिमला, रुद्रप्रयागलगायत स्थानमा राजनीतिक दलका आप्रवासी संगठन नै खोलिएका छन् । “भारतबाट भोट हाल्न घर फर्किन्छौँ, चुनाव सकिएपछि फेरि उही ताल,” नवराज भन्छन्, “हामीलाई सधैँ भारततिर भास्ने भनेकै यहाँको राजनीतिले हो ।”
०४६ को परिवर्तनपछि पश्चिम सुर्खेतबाट शिवराज जोशी, तप्तबहादुर विष्ट, नरबहादुर विष्ट र नवराज रावत प्रतिनिधिसभामा चुनिएर काठमाडौँ गए । सोही क्षेत्रका यज्ञबहादुर बिसी, बिन्दमान विष्ट र पुष्पा घर्ती कर्णाली प्रदेशसभामा छन् । यी नेताले बेरोजगारी समस्या समाधानमा सिन्कोसम्म नभाँचेको स्थानीयको गुनासो छ ।
उक्त क्षेत्रका प्रदेशसभा सदस्य बिन्दमान विष्ट सिँचाइ, वनमा आधारित उद्योग र पशुपालनलाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने बताउँछन् । हाल चर्चामा रहेको चौकुने सिमेन्ट उद्योग र बेतान कर्णाली जलविद्युत आयोजना सञ्चालन भए त्यसबाट स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना हुने उनको भनाइ छ । “पश्चिमका खेतीयोग्य जमिनमा सिँचाइ मात्र गर्न सकियो भने वर्षैभरि खान पुग्ने अनाज र मनग्य तरकारी फलाउन सकिन्छ”, उनी भन्छन्, “प्रदेश र संघीय सरकारले वनमा आधारित उद्योग स्थापना र पशुपालन क्षेक्रमा कार्यत्रम सञ्चालन गर्न सके भारत जानुपर्ने अहिलेको बाध्यता रोकिनेछ ।”
बाआमा भारत जाँदा बालबालिकासमेत पढाइ छाडेर त्यतै लाग्छन् । १२ असारमा चौकुनेको जुम्ल्यामूलस्थित आधारभूत विद्यालयमा पुग्दा तीन विद्यार्थी सोही दिन अभिभावकसँगै भारत गए । शिक्षक हिरासिंह दर्लामी भन्छन्, “यहाँ यस्तै हो, घरमा ताला लगाएर बाआमा हिँडेपछि बालबच्चा पनि सँगसँगै जान्छन्, पढाइ दोस्रो प्राथमिकतामा पर्छ ।”
पञ्चपुरी मासीका विनोद विक, १५, बम विक, १५, डम्बर पोख्रेल, ११, र शिवराज पोख्रेल, १३, चारै जनाले काम गर्न बाआमासँगै भारत जाने गरेको बताए । “हाम्रो स्कुलका थुप्रै साथीहरू अहिले पनि काम गर्न भारतमा छन्,” विनोद भन्छन्, “हामी पनि स्कुल बिदा हुनेबित्तिकै गइहाल्छौँ ।”
बाआमाले भारतमा मजदुरी गर्दा पञ्चपुरीका हेमराज देवकोटा, ३२, उतै जन्मिए । लामो समय भारतमै काम गरे पनि अहिले स्वदेशमै स्वरोजगार भएका छन् उनी । ऋण काढेर ७ लाख ५५ हजारमा अटोरिक्सा किनेका छन् । “जिन्दगीभर कति भारत जानु भनेर यो व्यवसाय रोजेको हुँ,” देवकोटा खुसी साट्छन्, “मिहिनेत गर्दा यहाँ पनि राम्रै आम्दानी हुने रहेछ । पराया देशमा गुलामी गर्नुभन्दा त नेपालमै केही गर्नु राम्रो ।”
हेमराजजस्तै बराहताल गाउँपालिका–७, साँखका रोहित गरन्जाले पनि तरकारी खेतीबाट मासिक ४० हजार रुपैयाँ कमाउँछन् । काम खोज्दै भारतदेखि कतारसम्म पुगेका उनले ०७० बाट आफ्नै २ रोपनी खेतबारीमा तरकारी लगाएका छन् । भन्छन्, “मिहिनेत गर्यो भने यहीँ पनि राम्रो आम्दानी हुँदो रहेछ । बेकार अर्काको देशमा पसिना बगाएर समय खेर फालियो ।” पञ्चपुरी–१० का वडासदस्य विकको विचारमा पुल, सडकजस्ता विकासे आयोजना निर्माणले मात्र हुँदैन । भन्छन्, “श्रमशक्ति स्वदेशमा टिकाउन आयआर्जनका अवसर सिर्जना गरिनुपर्छ । नत्र जतिसुकै विकास भए पनि हाम्रा युवाको भारत–यात्रा रोकिँदैन । यसमा तीनै तहका सरकारले गच्छेअनुसार काम गर्नुपर्छ ।”
यो पनि पढ्नुहोस : [आवरण] घरमा ताल्चा ठोकेर भारतमा चौकीदारी
सम्बन्धित
अब नेपाललाई एउटा ठूलो मुलुकका रूपमा परिकल्पना गर्नुपर्छ। हामीले आफूलाई पनि सानो ठान्नु हुँ...
परिवर्तित सोच नै परिवर्तनको जग #Podcast
विमल निभाको २०७६ सालमा प्रकाशित कविता संग्रह 'जोकरको बन्दुक' बाट तीन कविता सुन्नुस् बसन्त ...
'छुत ब्राह्मण' सहित विमल निभाका तीन कविता #Podcast
साताका ७ तस्बिरमा धोवीखोला किनारमा ढकमक्क फुलेका फूलदेखि आगामी आर्थिक वर्षका लागि सरकारको ...
साताका ७ तस्बिर
कार्ल मार्क्सले चिताएको क्रान्ति भइहाल्यो भने कमरेडहरू कृष्णबहादुरको पक्षमा लड्लान् कि पैस...
समृद्धिको भर्याङमा तलै छाडिएका कृष्णबहादुरहरू #Podcast
खानेकुराको अभावमा सडकपेटीमा भौतारिएका चौपायाको तस्बिर कथा ...
भोक–प्यास यहाँ पनि छ #Photo
समयको प्रवाहमा श्रमिक दिवसको सान्दर्भिकता, प्रेस स्वतन्त्रता दिवसको अवसरमा स्वतन्त्र अभिव्...