[विशेष] बच्चालाई समय खोइ ?

- गोकर्ण गौतम

‘कक्षा १ मा पढ्ने एउटा बच्चा असाध्यै चकचके भयो । सम्झाइदिनुपर्‍यो ।’

स्कुले विद्यार्थीलाई मनोपरामर्श दिँदै आएकी गृष्मा पनेरुलाई राजधानीकै एउटा निजी स्कुलबाट फोन आयो । उनले बच्चालाई भेटिन् । उनी हरेक दिन किताबकपी च्यात्दा रहेछन् । साथीहरूसँग झगडा गर्ने, जोसँग पनि रिसाउने । जबकि उनलाई नपुग्दो केही थिएन । आमाबुबा दुवै कमाउने तर बेहोराचाहिँ रुखो । कारण के रहेछ त ? पनेरु भन्छिन्, “दुई वर्ष नपुग्दै बाबुआमाले प्रि–स्कुलमा राखिदिएछन् । घरमा पनि समय नदिने, एक्लै हुनुपर्ने । यसले उनलाई एटेन्सन सिकर बनाउँदै लग्यो ।”

यो समस्याले बच्चामा जसरी हुन्छ, अरूको ध्यान तान्ने प्रवृत्तिको विकास हुन्छ । पनेरुको बुझाइमा सहरका अधिकांश बालबालिकाको साझा समस्या हो, यो । यसको जड आमाबाबुको साथ नपाउनु नै हो ।

पहिले संयुक्त परिवार हुन्थ्यो, एकै परिवारमा तीन–चार पुस्ता बस्थे । तर तीव्र सहरीकरण र आधुनिकीकरणले संयुक्त परिवार करिब लोप भयो । एकल परिवार नियति र बाध्यता बनेको छ । एक वा दुई सन्तान र पतिपत्नीबाहेक अरू हुँदैनन् । त्यसको प्रत्यक्ष प्रभाव देखिन थालेको छ, सन्तान हुर्काइ पद्धतिमा । त्यसमाथि अहिलेको महँगीमा बाबुआमामध्ये एकले कमाएर मात्र टिक्न सकिन्न । दुवै कामकाजी हुनुपर्छ । फेरि पनि बच्चा एक्लै । त्यसैले त लोरी सुनेर सुत्नुपर्ने उमेरका कलिला बच्चालाई मनोपरामर्शको खाँचो हुन थालेको छ ।

यो विडम्बनाको सिकार सुविधासम्पन्न स्कुल पढ्ने बच्चा मात्र भएका छैनन्, फुर्सदिला बाबुआमा सन्तान हुर्काउन चुकिरहेका छन् । “जागिर नखाने अभिभावकले समय भए पनि हेरविचार गर्न जान्दैनन् । महँगो स्कुलमा पढ्ने बच्चाका बाबुआमा व्यस्त हुन्छन्, चाहेरै पनि समय दिन पाउँदैनन्,” पनेरु भन्छिन्, “परिणामस्वरूप बच्चामा भावना साटासाट हुन पाउँदैन । अनि अरूलाई पिट्ने, हल्ला गर्ने, सामान फाल्ने, रिस पोख्ने गर्छन् ।” यसलाई मनोवैज्ञानिक भाषामा ‘कन्डक्ट डिसअर्डर’ भनिन्छ ।

गर्भमा आएदेखि आठ वर्षसम्मलाई पूर्वबाल्यावस्था मानिन्छ । यो अवधि जीवनको जग हो । सिक्ने उर्बर समय हो । अभिभावकको उचित हेरचाह र ध्यान नपुग्दा यही जग निर्बल हुँदैछ । रिस र आवेगको स्रोत बन्दैछ । यसको क्षणिकभन्दा दीर्घकालीन असर भयावह हुने विज्ञहरूको दाबी छ । “बच्चाका लागि गाँस, बास र कपास मात्र होइन, अभिभावकको माया–ममता, न्यानोपन र सकारात्मक वातावरण पनि आधारभूत आवश्यकता हो,” पूर्वबाल्यावस्थाको विकास सम्बन्धमा दिल्ली विश्वविद्यालयबाट विद्यावारिधि प्राध्यापक निर्मला उप्रेती भन्छिन्, “तर पढेलेखेकै बाबुआमालाई यसको ज्ञान छैन । उनीहरूलाई सन्तानभन्दा करिअर र कमाइको चिन्ता छ ।” उनका अनुसार ३ वर्षसम्म बच्चामा ८०–९० प्रतिशत मस्तिष्कको विकास भइसकेको हुन्छ । यही उमेरमा अभिभावकको प्रत्यक्ष साथ नपाउँदा बाल विकासमा अवरोध उत्पन्न हुन्छ ।

सहरिया र शिक्षित भनिएका अधिकांश आमाबाबुले महँगो स्कुलमा पढाउनु, महँगा खेलौना र कपडा किनिदिनु नै बच्चाप्रतिको जिम्मेवारी पूरा गरेको ठान्छन् । उनीहरूको मुखमै झुन्डिएको हुन्छ, ‘यो दुःख बच्चाकै लागि त गरेको हो ।’ तर बच्चालाई बाहिरी सुखभन्दा आत्मीय साथको अर्थ हुन्छ । आत्मबल पनि आफ्नै स्नेहबाट विकास हुन्छ । अरूप्रतिको मायामोह र विश्वासको स्रोत पनि आफैँ हो भन्ने ख्यालै गर्दैनन् । पढाउने बहानामा बच्चालाई आफूभन्दा टाढा राख्छन् । त्यसले मानसिक रूपमा बच्चा विक्षिप्त हुन्छन् । वरिष्ठ बालमनोविज्ञ गंगा पाठक भन्छिन्, “धेरै समय कुर्नैपर्दैन । टीनएजमा पुगेपछि हरेक कुरा ‘नो’ भन्न थाल्छन्, रुखो व्यवहार देखाउँछन्  किनभने सानो छँदा अभिभावकसँग सिकेकै त्यही हो ।”

बच्चामा यो प्रवृत्ति मौलाउँदै गयो र समयमै उचित परामर्श पाएनन् भने आपराधिक कार्यमा संलग्न हुने पाठकको भनाइ छ । उनी अगाडि थप्छिन्, “संसारका ठूला अपराधीको पृष्ठभूमि केलाउँदै जाने हो भने कि सानैमा आमाबाबुबाट टाढिएका हुन्छन् कि माया नपाएका हुन्छन् ।”

लहड कि बाध्यता ?

‘अझ स्कुल पठाउनुभएको छैन ? यो बेला त मेरो छोरोले राइम्स भन्न थालिसकेको थियो ?

घरमै पुल्पुलाएर नराख्नू है, बिग्रिन्छ नि ।’

सन्तान दुई वर्ष पुग्न पाएको हुन्न, आफन्त र छिमेकीबाट यस्ता अनेकौँ सवाल र त्रासको सामना गर्नुपर्छ, अभिभावकले । यस्तो माहोल निर्माण हुन्छ, छोराछोरीलाई घरमा राख्नु भनेको उनीहरूको भविष्य बर्बाद पार्नु हो । यही अत्याउने प्रवृत्तिले दूधे बालकलाई रुवाउँदै, फकाउँदै, झर्कंदै, हप्काउँदै प्रि–स्कुल पठाइन्छ ।

जापानमा ६ वर्ष नपुगी सिसाकलम समात्न लगाउन पाइँदैन । संसारका अन्य विकसित मुलुकमा पनि अभिभावकले बालमैत्री ‘गाइडलाइन’ पछ्याउनैपर्छ । केही वर्षअघिसम्म नेपालमै ५ वर्ष पुगेपछि मात्र स्कुल भर्ना गर्ने चलन थियो । तर अहिले जसले पहिले बच्चा स्कुल पठायो, उसकै मानमनितो ज्यादा हुन्छ । आफ्नोभन्दा सानो उमेरका छिमेकीको बच्चा मन्टेसरी जान थालेपछि बाबुआमा आत्तिन्छन् । तर बच्चा घर छाडेर बाहिर जान तयार छ/छैन, ख्यालै गर्दैनन् । उप्रेती भन्छिन्, “सहरमा देखासिकी र लहडले दूधे नानीबाबुलाई प्रि–स्कुल पठाउनु अमानवीयता हो । यसले मानसिक रूपमा शिथिल र अस्थिर बनाउँछ ।”

त्यसो त प्रि–स्कुलमा पठाउनु आफैँमा गलत काम होइन । कामकाजी अभिभावकसँग अर्को विकल्प पनि हुँदैन । तर समस्या, प्रि–स्कुलको वातावरण र घरमा हुँदा बाबुआमाले गर्ने व्यवहारमा छ । पूर्वप्राथमिक तहमा तीनै बालबच्चालाई राखिन्छ, जसका अभिभावकले हुर्काउने फुर्सद पाउँदैनन् । त्यहाँ बच्चालाई रोजाइमुताबिक खेलाउने, खुवाउने, स्याहार गर्ने गरिन्छ । उन्मुक्त भएर खेल्न पाउने, दिसा–पिसाब गर्ने, चल्ने माहोल हुनुपर्छ, कुनै रोकतोक हुनुहुन्न । प्रतिस्पर्धात्मक, सामाजिक र रचनात्मक बन्न प्रेरित गर्नुपर्छ । अर्थात्, आमाबाबु र घरको अभाव महसुस नहोस् । कान्ति बाल अस्पतालका बालमनोचिकित्सक अरुण कुँवर भन्छन्, “सामाजिक अन्तर्क्रिया हुन्छ, अरूसँग घुलमिल हुन सिक्छ । त्यसैले घरमा एक्लै राख्नु/बस्नुभन्दा प्रि–स्कुल पठाउनु नै उत्तम हो ।”

यही सोचले बढावा पाएर हुनुपर्छ, राजधानीका टोलटोलमा मन्टेसरी, डे–केयर, शिशु स्याहार केन्द्र र बाल विहार ( किन्डरगार्टेन) खुलेका छन् । अभिभावक पनि यस्ता ठाउँमा शानले बच्चा पुर्‍याउन जान्छन् । तर त्यहाँ आफ्ना सन्तानले चाहेअनुरूपको माहोल पाएका छन्/छैनन्, वास्ता गर्दैनन् । प्रि–स्कुलका नाममा हुने गलत अभ्यास हामीबाट छिपेको छैन । “हाम्रा अधिकांश प्रि–स्कुलमा बच्चा रुँदा किन रोयो भनेर बुझ्न खोजिन्न, हप्काएरै चुप बस्न लगाइन्छ । यी दुवै शैली घातक हुन्छन्,” प्राध्यापक उप्रेती भन्छिन्, “त्यसमाथि यो पीडा पोख्न आमाबाबु साथमा हुँदैनन् । त्यसैले बच्चाको वृत्ति विकासमा व्यवधान पुग्छ ।”

सानै उमेरमा प्रि–स्कुल र होस्टेलतिर पठाइएका बच्चा ब्रोइलर कुखुराजस्तै कमजोर हुने दाबी छ उनको । भन्छिन्, “आफ्नो साथमा राखिएका सन्तान लोकल कुखुराजस्ता हुन्छन्, पर राखियो भने ब्रोइलरजस्तै । कस्तो बनाउने ? अभिभावककै हातमा हुन्छ ।”

प्रायः प्रि–स्कुलमा बच्चाको मनोविज्ञान ख्याल गरिँदैन । पाठ घोक्नुपर्ने दबाब दिइन्छ । अभिभावकको बेवास्ता र स्कुलको त्रास हुन्छ । यति मात्र होइन, कलिलै उमेरमा आमाबुबाको सपनाको दास बन्नुपर्छ । तर बच्चाले यो व्यथा न अभिभावकलाई भन्न सक्छ, न त शिक्षकलाई । त्यसैले सबै आवेग झगडा गरेर निकाल्छ । अनि बाबुआमा गुनासो गर्न थाल्छन्, ‘भनेजस्तो सबै पुर्‍याइदिएको छु तर झगडिया भयो, पढ्दै–पढ्दैन, टेर्दै–टेर्दैन ।’

बालमनोविज्ञ पाठककहाँ ८ देखि १० वर्ष उमेर समूहका सन्तान लिएर अभिभावक मनोपरामर्शका लागि आउँछन् । तर उनी बच्चा होइन, अभिभावकलाई सम्झाएर पठाउँछिन् । घरमा आमाबाबुको उचित हेरचाह र साथ पाएका बालबच्चालाई १० वर्षसम्म कुनै मनोपरामर्श नचाहिने विभिन्न अध्ययनले देखाएका छन् । थप्छिन्, “अभिभावक बच्चाले दुःख दियो भन्दै आइपुग्छन् तर समस्याचाहिँ बच्चा होइन, अभिभावकमा हुन्छ ।”

सानै उमेरमा पर राख्दा बच्चामा पर्ने मनोवैज्ञानिक उल्झन प्रस्ट्याउन पाठकले एउटा घटना सुनाइन् । केही महिनाअघि एक अधबैंसे फ्रस्टेसन भयो भन्दै उनीकहाँ पुगे । बुझ्दै जाँदा थाहा भयो, उनलाई तीन वर्ष नहुँदै होस्टेल राखिएको रहेछ । खुब आत्तिन्थे तर साथमा बुबाआमा हुँदैनथे । बिस्तारै होस्टेलको बानी पर्‍यो । बिदामा घर होइन, साथीसँग बाहिरै घुम्न जान्थे । बाबुआमा पनि दंग, छोराले दुःख दिएन भनेर । तर छोरामा आफूहरूप्रतिको प्रेम मर्दै गएको पत्तै पाएनन् ।

स्नातक गरेपछि घरमा बल्लतल्ल बोलाएर बिहे गरिदिएछन् तर उनी घरमा बस्नै सकेनन् । पत्नीप्रति पनि माया नजागेपछि विरक्तिएर बिदेसिए । एक वर्षपछि बुबा बितेको खबर पाए पनि उनलाई नेपाल आउनै मन लागेनछ । आफन्तले गाली गरेपछि फर्केर काजक्रिया गरे, भावनात्मकभन्दा दबाबले मात्र । “त्यसपछि उनलाई बल्ल बाबुको अभाव खट्किएछ, जिउँदो छँदा माया नगरेकामा पश्चात्ताप भएछ । यही पश्चात्तापले निराशा र तनाव थप्दै लग्यो,” पाठक भन्छिन्, “यसको मूल कारण नै बच्चामा आमाबाबुको माया नपाउनु हो ।” पाठकको चिन्ता छ, धेरै आमाबाबु र सन्तानबीच यस्तै नियति निर्माण हुँदै छ ।

गुणात्मक समय अभाव

प्रि–स्कुल पठाउनुभन्दा घातक हुन्छ, घरमा सन्तानलाई प्रभावकारी समय नदिनु । दिउँसो अभिभावक अफिस र बच्चाबच्ची स्कुल भए पनि साँझ–बिहान घरमा सँगै हुन्छन् । तर त्यतिबेला पनि बच्चाले पूर्ण साथ पाउँदैनन् । अवरोध बनिदिन्छ, ग्याजेट र इन्टरनेट । बचेखुचेको समय आमा किचेनमा व्यस्त, बाबुचाहिँ अफिसकै काममा । फेरि पनि बच्चा एक्लै । उप्रेती भन्छिन्, “बच्चा स्कुलको कुरा बाँड्न खोजिरहेको हुन्छ तर आमाबाबु झर्को मान्छन् । कति बोलेको भन्दै गाली गर्छन्, जसले बच्चामा लघुताभास र हीनताबोध पैदा हुन्छ ।”

अझ कति अभिभावक त सन्तानलाई मोबाइल दिएर भुलाउँछन् । जबकि डिजिटल उपकरणबाट निस्कने पराबैजनी किरणले बाल मस्तिष्कमा असर गरिरहेको हुन्छ । कोही घर आउनासाथ आफू मोबाइलमा झुन्डिन्छन्, बच्चाले मोबाइल छोयो भनेचाहिँ झर्किफर्की गर्छन् । उप्रेती भन्छिन्, “साँच्चैभन्दा सन्तान हुर्काइका सवालमा अहिलेका अभिभावकसँग समस्यै–समस्या छन् । ‘बेबी सावर’ को फेसन छ तर त्यही बेबी जन्मिएपछि माया र रेखदेख पाउँदैन ।”

बालमनोविज्ञका अनुसार बच्चालाई सधैँ काखी च्यापेर राख्नुपर्छ भन्ने पनि होइन । धेरै समय दिनुपर्दैन, जति दिइन्छ, त्यो गुणात्मक हुनुपर्‍यो । यसलाई ‘क्वालिटी टाइम’ भनिन्छ । “त्यसो गर्दा बच्चाले मेरा बाबुआमा व्यस्त छन्, जब घर आउँछन्, त्यो समय मेरै लागि हो भनेर बुझ्छन् । एक्लोपना हुन्न,” पाठक भन्छिन्, “स्कुलबाट आएपछि पढाइ र साथीको कुरा सुनिदिनुपर्छ । आफूप्रति बुबाआमाको चासोले बच्चा खुसी त हुन्छ नै, आत्मबल पनि बढ्छ ।”

त्यसको उदाहरण उनी आफैँ हुन् । आमा बनेसँगै उनको व्यावसायिक व्यस्तता बढ्दै गयो । बिहान ६ बजे निस्केर साँझ ६ बजे घर पुग्थिन् । तर उनका सन्तान तड्पिदैनथे किनभने घर आएपछि बच्चालाई समय दिन्थिन् । किन काम गर्न बाहिर जानुपर्छ भनेर बुझाउँथिन् । एकछिन ढिला हुँदा पनि ‘सरी’ भन्थिन् । खेल्ने, जिस्कने, चल्ने, कथा सुनाउने गर्थिन् । उनको भनाइ छ, “छोटो भए पनि मिठासपूर्ण समय बिताइयो भने त्यसले बच्चालाई लामो समयसम्म खुसी राख्छ । तर अभिभावकका लागि यस्तो प्रेम अनावश्यक र झिनामसिना भइदिन्छ ।” घर वरपर निस्कँदा, किचेनमा, कोठा सफा गर्दा पनि बच्चालाई सँगै सहभागी गराउने सुझाव छ उनको ।

बच्चालाई सबैभन्दा चाहिने आमा हो, त्यसपछि बाबु अनि हजुरबुबा–आमा । त्यसैले त संयुक्त परिवारमा बस्ने बच्चा बुबाआमाले समय नदिए पनि खुसी हुन्छन् । तर हामीकहाँ अंग्रेजी सिकाउने र आधुनिक बनाउने लहडमा बच्चालाई जानीजानी हजुरआमा–बुबासँग झुम्मिन नदिने अभिभावकको संख्या बढ्दै छ । यही कारण हो, स्कुल जाने उमेरका होइन, स्तनपानबाटै बच्चाले एक्लो महसुस गर्ने ।

किशोरावस्थामा जति समस्या देखा पर्छन्, अधिकांशको बीजारोपण पूर्वबाल्यावस्थामै भएको हुन्छ, जसले आमाबाबुसँग सन्तानलाई भावनात्मक रूपमा अलग पारिरहेको हुन्छ । समयसँगै सम्बन्ध प्रगाढ हुँदैन, बरु दूरी बढ्दै जान्छ । कालान्तरमा परिणाम के निस्कन्छ त ?

उप्रेती भन्छिन्, “बच्चालाई साथ चाहिने बेला अनेक बहानामा आमाबुबाले होस्टेल पुर्‍याइरहेका छन् । भोलिपर्सि आमाबाबुलाई साथ चाहिने बेला सन्तानले वृद्धाश्रममा लगेर छाडिदिन्छन् । हिसाब बराबर ।”

प्रकाशित: श्रावण १३, २०७६