गुप्तचरको राजनीतिक यात्रा

- मनबहादुर बस्नेत

“क–कसले भेटे थाहा छैन । भेट्नै हुँदैन थियो भन्ने पनि हामीलाई   लाग्दैन । सुन्दर देश छ, पशुपतिनाथ छ, आइराख्छन् । हाम्रा कर्मचारी (कूटनीतिक) पनि गइराख्छन् ।”

९ साउनको पत्रकार भेटमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाको बोली हो, यो । भारतीय जासुसी संस्था रिसर्च एन्ड एनलाइसिस विङ (रअ) का प्रमुख सामन्त गोयलको ६ सदस्यीय टोलीले ४ साउनमा काठमाडौँ ओर्लिएर गरेको उच्च राजनीतिक भेटघाटलाई सरकारका प्रवक्ताले स्वाभाविक भन्दिनु अनौठो थियो ।

कूटनीतिमा भेटघाट र बडी ल्यांग्वेज आफैँमा प्रस्ट सन्देश हो ।

विदेशी गुप्तचरी संस्थाका प्रमुखले मुलुकभित्रै आएर महत्त्वपूर्ण राजनीतिक भेटघाट गरेर बिदा हुनु संयोग मात्र होइन । उक्त टोलीले प्रधानमन्त्री केपी ओली, अनि तीन पूर्वप्रधानमन्त्रीसँग मनग्ये समय लिएर छुट्टाछुट्टै भेट गर्‍यो । गुप्तचर स्रोतका अनुसार गोयलको पहिलो भेट नै प्रधानमन्त्री ओलीसँग भएको थियो । उनले ४ साउन राती साढे दुई घन्टा प्रधानमन्त्री ओलीसँग भेटेका थिए । उक्त भेटलाई यति गोप्य राखियो कि बालुवाटारबाटै कालो सिसाधारी गाडी पठाएर गुप्तचरी  टिमलाई प्रधानमन्त्री निवास भित्र्याइएको थियो । सुरुमा दुवैतर्फका टिमसहित भेटघाट भएको थियो । त्यसपछि प्रधानमन्त्री ओली र गोयलबीच वान टु वान भेट भएको थियो । यद्यपि सरकारका प्रवक्ता बाँस्कोटाले यस्तो भेट नभएको दाबी गरे, पत्रकार सम्मेलनमा । उनको भनाइ थियो, “भेटे भन्नेहरूले प्रमाणसहित सम्पुष्टि गरे भइहाल्यो ।”

प्रधानमन्त्रीसँगको भलाकुसारीपछि भोलिपल्टै नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न त गोयलको टिम प्रहरी स्कर्टिङमै खुमलटार पुगेको थियो । सोही दिउँसो राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीसँग गोयलको भेट भयो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाकै वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि गोयलको लामो भलाकुसारी चलेको सञ्चार माध्यममा सार्वजनिक भए पनि त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । सुरक्षा स्रोतले देउवा र नेपालसँग भेट भएको दाबी गरे ।

प्रधानमन्त्री, सत्तारुढ दलका प्रमुख नेतादेखि प्रतिपक्षी नेतासम्मलाई परराष्ट्र मन्त्रालयको प्रतिनिधिबिनै गोप्य रूपमा भेट्दै अनेक शंका–उपशंका उब्जाएर रअ टोली दिल्ली फर्किएको छ । दिल्लीमा अवस्था कस्तो छ भने नेपाली राजदूतले बारम्बार समय माग्दासमेत भारतीय विदेशमन्त्री एस जयशंकर पन्छिदै आएका थिए । रअको टोली दिल्ली फर्किएपछि बल्ल १० साउनमा नेपाली राजदूत नीलाम्बर आचार्य र जयशंकरबीच बल्लतल्ल एक घन्टा भेट जुर्‍यो । आचार्य दुई महिनादेखि नवनियुक्त विदेशमन्त्री जयशंकरको समय ढुकेर बस्न बाध्य भए । आचार्यले निकटस्थसँग यो संवादहीनताबाट दिल्लीले आफूलाई अपमानित गरिरहेको बताउन थालेका थिए । “धेरैचोटि भेटका लागि खबर पठाइयो तर उताबाट सकारात्मक सन्देश पाउनै सकिएको थिएन,” दिल्लीस्थित नेपाली दूतावासलाई उद्धृत गर्दै परराष्ट्र मन्त्रालय स्रोतले नेपालसँग भन्यो ।

नरेन्द्र मोदी दोस्रो पटक जेठमा प्रधानमन्त्री बनेका हुन् । दोस्रो पटक सत्ता सम्हालेयता नेपाल–भारतबीच दुईपक्षीय राजनीतिक भेटघाट भएकै छैन, न त दुईदेशीय भ्रमण भएका छन् । राजनीतिक तहमा भेटघाट र औपचारिक भ्रमण शून्य रहेका बेला खुफिया संस्थाले नेपालमा एकाएक सक्रियता देखायो । जबकि सन् २०१४ मा पहिलोपल्ट मोदी सरकार बनेपछि नेपाल–भारतबीचको सम्बन्ध कर्मचारी तहबाट नभई राजनीतिक तहबाट निर्देशित हुने बताइएको थियो ।

नेपालको राजनीतिमा भारतले रअमार्फत सूक्ष्म व्यवस्थापन गर्दै आएको तथ्य आम जानकारीमै छ । ०७२ मा नेपालले जारी गरेको संविधानप्रति असहमत हुँदै दिल्लीले नाकाबन्दी लगाउने निर्णयमा कर्मचारी तह नै हाबी रहेको बताइएको थियो । भारतले त्यस्तो भूल नगर्ने सन्देश अनौपचारिक माध्यमबाट पठाउँदै आएको थियो । तर दोस्रो पटक सरकारको नेतृत्वमा पुगेका मोदीले अब के पुनः रअलाई नेपालमा सक्रिय बनाउन खोजेका हुन् ?

एक महिनाअघि मात्रै रअको नेतृत्व सम्हालेका गोयलले आफ्नो साथमा यस्ता व्यक्ति लिएर आए, जो यसअघि नेपालस्थित भारतीय दूतावासमा बसेर काम गरिसकेका रअका अधिकारी हुन् । शशिभूषण सिंहले भारतीय दूतावासमा फस्ट सेक्रेटरीका रूपमा काम गरेका थिए । उनी सन् १९९९/२००० मा काठमाडौँबाट अपहरित आईसी–८१४ विमानका कूटनीतिक पासपोर्टधारी यात्रु थिए । विमान अपहरण भएको तीन दिनपछि पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता तारिक अल्ताफले यो कुरा खोलिदिएका थिए । उनले यस्तो कुरा त्यतिबेला बताइरहेका थिए, जतिबेला उक्त अपहरणमा पाकिस्तानी भूमिकाको आरोप भारतले लगाइरहेको थियो । तारिकले भारतलाई प्रत्तिउत्तर दिने आशयले पत्रकारसँग भनेका थिए, ‘विमानभित्रबाट तोमारले नै अपहरणकारीलाई निर्देशन र सञ्चालन गरिरहेका छन् ।’ याद रहोस्, गोयलसँगै यसपल्ट काठमाडौँ आएका तोमार हाल रअको दोस्रो तहमा छन् ।

रअकै अवकाशप्राप्त अधिकृत आरके यादवले आफ्नो किताब मिसन रअमा त तोमारलाई अपहरणको पूर्वजानकारी हुँदाहुँदै विमान चढेको उल्लेख गरेका छन् । अपहरणको केही दिनअघि काठमाडौँस्थित रअका जुनियर अधिकृत युभी सिंहले तोमारलाई यसबारे जानकारी गराए पनि निराधार हल्ला भन्दै दिल्ली उडेका थिए । लगत्तै उनी चढेको विमान आतंकवादी समूह हर्कत–उल–मुजाहिद्दीनबाट अपहरित भएको थियो ।

गोयलसँगै आएका अर्का अधिकृत अरुण जैन पनि रअको काठमाडौँ स्टेसनमा दोस्रो तहमा बसिसकेका व्यक्ति हुन् । अहिले उनी दिल्लीमा नेपाल डेस्क हेर्छन् । नवनियुक्त रअ प्रमुखले नेपाल भ्रमण गर्ने चलन भए पनि यसपालि गोयलले नेपाली समकक्षीसँग मात्र नभई राजनीतिक वृत्तमा समेत भेटघाट बाक्लो बनाए । “उनीहरूको राजनीतिक सक्रियता हेर्दा दिल्लीको दूत भएर आएजस्तो देखिन्छ,” पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी भन्छन्, “तर जुन हदमा सूचना छरपस्ट पारियो, त्यो दूतको भूमिका होइन ।”

राज्यका निश्चित तह रअ टोलीको भ्रमणबारे जानकार थियो । उक्त टोली नेपालमा छँदासम्म कोही चुइँक्क बोलेनन् । जब भारतीय खुफिया टोली ६ साउनमा दिल्ली पुग्यो, तब गोयलले भेटेका पात्र एकाएक सार्वजनिक हुन थाले । दुई तिहाइको जनमतसहित पाँच वर्ष सत्ता सञ्चालनको वैधानिकता पाएको नेकपाको सरकार परिवर्तनसम्मका आकलन हुन थाले । सत्तारुढ दलको महत्त्वपूर्ण विभागीय जिम्मेवारी बाँडफाँटको सँघारमा रअको आगमन भयो ।

भारतको यो बाह्य गुप्तचरी संस्थाले अन्य मुलुकको आन्तरिक राजनीतिभित्र पसेर दरार पैदा गरिदिन्छ र आफ्नो प्रभुत्व जमाउँछ । दक्षिण एसियाली मुलुकमा रअ हाबी छ, त्यसमा नेपालसमेत पर्छ । “एकैचोटि निष्कर्षमा पुग्न गाह्रो हुन्छ । तर यतिचाहिँ निश्चित हो कि शक्तिको खेलमा हाम्रा नेता गोटी बन्न सजिलै तयार हुन्छन्,” पूर्वप्रधानसेनापति गौरवशमशेर राणा भन्छन्, “इतिहासले पनि हामी कतैबाट सञ्चालित थियौँ भनेर देखाइसकेको छ । यस्तो ठाउँमा रअले यहाँ मज्जाले खेल्छ । केही चाल चल्ने वातावरण बुझ्न राजनीतिक तहमा भेटघाट भएको हो । अब त्यो चाल रअको

राडारमार्फत हुन्छ भन्ने सन्देश उसले दिएको छ ।” पूर्वसेनाप्रमुखले भनेजस्तै भारतका लागि पूर्वनेपाली राजदूत दीपकुमार उपाध्यायले ०७२ को नाकाबन्दी बढ्दै गएको भए बंगलादेशको जन्म भएजसरी नै रअले नेपालमा खेल्न सक्ने बताएका छन्, ८ जेठमा प्रकाशित नयाँ पत्रिका दैनिकसँगको अन्तर्वार्तामा । उपाध्यायले भनेका छन्, ‘तर अर्को बंगलादेश बन्ने खतरा टर्‍यो ।’

यद्यपि नेपालमा रअ अग्रसर हुने तरखर गरेको भने सहजै अनुमान लगाउन सकिन्छ । समकक्षी निकाय राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई भेट्दा पुग्नेमा गोयलले राजनीतिक व्यक्तित्वसम्म पहुँच फिँजाए, जुन शिष्टाचार भेट मात्र थिएन भन्ने अनौपचारिक माध्यमबाट भएको भेटले नै पुष्टि गर्छ । पाकिस्तानबाट बंगलादेश टुक्र्याउन, सिक्किमलाई भारतमा विलय बनाउने योजना रअकै थियो । आन्तरिक राजनीतिलाई विभाजित तुल्याएर रअले आफ्नो मिसन फत्ते गर्छ ।

नेपाल चीनतिर ढल्कियो भन्ने दिल्लीको बुझाइ छ । अझ नाकाबन्दीमा दरिलो अडान लिएका ओलीलाई दिल्लीले विश्वास गर्न सकेकै छैन । यसले समेत दिल्ली नेपालमा आफ्नो परम्परागत प्रभाव फर्कियोस् भन्ने चाहन्छ । पूर्वप्रधानसेनापति राणाका अनुसार यसका लागि दिल्लीले पहिले यहाँको राजनीति अस्थिर बनाउनुपर्छ, त्यसैको खोजीमा ऊ छ ।

राष्ट्रिय अनुसन्धान विभागका एक डीआईजीका अनुसार दुई तिहाइको वामपन्थी सरकारलाई कमजोर बनाउने रअको प्रयास हो । यसका लागि उसले सत्तारुढ दलकै शीर्ष नेताबीच फाटो ल्याइदिन्छ । नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई एक ठाउँ ल्याएर ओलीलाई एक्ल्याउने रअको योजना रहेको ती अधिकारी दाबी गर्छन् । नेकपाका एक केन्द्रीय नेता पनि भन्छन्, “प्रचण्डको काँधमा बन्दुक राखेर माधवकुमार नेपाललाई उनीसँगै ल्याउने र ओलीलाई कमजोर पार्ने भारतको दाउ हो ।”

दाउ पूरा हुनु/नहुनु अलग कुरा । तर भारतले नेपाललाई रअमार्फत हेर्छ भन्ने प्रस्ट राजनीतिक सन्देश भने दिइसक्यो ।

प्रकाशित: श्रावण १४, २०७६