‘बच्चालाई अस्पतालमै बाहिरी संसार’

  • भगवान कोइरालालाई ९ प्रश्न

- मनबहादुर बस्नेत

नाम मात्र होइन, कामले नै आफूलाई भगवान प्रमाणित गरिसकेका छन्, मुटु रोग विशेषज्ञ डा भगवान कोइरालाले यिनै डाक्टरले गैरनाफामूलक बाल अस्पताल चलाउने जिम्मेवारी पाएका छन् काठमाडौँ हेल्थ इन्स्टिच्युट नामक संस्थाका लागि सरकारले बूढानीलकण्ठमा ४१ रोपनी जग्गा दिने निर्णय गरिसकेको

बाल अस्पतालको आवश्यकता किन ?

हाम्रो ४० प्रतिशत जनसंख्या १८ वर्षमुनिको छ । तर यति ठूलो जनसंख्याका लागि समर्पित स्वास्थ्य सेवा सीमित छ । हाम्रो स्वास्थ्य सेवा कमजोर छ । बालबालिकाको उपचार सेवा झन् कमजोर । त्यसैले यसको खाँचो देखियो ।

यो योजनामा लाग्ने प्रेरणा के हो ?

सन् १९९८ मा पढ्न अमेरिका गएँ । त्यसपछि एक वर्ष क्यानडामा बच्चाकै मुटुको विषयमा विशेष फेलोसिप पाएँ । बच्चाको मुटुको उपचारमा मेरो पुरानो दक्खल र रुचि हो । अहिले मैले के बोध गरेँ भने मुटुको मात्रै उपचार गरेर बच्चाको सेवा पूर्ण नहुने रहेछ । समग्र सेवा एकै छातामुनि चाहिने रहेछ ।

राज्यले पनि गर्न नसकेको काम तपाईंले कसरी सम्भव देख्नुभयो ?

सरकारी अस्पतालको दरमै उपचार दिइन्छ । केही प्राइभेट क्याबिनचाहिँ अलि सुविधासम्पन्न हुन्छन् । साधारण र क्याबिनको उपचारमा केही फरक पर्दैन । सामान्य सेवा लिने बिरामीको खल्तीबाट पैसा खर्च नहोस् भन्ने चाहन्छौँ ।

यो चाहना कत्तिको व्यावहारिक होला ?

हुन्छ । यसका लागि वित्तीय मोडल चाहिन्छ । त्यो भनेको तेस्रो पक्षले तिर्नुपर्छ । बिमा, सरकार वा सेयरमार्फत निजी कम्पनीले तिर्छन् । अलिअलि जनताको योगदान होस् ।

सरकारी सहयोगमा चलाउने भनेपछि त्यो स्वायत्त संस्था हो ?

सबै सहयोग सरकारको होइन । जग्गा सरकारले दियो । उपकरण अनुदानमा माग्छौँ । स्वेच्छिक रकम उठाउँछौँ । सेवाबाट आउने रकम सञ्चालनमा खर्च गर्न पाउँछौँ । गंगालाल, बीपी अस्पताललाई सरकारले स्वायत्त ढंगले चलाएर खा भनेजस्तै हो यो । कानुनचाहिँ गैरनाफामूलक संस्था आकर्षित हुन्छ, वित्तीय मोडलचाहिँ सरकारी स्वायत्त स्वास्थ्य संस्थाको  ।

निजी अस्पतालमा पनि काम गर्नुभयो त्यहाँ यस्तो उपचार सेवा सम्भव देख्नुभएन ?

निजीमा सरकारी स्किम लागू गर्न सकिँदैन । त्यो नहुँदा उपचार महँगो पर्छ । निजी अस्पतालले मलाई यो सेवा दिन प्लेटफर्म उपलब्ध गराउने प्रस्ताव राखेका थिए । लगानी गरेपछि निजीले प्रतिफल खोज्नु स्वाभाविकै हो ।

स्वास्थ्यमा सबैको पहुँच किन नभएको ?

पहुँचमा तीनखाले समस्या छन् । भौगोलिक कठिनाइका कारण, व्यवस्थापनमा समस्या भएर र पैसा नभएका कारण सर्वसाधारण पहुँचमा पुग्नै सक्दैनन् । व्यवस्थापकीय क्षमता अभावमा अहिले उपचारमा अप्ठेरो परिरहेको छ ।

उपचार एकदमै महँगो हुँदै गइरहेको छ ?

प्रभावकारी तवरले चल्ने सम्भावना भएकालाई शंकाको सुविधा दिएर प्रोत्साहित गर्नुपर्छ । यसले दक्ष स्वास्थ्य सेवा प्रवाह हुन्छ । निजीले पनि प्रभावकारी सेवा प्रवाह गरिरहेका छन् । तर त्यहाँ पैसाका कारण सबैको पहुँच पुग्दैन । हामीलाई नाफा चाहिएन । तलबभत्ता राम्रो दिन पाए पुग्यो ।

आफूले चाहेको अस्पतालको काल्पनिक चित्र मनमा कस्तो आउँछ ?

अस्पतालमा बस्दा बच्चाले बाहिरी संसार भित्रै पाओस् । अस्पतालमा बच्चा हुँदा उसको उपचार त हुन्छ नै, साथै परिवारसँगको सम्बन्धन, स्कुलको शिक्षा, संगीत, खेलकुदलगायतका सुविधा उपलब्ध गराउन सकियोस् र उनीहरुलाई बढी मानसिक तनाव नहोस् ।

प्रकाशित: श्रावण १४, २०७६