(पुस्तक समीक्षा) राजदूतका अनौठा अनुभव

- योगेश ढकाल

मुलुकको बाहिरी मुहार हो– राजदूत । अन्तर्राष्ट्रिय समुदायले जसको चेहराबाट मुलुकलाई नियाल्छ । देशीय सम्बन्धको आयतन फराकिलो होस् वा साँघुरो, त्यो पनि राजदूतको औकातमा गुड्छ । त्यस अर्थमा राजदूतको सक्रियता, चासो, ज्ञान, कौशलसहितको क्षमतासँग मुलुकको प्रतिष्ठा मात्र जोडिएको हुँदैन, विकासको आयाम पनि सन्निहित हुन्छ । नेपालको कूटनीतिक अभ्यासमा २० जना पूर्वराजदूतले अनुभव बाँडेका छन् ।

अनुभव अध्ययन गर्दा तीन तथ्य उदेकलाग्दो देखिन्छ । एक, परराष्ट्र मन्त्रालय दस्तावेजविहीन छ । अधिकांश राजदूतले भनेका छन्– राजदूत नियुक्त भएपछि परराष्ट्रमा सम्बन्धित देशका पुराना सामग्री भेटिएनन् । मित्र को हुन् ? सम्पर्क–सूत्र को हुन् ? ट्र्याक टु डिप्लोमेसीमा कसलाई सम्पर्क गर्नुपर्छ ? आदि ठोस जानकारी थिएन, जो आजसम्मका समस्या हुन् र परराष्ट्र नसुध्रिएको तथ्य पनि । यसले नेपालको कूटनीतिक दक्षता र हैसियतलाई उदांगै बनाइदिन्छ ।

दोस्रो, परराष्ट्र मन्त्रालय ढिलासुस्ती मात्र छैन, असहयोगी पनि छ । पूर्वराजदूत केदारभक्त माथेमाले सटिक उपमा दिएका छन्, ‘ब्ल्याक होल’ । दूतावासबाट पत्र पठायो, त्यसको जवाफ नै नआउने । त्यो अनुभव अरु राजदूत राजेश्वर आचार्य, नयनबहादुर खत्री, कमल कोइराला, नोबलकिशोर राईलगायत धेरैको छ । ती अनुभव पढ्दै जाँदा मसिनो गरी देखिने सत्यचाहिँ परराष्ट्रको विभेद हो । कर्मचारी राजदूत भए परराष्ट्रबाट सहज र तत्काल जवाफ आउने गरेको देखिन्छ । 

तेस्रो, राजनीतिक नेतृत्व कूटनीति मर्यादा र प्रतिष्ठाको ख्याल गर्दैन । राजदूत र परराष्ट्रका कर्मचारीले दूतावासमा गर्ने खेलाँची पनि प्रस्टै देखिन्छ । नेपालको कूटनीतिक परिपक्वतालाई गिज्याउने गरी भेटवार्ता र भ्रमणमा पनि यस्तै गैरकूटनीतिक र गैरजिम्मेवार सन्दर्भ प्रशस्त उल्लेख छन्, पुस्तकमा । त्यस अर्थमा झन्डै ८ दशक लामो नेपालको कूटनीतिक इतिहास चियाउने आँखीझ्याल हो– पुस्तक ।

ती पूर्वराजदूतको अनुभवले नेपालसँग कूटनीतिक सम्बन्धमा गाँसिएका मुलुकसहित त्यो कालको विश्व र क्षेत्रीय परिवेशलाई पनि छ्यांग बनाइदिन्छ । साथै सन् १९५० को दशकपछि नेपालले आत्मसात गरेको परराष्ट्र नीतिको प्रतिफल सहजै मूल्यांकन हुन्छ । राजदूतले कतिपय सन्दर्भमा खुलेर घटना, प्रवृत्ति र त्यो समयको उपलब्धि बताएका छैनन् । अर्जुनरसिंह राणाले राजा वीरेन्द्रसँग भारतीय प्रधानमन्त्री राजीव गान्धीबीच ब्रेकफास्ट मिटिङ नहुँदाको सन्दर्भ उल्लेख गरेका छन् । तर यसमा धेरै बोल्न चाहेको देखिँदैन । खासमा त्यतिबेला नेपालले पाकिस्तानसँग सैन्य सामग्री तथा हातहतियार खरिदका लागि डिल गर्दै थियो ।

पूर्वराजदूत इन्द्रबहादुर सिंहले कूटनीतिज्ञ यदुनाथ खनालले परराष्ट्र सेवामा महिलालाई ल्याउन हुन्न भन्ने धारणा राख्ने गरेको दाबी गरेका छन् । खनालमाथि यति गम्भीर आरोप लाग्दै गर्दा सम्पादकले ‘क्रस चेक’ गरेको देखिँदैन । जतिबेला खनाल परराष्ट्रमा सचिव थिए, त्यस समय बिन्देश्वरी शाह परराष्ट्रमै थिइन्, जोपछि भारतका लागि राजदूत भइन् । खनाल पुत्र उदयराज खनाल अहिले पनि स्मरण गर्छन्– सुप्रभा घिमिरेहरु राजदूतका लागि योग्य महिला छन् । त्यसले सिंहको आग्रह र सम्पादनको कमजोरी देखाउँछ ।

अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले मानव अधिकारको मुद्दा उठाएर अप्ठेरो पारेको सन्दर्भ नै किन नहोस् । अमेरिकाका लागि राजदूत भेषबहादुर थापाको पहलमा त्यहाँका राष्ट्रपतिको निमन्त्रणामा भएको वीरेन्द्रको अमेरिका भ्रमणको कथा रोचक रुपमा प्रस्तुत गरेका छन्, जसरी केदारभक्त माथेमाले जापानी प्रधानमन्त्रीलाई नेपाल ल्याउन गरेको कोसिस बताएका छन् । नेपालको अन्तर्राष्ट्रिय कूटनीति क्षमता कमजोर छ भन्ने पुष्टि बेलायती कूटनीतिज्ञमार्फत अरुण तेस्रो परियोजना भारतको दबाबमा स्थगित भएको सन्दर्भले देखाउँछ । त्यसैगरी कमल कोइरालाले सदस्य नै नभएको एक अन्तर्राष्ट्रिय संस्थाको कार्यकारी सदस्यमा उम्मेदवारी दिएर अन्तर्राष्ट्रिय लज्जा देखाएको सन्दर्भ उठाएका छन् । 

नेपालले विगतमा पाएका अन्तर्राष्ट्रिय मञ्च गुमाइरहेको दरिलो विश्लेषण पुस्तकमा पाइन्छ । पूर्वराजदूतका अनुभवले नेपालको कूटनीतिक क्षमता, कौशल, हैसियत मात्र पर्गेलेको छैन, परराष्ट्र मन्त्रालयको क्षमता, रबैया र सोचमाथि विमर्शले मात्र अब अँचेट्न सक्ने देखिँदैन । अन्तर्राष्ट्रिय मञ्चमा दरिलो उपस्थितिका लागि राजदूतले आर्जन गरेको अनुभव र संगालेको व्यावहारिक ज्ञान मुलुकको अमूल्य सम्पत्ति हो । राजदूतको अनुभव पुस्तान्तरण हुँदा संस्थागत स्मरण मात्र होइन, मार्गदर्शन हुन्छ ।

पुस्तक : नेपालको कूटनीतिक अभ्यास | सम्पादक   : विष्णु रिजाल | प्रकाशक : परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान  | पृष्ठ   : ३१० | मूल्य : ४९९ रुपैयाँ

प्रकाशित: श्रावण १५, २०७६