प्यारो ममदी !
एउटा पाठकले आफ्नो प्यारो लेखकलाई श्रद्धाञ्जली होइन, शब्दाञ्जली अर्पण गर्ने हो सायद ।
‘प्रिय’ शब्द अति प्रयोगका कारण कति बदनाम, निम्छरो, घटिया, औपचारिक रुपमा अप्रिय भइसक्यो भने त्यसको शब्दोच्चारणमा अब कुनै आत्मीयता बाँकी रहेन । तिमी त आत्मीय मान्छे ! त्यसैले तिमीलाई प्यारो भनेको हुँ, प्यारो ममदी ।
यो क्षणभंगुर जीवनमा तिमीसित जम्मा एक पटक कुराकानी भएको थियो । तिमीले मलाई कुनै अपराह्न फोन गरेका थियौ । याद छ के ? त्यो टेलि–संवाद यस्तो थियो :
तिमी : कुमारजी, मेरो नाम मदनमणि दीक्षित हो । तपाईं मलाई सम्मान नभई प्रेम गर्नु हुँदो रहेछ, हगि ?
म : यस सर !
तिमी : मलाई जीवनभर भेट्न चाहनु हुन्न रे ! साँचो हो ?
म : एकदमै साँचो हो सर ।
तिमी : मलाई भेट्न मन लागे पनि भेट्नु हुन्न ? मरिहालेँ भने मलाई भेट्न आर्यघाटमा पनि आउनु हुन्न ?
म : आउँदिनँ सर ।
तिमी : किन होला ?
म : किनभने मेरा लागि तपाईं कहिल्यै मर्नु हुन्न । फेरि तपाईंलाई भेटेपछि मेरो प्रेम टुट्न सक्छ । प्रेम मैलो हुन सक्छ । मेरो प्रेम टुट्न, मैलो हुनबाट म बचाउन चाहन्छु । मेरो प्रेम म तपाईंबाट समेत जोगाउन चाहन्छु सर ।
तिमीलाई मैले यसै गरी प्रेम गरेँ । मौन, चुपचाप । तिम्रा सम्पूर्ण किताबलाई यसै गरी रुचाएँ । मौन, चुपचाप । तिम्रो मौन प्रेमी बनेँ । केही वर्षअघि ‘नीलिमा अफेयर्स’ लेखेर तिमीप्रति आफ्नो असीम प्रेम अर्पण गरेँ । उक्त संस्मरण छापिएपछि एक दिन तिम्रा पुत्रमणिले कालिकास्थानको एउटा कफी–सपमा भन्नुभयो, “कुमारजी, बुबा घरमै हुनुहुन्छ । हिँड्नुस्, म भेटाइदिन्छु । पत्रिकामा तपाईंको लेख पढेर बुबा निकै भावुक हुनुभएको छ ।”
म तिमीलाई भेट्न गइनँ । घरमा पनि । र, घाटमा पनि ।
आज एकाबिहानै बसन्त बस्नेतले फोनमा भने, “कुमार दाइ तपाईंका प्यारो ममदी गए ।” सांसारिकतादेखि अन्जान एवं बेखबर मैले सोधिपठाएँ, “कहाँ गए ?” नेपाल म्यागजिनका सम्पादकले भने, “हामी सबैलाई छाडी गए ।”
बसन्त भ्रममा थिए सायद । किनभने मलाई लाग्छ, हामीले अतिशय प्रेम गरेका मान्छे कतै जाँदैनन् । ती हाम्रो वरपर नै हुन्छन् । हृदय आसपास रहन्छन् । यही धर्तीमा तिनीहरु घाँस बनी उम्रन्छन् । बतास भई बहन्छन् । झरी बनी बर्सन्छन् । इन्द्रेनी बनी झुल्किन्छन् । र, कुहिरो बनी हाम्रो घरआँगनमा डुल्छन् ।
प्यारो ममदी ! तिमी यतै कतै छौ । तिम्रो आफ्नै किताबका पानाहरुमा । तिम्रै अक्षर, शब्द एवं वाक्यहरुमा । अनुच्छेद र हरफहरुमा । तिम्रो माधवी यहीँ छ, मेरी नीलिमा यहीँ ! तिम्रो चरैवती यहीँ छ, भूमिसुक्त यहीँ । तिम्रो पाण्डुलिपि यहीँ छ । यहीँ छ, तिम्रो क्यामेरा ।
तिम्रा प्रेमी, हितैषी, शुभचिन्तक र मित्रजन यहीँ छन् । तिमीलाई निःसर्त प्रेम गर्ने नगरकोटीजस्ता हजारौँ पाठक यहीँ छन् । तिमी एक्लै अन्त कतै कसरी जान सक्छौ ?
♦♦♦
जेहोस् प्यारो ममदी ! यो साँझ अस्तित्वमाझ, तिम्रो शब्दाञ्जली कोर्न बसेको छु । धिपधिपे मैनबत्तीमुनि । एउटा पाठकले आफ्नो प्यारो लेखकलाई श्रद्धाञ्जली होइन, शब्दाञ्जली अर्पण गर्ने हो सायद ।
श्रद्धाञ्जली त मैले केही वर्षअघि आफू स्वयंलाई अर्पण गरेको थिएँ, लेखेको थिएँ । जुन सायद पत्रिकामा छापिने मेरो ‘पोस्टह्युमस’ लेख हुनेछ । आख्यान हुनेछ । जीवनमा अरु कसैको श्रद्धाञ्जली लेख्दिनँ भन्ने निकै अडबांगे मान्छे म, आज तिम्रो श्रद्धाञ्जली होइन, शब्दाञ्जली लेख्न बसेको छु । तिम्रो सम्झनाको दियो जलाएको छु ।
यो दियो नेपाली भाषा एवं वाङ्मयको इतिहासमा युग–युगान्तर जल्नेछ । जलिई नै रहनेछ । यसको प्रज्वलित प्रकाशमा नेपाली साहित्यले आफ्नो सुन्दर, दिव्य मुहार हेर्नेछ ।
सम्बन्धित
छापा र प्रसारण दुबैतर्फको कार्यशैलीसँग एकसाथ परिचित हुनु र त्यसमा भिजेर काम गर्न पाउनु चान...
पेन्सनबिनाको ४० वर्षे सरकारी पत्रकारिता
नेपाली टेलिभिजन इतिहासको प्रारम्भिक अध्यायको अन्त्य...
दुर्गानाथ शर्मा भन्थे : सरकारी मिडियामा स्वतन्त्र पत्रकारिताको समय आएकै छैन
अस्ताए पुरानो पुस्ताका अब्बल पुरातत्त्वविद् तारानन्द मिश्र...
बिलाए पुरातत्त्वका तारा
आशा गरौँ, कसजूले विश्वास गरेझैँ जुझारु प्रयोगवादले समयसँगै नौलो र सार्थक जीवनको खोजी जारी ...
विनयशील जीवनको अन्त्य
अस्पतालमा उहाँको स साना जिद्दी देखेर दिक्क हुँदै मैले भनेको थिए, बाबा अब तपाई जे भन्नुस् भ...
सधैंको लागि निःशब्द बाबा
‘माड्साब’ सम्बोधन उहाँमाथि खुल्थ्यो । उहाँ सबैका माड्साब हुनुहुन्थ्यो । अन्त्यसम्म माड्साब...