माड्साब : राजनीति र पत्रकारिताको मिसमास

- किशोर नेपाल

‘माड्साब’ सम्बोधन उहाँमाथि खुल्थ्यो । उहाँ सबैका माड्साब हुनुहुन्थ्यो । अन्त्यसम्म माड्साब उपनामले छाडेन उहाँलाई । मदनमणि दीक्षित त औपचारिक पडाव । मेरो पुस्ता हुर्किंदा–हुर्किंदै उहाँ सम्पादकका रूपमा खरो र लोकप्रिय भइसक्नुभएको थियो । माड्साबका कुरा सबैले सुन्थे । र पनि, उहाँलाई एक पटक राजदरबारअगाडि आत्मदाह गर्ने सुर चढ्यो । आफ्ना दुःखका साविती बयान दिँदा माड्साबले यो कुरा लेख्न छुटाउनुभएको छैन । देशमा छोटो समयका लागि चलेको संसदीय प्रजातान्त्रिक व्यवस्थाका प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालासँग अनुरोध गरेर स्थानीय पत्रपत्रिकाका लागि आर्थिक सहयोग जुटाउन सफल भएका माडसाबमा आत्मदाहको चिन्तन किन र कसरी उत्पन्न भयो, त्यो खुल्न सकेको छैन ।

माड्साब आफैँले कतै लेख्नुभएको छ, तत्कालीन निर्दलीय राजनीतिमा विश्वबन्धु थापा राजाका गधा थिए भने तुलसी गिरि घोडा । यसमा किन र कसरी जस्ता प्रश्नको सम्भावना छैन । स्वयं माड्साबका भानिज शैलेन्द्रकुमार उपाध्याय थापा र गिरिका त्यही ‘सर्किल’ भित्र थिए । भानिज उपाध्यायले माड्साबलाई सोभियत संघका लागि नेपाली राजदूत पदमा जागिर खाने ‘अफर’ नदिएका होइनन् । तर त्यहाँ राजदूत भएर पैसा कमाउनेबाहेक अरू केही नहुने देखियो । माड्साबले मन गर्नुभएन । राजाको मनपेट नबुझीकन उपाध्यायले आफ्नै हिसाबले राजदूत बनाउन सक्ने अवस्था पक्कै थिएन त्यतिबेला । माड्साब अकिञ्चन हुनुहुन्थ्यो । दरबारले उहाँलाई राम्ररी चिनेको थियो । निर्दलीय राजनीति गर्नेहरूबीच माड्साबको ज्ञान र चनाखोपनको खुब चर्चा हुन्थ्यो ।

माथेमाहरूको स्वामित्वको ‘जनसेवा’ सिनेमा हलमा आगो लागेपछि त्यसको आँगनमा सुपथ मूल्यका पसल खोलिएका थिए । नयाँसडक जगमग–जगमग थियो । नयाँसडकको ‘ मोस्ट ह्याप्पेनिङ प्लेस’ थियो, पीपलको बोट । त्यहाँबाट रञ्जना सिनेमाको ढोकासम्म पुगिने सडक समातेर दायाँतिर लागेपछि आउँथ्यो, एउटा इनार । त्यो इनारसँगै जोडिएको एउटा घरमा माड्साबको कार्यालय थियो । सात दिने समीक्षाको प्रकाशन यथावत् थियो ।

अतिरिक्त, दैनिक समीक्षाको प्रकाशन भइरहेको थियो, त्यहाँबाट । माड्साबलाई त्यसैबेला देखेको मानिसले पछिसम्म पनि त्यही रूपमा देख्दथ्यो । माड्साबको व्यक्तित्वलाई खुट्याएर हेर्न एक प्रकारको अन्तर्दृष्टि चाहिन्थ्यो । मैले दैनिक समीक्षाको कार्यकर्ताका रूपमा माड्साबका व्यक्तित्वका केही पक्षलाई हेरेको छु । मूल थलो वीरगन्ज भएकाले पनि उहाँलाई कायस्थको जस्तो प्रत्युत्पन्न मतिका धनीभन्दा पक्कै पनि अपमान हुने छैन ।

राजा महेन्द्रको निधन र वीरेन्द्रको राज्यारोहणपछिको समयमा नेपाली स्वतन्त्रता संकटमा थियो । त्यतिखेर माड्साबले समीक्षाको कार्टुनिस्टलाई बोलाएर भन्नुभयो, ‘तिमी धोबीखोलामा जाऊ र एउटा गधालाई नुहाइदेऊ । त्यतिबेला राजा आउनेछन् र सोध्नेछन्– ‘के गर्दै छौ  ?’ र, तिमीले जवाफ दिनेछौ, ‘गधालाई धोएर गाई बनाउँदै छु ।’ यो बलियो झापड थियो, राजा वीरेन्द्रद्वारा प्रस्तावित निर्दलीय पञ्चायती व्यवस्थाको सुधारलाई । यसमा समीक्षाले दण्ड पायो । तर यसको उचाइ ह्वात्तै बढ्यो । पछि के भयो कि माड्साब प्रवाहित हुनुभयो, पञ्चायत व्यवस्थामा । पञ्चायत नीति जाँचबुझ समितिको निर्देशनमा उहाँ काठमाडौँ नगर पञ्चायतको सदस्य हुनुभयो । त्यतिखेर उहाँ मात्रै होइन, कम्युनिस्ट पृष्ठभूमिका वासुदेव ढुंगानालगायतका व्यक्तित्व पनि त्यतै बहेका थिए ।

राजनीति र पत्रकारिताको मिसमासले मदनमणि दीक्षित ‘माड्साब’को विद्वत् व्यक्तित्वमा खासै असर पारेन । पत्रकारिता किनारामा रह्यो, माधवी केन्द्रमा आइन् । उहाँका विशद ज्ञान र सारगर्भित विचार नेपाली आकाशमा चम्किइरहनेछन् ।

यो पनि पढ्नुहोस् : प्यारो ममदी !

प्रकाशित: भाद्र १, २०७६