बाइसौँ शताब्दीको नेपाल

- अलका आत्रेय चूडाल

मुगल आक्रमणपछि पुस्तकसहित भारतबाट भागेका विद्वान्हरूले ल्याएका थुप्रै पाण्डुलिपि र पुराना ग्रन्थ नेपालमा सुरक्षित रहेको थाहा पाएका राहुल सांकृत्यायनलाई लागेछ, बौद्ध दर्शनको गहिराइमा पुग्न मूल ग्रन्थ पढ्नैपर्छ । तिब्बतमा हस्तलिखित ग्रन्थका पाना बुटीका रुपमा सेवन गर्न थालेकाले बौद्ध ग्रन्थ नाश हुँदै थिए भने भारतमा ती दुर्लभ पुस्तक अप्राप्यजस्तै भए । राहुल नेपाल हुँदै तिब्बत जान चाहन्थे तर शिवरात्रिबाहेक नेपाल छिर्न राहदानी चाहिन्थ्यो । चन्द्रशमशेरको जगजगी ताका आर्यसमाजीका रुपमा नेपाल प्रवेश गर्न गाह्रो भएकाले जोगीको भेषमा उनी हिँडेर काठमाडौँ छिरे । कसैले चिनेपछि राहुल दक्षिणकाली नजिक शिखरनारायण गुफा पसे । गुफामा अध्ययन गरेर फर्कंदा उनलाई भारतमा जेल हालियो ।

रोचक कुरा– यही शिखरनारायण गुफाभित्र सन् १९२३ मा सुतेको जोगी २२ औँ शताब्दीमा ब्युँझिएको दृश्यबाट राहुलको पुस्तक बाइसवीं सदी सुरु हुन्छ । बाहिर निस्कँदा नेपालको अनुहार धेरै विकसित भइसकेको हुन्छ । सुरुमा जेलभित्र संस्कृत छन्दमा लेखे पनि कम्युनिस्ट प्रभाव पर्दै गएपछि राहुलले हिन्दीमा लेखेका रहेछन्, यो उपन्यास । राहुलको बाइसवीं सदीमा न नेपाल भन्ने देश हुन्छ, न नेपाली भाषा, न त राजा नै । उनको युटोपियन साम्यवादी विश्व एउटा गाउँजस्तो हुन्छ, जुन विकासको उत्कर्षमा पुगेको छ । त्यसको एउटा हिस्सा हुन्छ, नेपाल । नेपालबाट सुरु भएर बिहारमा टुंगिने कथाका आरोह–अवरोह रोचक लाग्छन् । पानी संकलनका लागि राखिएका ट्यांकी, रेल, सामान ओसारपसार गर्ने रोपवे, हजारौँ पुस्तक अट्ने चिप्स, भिडियो फोनकल प्रयोगको समेत कल्पना गरिएको छ, उपन्यासमा । किताब काल्पनिक भए पनि नेपालसम्बन्धी प्रसंग केही हदसम्म मिलेका देखिन्छन् । उपन्यास पढ्दा राहुल सांकृत्यायन स्रष्टा मात्रै नभई भविष्यद्रष्टाजस्ता लाग्छन् । राहुलका अनेक व्यक्तित्व, यात्रा र भविष्य बुझ्ने बीजको रुपमा यो किताबलाई लिन सकिन्छ ।

दिल्ली विश्वविद्यालयकी प्राध्यापक चारु गुप्ताले साहित्यको कोरा सैद्धान्तिक विश्लेषण मात्रै नगरी समाजशास्त्रीय अध्ययन गरेकी छन्, सेक्सुआलिटी, अब्सेनिटी, कम्युनिटीमा । उपनिवेशकालीन भारतीय समाजको साहित्यमा चित्रित महिला र मुस्लिमको अवस्थिति चारुले पुस्तकको केन्द्रमा राखेकी छन् । तत्कालीन समाजमा महिलालाई घरेलु परिधिभित्र कसरी खुम्च्याइएको थियो भन्ने देखाइएको छ । हिन्दु सोचअनुसारकै नारीलाई मात्रै महान् ठान्ने समय र समाजलाई लैंगिक कोणबाट चिरफार गरिएको यो किताब नेपाली परिप्रेक्ष्यमा पनि उत्तिकै सान्दर्भिक लाग्छ । त्यतिबेलाका साहित्यमा मेमसाहबको तस्बिर र ‘सुसंस्कृत’ महिलाको तस्बिर राखेर तुलना गर्दै पश्चिमा संस्कारमा जानु भनेको भारतीय राष्ट्रवादविरुद्ध लाग्नु हो भन्ने मान्यतालाई नै बढावा दिइन्थ्यो । समानता र स्वतन्त्रताका पक्षमा बोल्ने महिलालाई धर्मभ्रष्ट र घरभँडुवाको संज्ञा दिइने पितृसत्तात्मक सोचका सन्दर्भलाई सचित्र प्रस्तुत गर्दै आलोचनात्मक टिप्पणी गरेकी छन्, चारुले । पतिव्रता भारतीय नारीको स्वरुपलाई आदर्शीकृत गर्ने तत्कालीन साहित्यले मनुस्मृतिको विचारधारालाई नै समृद्ध बनाउन खोज्थ्यो । अंग्रेजी साहित्यमा चित्रित नारीलाई घृणित नजरले हेरिन्थ्यो । पुरुषवादी दृष्टिमा निर्माण र संरक्षण गरिने वस्तु नारी हो भने योद्धा भएकाले राष्ट्र, भाषा र नारीको संरक्षक हो, पुरुष । राष्ट्र र भाषालाई समेत नारीकरण गरिएको हुन्थ्यो, आजपर्यन्त पृथ्वी र देशलाई आमा भनिन्छ ।

भारतको भाषिक आन्दोलनताका उर्दूलाई हिन्दीको सौताको रुपमा समेत व्याख्या गरिएकैले संस्कृतनिष्ठ हिन्दीलाई बढी ग्राह्य मानिन्थ्यो । धर्म मात्रै नभएर उर्दू, हिन्दी र बंगाली भाषाको आ–आफ्नै राष्ट्रवादले एउटा भूगोललाई तीन टुक्रामा विभाजित गर्‍यो । राष्ट्रवादी भाष्यले साहित्यमा पारेका कैयन प्रभावलाई चारुले निकै मिहीन र सरस ढंगले व्याख्या गरेकी छन् ।

भनिन्छ, संस्कृतमा वैदुष्य र कवित्व बढाउन दुई पुस्तक पढ्नैपर्छअष्टाध्यायी अमरकोश । यी दुई पुस्तकलाई मातापिता मानिन्छ, जसको मिलनबाट एउटा बौद्धिक व्यक्तित्वको जन्म हुन्छ । यस्तै उक्तिको प्रभावले होला, प्राचीन व्याकरण पढ्न सुरु गर्दा संस्कृतका प्रसिद्ध व्याकरणाचार्य पाणिनिको अष्टाध्यायी रट्न थालेँ, आठ वर्षकै उमेरतिर । हरेक बिहानको आवृत्तिले आठ अध्याय र अध्यायपिच्छेका चार पाउभित्रका लगभग चार हजार सूत्र कठस्थ पारेकी थिएँ । धेरैलाई लाग्न सक्छ, व्याकरणका सूत्र निरस होलान् तर अष्टाध्यायीका कतिपय उच्चारणका अभ्यासमा छुट्टै मिठास भेटिन्छ ।

संस्कृत भाषालाई पूर्ण र मानक व्याकरण लेखेका इपू ५०० का पाणिनिले वर्णका वर्गीकरणदेखि सन्धिका नियमलाई वैज्ञानिकता दिए । अहिले आएर थाहा हुँदै छ, संस्कृत कम्प्युटरमैत्री भाषा हो । अष्टाध्यायीका सूत्रलाई व्याख्या गर्न प्रयोगात्मक कौमुदीहरु लेखिएका छन् । हाम्रो भाषामा विभक्ति, ह्रस्व–दीर्घ, तालव्य/दन्त्यमा देखिएको विवादले बताउँछ कि नेपाली भाषा मानक बनिसकेको छैन । नेपाली व्याकरणमा नियमलाई काट्ने अपवादको बाहुल्य छ । एकरुपताको अभावमा भाषा छरिने मात्रै नभई जटिल पनि बनिदिन्छ । हिज्जेको भाँडभैलो देख्दा लाग्छ, अष्टाध्यायीजस्तो स्तरीय व्याकरण–पुस्तक नहुँदाको अप्ठेरो झेलिरहेका छौँ हामी ।

प्रकाशित: भाद्र २, २०७६

ट्याग: तीन किताब