पात
कुन्नि के सुरलेअचानक झोक्का बनेर हावा आयोर कति दिनदेखि त्यो रूखको हाँगामाखङ्ग्रङ्ग सुकेर बसेकोत्यो किंकर्तव्यविमूढ पातच्वाट्ट चुाडियो ।

कुन्नि के सुरले
अचानक झोक्का बनेर हावा आयो
र कति दिनदेखि त्यो रूखको हाँगामा
खङ्ग्रङ्ग सुकेर बसेको
त्यो किंकर्तव्यविमूढ पात
च्वाट्ट चुाडियो ।
हाँगामा थपक्क टाँसिएको त्यो खैरो पात
उड्यो उचाइतर्फ
हठात् तल झर्यो
भुइँमा खस्नै लाग्दा हावाले त्यसलाई भुइँभुइँ उडायो
र अर्को रूखको फेदमा जोडले ठोक्किएर टाँस्सियो
त्यो पात एकछिन त्यहीँ अडियो ।
एकै निमेषपछि
फेदबाट हान्नियो त्यो पात
र जमिनमा ओल्टिँदै–पल्टिँदै यताउता भइरह्यो
रूखमा रहेन त्यो पात
न शून्यमा अडिन सक्यो, न भुइँमा बिसाउन पायो
हावाले त्यसलाई फर्रफर्र उडाउँदै एउटा कुलोमा पुर्यायो
र बग्दै गयो त्यो पात कताकता–
बगिरहेको त्यो कुलोले खै त्यसलाई कता पुर्यायो !
रूख भने उभिरह्यो, नयाँ पालुवा फेरि पलाए
पालुवा पात बन्यो, सुक्यो, फेरि चुाडियो रूखबाट
अनि फरफर उड्दै, कुलोमा तैरिँदै, फेरि खै कहाँ गयो त्यो पात
रूखमा उम्रेको, रूखमै सुकेको त्यो नयाँ पात खै कहाँ गयो !
पात–पात मिलेर हाँगामा, छाया दिन्थे कुनै दिन
पात–पात मिलेर रूखमा छहारी हुन्थ्यो कुनै दिन ।