(पुस्तक समीक्षा) दुर्योधन राजा भए

पुस्तक : अश्वत्थामा | लेखक : कुमार भट्टराई  | प्रकाशक  : सांग्रिला पुस्तक प्रालि | पृष्ठ : ३३६ | मूल्य : ४९५ रुपैयाँ

- राजकुमार बानियाँ

राजेन्द्र थापाको शकुनि र कुमार भट्टराईको अश्वत्थामा  एकै समय आए । दुवै आख्यानको स्रोत एउटै हो, महाभारत । नेपाली साहित्यको आँगनमा महाकाव्याख्यान महाभारतको विशाल बिस्कुन छ । दुई वर्षअघि मात्रै घनश्याम कँडेलको धृतराष्ट्रले मदन पुरस्कार पायो भने नवराज लम्सालको महाकाव्य कर्णले नपाउँदा कविदीर्घामा एकखाले रुवाबासी छायो ।

महाभारतका दुर्योधन, दुःशासन र शकुनि घृणास्पद पात्र मानिन्छन् भने अश्वत्थामा, कर्ण र अभिमन्यू अभागी लडाकु । थापाले शकुनिलाई नायक नभए पनि मुख्य पात्रका रुपमा उभ्याएर एकखाले सुनपानी छर्किसकेका छन् । कुमारकृत आख्यान अश्वत्थामाले दुर्योधनको नाममै उपन्यास नलेखे पनि त्यसमार्फत चोख्याउने रणनीतिक सफलता पाएका छन् ।

कौरव पक्षका दुर्योधन, अश्वत्थामा र कर्णको मानै नभएको भने होइन । हिन्दुले दसैँको टीका लगाउँदा फलाक्छन्– द्रोणपुत्र अश्वत्थामाको जस्तो आयु होस्, कर्णको जस्तो शत्रु नरहून्, दुर्योधनको जस्तो मान होस् ।

अश्वत्थामाको जीवन र मृत्यु अहिलेसम्म अज्ञात छ । कौरव पक्षबाट  कुरुक्षेत्रमा लडेका कृपाचार्य, कृतबर्मासँगै बाँचेका थिए अश्वत्थामा । उनी निधारमा कुरुक्षेत्रको कलंकको घाउ बोकेर पाँच हजार वर्षदेखि साधुसन्तको भेषमा मन्दिर/देवालय घुमिरहेको किंवदन्ती छ । उनलाई नायक बनाएर लेखिएको यस आख्यानको कल्पित भूमि झापाको अर्जुनधारा सेरोफेरो छ ।

आख्यानअनुसार गंगा, जमुना र सरस्वतीको त्रिवेणीमा जन्मिएका अश्वत्थामाका पिता थिए, द्रोणाचार्य । ऋषि भारद्वाजको वीर्य र अप्सरा घृतार्चीको डिम्ब ‘द्रोणी’ नामक यन्त्रमा राखेर जन्मेको टेस्टट्युब बेबीका रुपमा ‘ट्वीस्ट’ गरिएको छ उनलाई । अश्वत्थामा जन्मेपछि उनी आफ्ना बालसखा पाञ्चाल नरेश द्रुपदको गोठबाट गाई मागेर ल्याउने वाचासहित हिँड्छन् । तर हात जोडेर गाई लिनुपर्ने राजहठका कारण अपमानित महसुस गर्छन् र घर फर्कन्नन् । बरु गुरु परशुरामसँग दीक्षित भएर हस्तिनापुर राजप्रासादको गुरुकुलमा नियुक्ति पाउँछन् ।

१२ वर्षदेखि पिता नफर्केपछि अश्वत्थामाको पहिलो गुरु माता कृपी हुन्छिन् भने दोस्रो गुरु मामा कृपाचार्य । कालक्रममा कृप हस्तिनापुरका राजगुरु हुन्छन् अनि उनलाई त्यही लग्छन् । गुरुकुलमा अश्वत्थामाको पितासँग भेट हुन्छ । पहिलो आत्मीय मित्र दुर्योधन हुन्छन् भने दोस्रो दुशासन र तेस्रो अर्जुन । गुरुकुलमा दुर्योधन र भीमको काटोछिनो छ । जातीय विभेदका कारण राधेय (कर्ण) ले भर्ती पाउँदैनन् । अर्जुनलाई सर्वश्रेष्ठ धनुर्धर बनाउने सपनाका कारण एकलव्यबाट दाहिने हातको बूढीऔँलो गुरुदक्षिणा लिन्छन् द्रोणाचार्यले । उनी आफ्ना चेलाहरुमार्फत द्रुपदलाई हराएर युद्धबन्दी बनाउँछन्, गाई लिएर पत्नीमिलन गर्छन् अनि अश्वत्थामालाई पाञ्चालको राजा बनाउँछन् ।

दुर्योधनको देवत्वकरण गर्न कुनै कसर बाँकी राखेको छैन अश्वत्थामाले । छुवाछूत र जातीय विभेदविरोधी दुर्योधनलाई राजा बनाउन पाएको भए ? पाठकलाई यस्तो लाग्न पनि सक्छ । द्रौपदीको चीरहणलाई थाती राखेर उनी दुर्योधनलाई युधिष्ठिरभन्दा महान् देख्छन् । उनको जिकिर छ– राज्य, प्रजा, भाइहरु र पत्नीसमेत जुवाखालमा राख्ने युधिष्ठिर खराब कि जुवामा जितेको राज्य खण्डप्रस्थ फर्काइदिने दुर्योधन ?

अश्वत्थामाले कृष्णलाई भगवान् नभएर चलाख मान्छेका रुपमा चिह्नित गरेको छ । कुरुक्षेत्रमा कौरवलाई उत्तराधिकारीविहीन बनाइदिएको बदलास्वरुप अश्वत्थामाले पाण्डवहरुलाई पनि उत्तराधिकारीविहीन बनाउन ब्रह्मास्त्र फ्याँके । अर्जुनका छोरा अभिमन्यूकी पत्नी उत्तराको गर्भ खेर गयो । अभिमन्यू मारिएको वर्षौंपछि उत्तराले जन्माएको तिनै परीक्षित हस्तिनापुरकै राजा भए । परीक्षितलाई किन अभिमन्यू पुत्रको परिचय दिइयो  ? अश्वत्थामाको प्रश्न छ ।

अश्वत्थामा मारिएको झूटो खबर सुनेर कुरुक्षेत्रमै सेनापति पिताले प्राणोत्सर्ग गरेको बदला अश्वत्थामाले मजाले लिएका छन् । शक्तिको प्रभावमा परी व्यासले महाभारतमा विजेताको भव्य सौन्दर्यीकरण र हारेकोको चरम राक्षसीकरण गरेको जिकिर छ, कौरवका अन्तिम सेनापति अश्वत्थामाको ।

हजारौँ अश्वत्थामा पेट, स्वाभिमान र आत्मसम्मानका लागि लड्नुपर्ने बाध्यता, वंश राजनीति, विभेदबारे आख्यानले खोतलेको छ । १८ अध्यायले महाभारतको ‘बर्ड आई भ्युज’ दिएका छन् । उपन्यासको भाषा सहज, सरल, सम्प्रेष्य र सूक्तिमय छ । महाभारतले खलपात्रका रुपमा उभ्याएका पात्रलाई अश्वत्थामाको एकल इजलासले सफाइ दिएको छ ।

युद्धबाट कसले के पायो ? कृपाचार्य र अश्वत्थामाको निष्कर्ष छ, सिर्फ मृत्यु । महाभारत युद्धका सूत्रधार कृष्णलाई ऋषि परशुरामले उक्साए । स्वयं परशुरामचाहिँ कोबाट परिचालित थिए ?

उपन्यासको ज्वलन्त प्रश्न छ ।

 

प्रकाशित: भाद्र ३, २०७६