फैलँदै डेंगु

  • प्रदेश १

- माधव घिमिरे/विराटनगर

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दैनिक ३० जनासम्म डेंगुका नयाँ बिरामी थपिन्छन् । प्रदेश १ का डेंगु उपचारका लागि जानेसमेत गरी बिरामीको चाप बढेपछि नियन्त्रण कठिन बनेको छ ।

धरानमा पहिलो पटक डेंगु संक्रमित फेला परेका थिए, २९ वैशाखमा । त्यसयता प्रदेश १ का धेरैजसो जिल्लामा यो संक्रमण फैलिसकेको छ । उदयपुर, पाँचथर र मोरङ, झापा, संखुवासभा, ताप्लेजुङ, धनकुटालगायत जिल्लामा फनि डेंगु संक्रमित देखिएका छन् ।

सर्वसाधारण मात्र होइन, यसको संत्रमणबाट चिकित्सकसमेत प्रभावित बनेका छन् । उदयपुर कटारी बजारस्थित कटारी मोडल पोलिक्लिनिकका डा गणेशलाल दास डेंगु संक्रमित बनेपछि हाल काठमाडौँस्थित ग्रान्डी अस्पतालमा उपचार गराइरहेका छन् ।

डेंगु संक्रमितको संख्या धरानमा मात्रै ५ हजार पुगेको छ । स्वास्थ्य संस्थाको सम्पर्कमा पुगेकाहरूको संख्याका आधारमा यो तथ्यांक रहे पनि यसभन्दा बढी बिरामी रहेको हुन सक्ने स्वास्थ्यकर्मीको अनुमान छ । धरानमा घरैपिच्छे डेंगुका बिरामी भेटिन थाले पनि नियन्त्रणका लागि स्थानीय स्तरबाट भएको प्रयास पर्याप्त देखिँदैन ।

धरान उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेलका अनुसार इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखा, प्रदेश स्वास्थ्य मन्त्रालय, संघीय सरकारको स्वास्थ्य मन्त्रालयलगायत निकायलाई सहयोग मागिएको छ । नियन्त्रणका लागि दक्ष प्राविधिक मात्र होइन, आर्थिक समस्यासमेत रहेको उनको भनाइ छ । नगरले औषधी स्प्रे गर्ने, चेतनामूलक कार्यक्रम चलाउने आदि काममा ३० लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ ।

नियन्त्रणका लागि प्रतिष्ठानका चिकित्सकको सहभागितामा र्‍यापिड रेस्पोन्स टिम बनाएर काम थालिए पनि प्रभावकारी हुन नसक्दा संक्रमण नियन्त्रण हुन सकेको छैन । डेंगु भाइरस संक्रमित एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस जातको पोथी लामखुट्टेबाट फैलिएको हो । डेंगु संक्रमणबारे जानकारी लिन केन्द्रीय सरकार मातहतका अधिकारीको बेग्लाबेग्लै टोली आए पनि नियन्त्रणको ठोस पहल नभएको उपमहानगर पदाधिकारी बताउँछन् । सरकारले डेंगु उपचार निःशुल्क घोषणा गरे पनि परीक्षण गर्ने कीट उपलब्ध नहुँदा समस्या भएको चिकित्सकको भनाइ छ । सरकारी अस्पतालमा यस्तो कीट नभएपछि बिरामी महँगो मूल्य तिरेर निजी अस्पताल र स्वास्थ्य संस्थामा परीक्षण गराइरहेका छन् ।

डेंगु प्रदेशभर महामारीकै रूपमा फैलिरहेको अवस्था भए पनि नियन्त्रण गर्न सरकार लाचार देखिएको छ । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे धरानबाट सुरु भएको डेंगु प्रदेशभरका जिल्लामा फैलिँदै गएको उल्लेख गर्दै नियन्त्रणमा आउन नसकेको बताउँछन् । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रोग नियन्त्रण महाशाखा र प्रदेश १ सामाजिक विकास मन्त्रालयले डेंगु नियन्त्रणका लागि अभियान चलाइरहे पनि नियन्त्रणमा आउन नसकेको उनको भनाइ छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रोबायोलोजी विभागले सन् २०१६ मा डेंगु संक्रमण गराउने एडिस एजिप्टाई र एडिस एल्बो पिस्टस जातको पोथी लामखुट्टेमाथि झापाको काँकडभिट्टा, दमक, धरान र विराटनगरमा अनुसन्धान गरेको थियो । त्यसबेला चार प्रकारका डेंगु भाइरसमध्ये सेरोटाइप–२ डेंगु भेटिएको र तीन वर्षपछि हाल धरानलगायत क्षेत्रमा फैलिएको डेंगुको भाइरस पनि सेरोटाइप–२ नै भएको प्रतिष्ठान माइक्रोबायोलोजी विभागले जनाएको छ ।

उक्त विभागका एडिसनल प्रोफेसर डा नारायण भट्टराईका अनुसार सेरोटाइप–२ प्रकार त्यति धेरै खतरनाक भने होइन । तर अर्को पटकको प्रकोपमा पहिले डेंगु संक्रमित भइसकेकालाई सेरोटाइप–३ को भाइरस संक्रमण भए अवस्था जटिल हुन सक्छ ।

 

 

प्रकाशित: भाद्र १५, २०७६

×