'आक्रामक ठानेर महिलालाई लाखे नाच्न नदिएको'
प्रख्यात नेवारी नाच हो, लाखे । परापूर्वदेखि पुरुष मात्रै नाच्दै आएकामा हिजोआज महिला पनि देखिन थालेका छन् ।

प्रख्यात नेवारी नाच हो, लाखे । परापूर्वदेखि पुरुष मात्रै नाच्दै आएकामा हिजोआज महिला पनि देखिन थालेका छन् । लाखे नाच्ने पहिलो महिला यकिन नभए पनि यसप्रति उनीहरुको आकर्षण बढ्दो छ । यो परिवर्तनबारे त्रिवि नेपाल भाषा केन्द्रीय विभागका संस्कृतिविद् रास जोशी :
महिलाले पनि लाखे नाच्न थालेछन् हगि ?
यो परिवर्तन नेपाली समाजमा भेदभाव छैन भन्ने सन्देश हो । लाखे नाचमा महिला सक्रियताले परिवर्तनको भोक पनि देखाउँछ ।
महिलाले पहिले किन लाखे ननाचेका ?
महिलाको मासिक चक्रलाई पहिले अपवित्र ठान्ने गरिन्थ्यो । समयसँगै त्यो मान्यता बदलियो । अर्को पक्ष शारीरिक रुपमा बढी चल्नुपर्ने, लाखेको मुकुन्डो गह्रौँ हुँदा महिलाले सक्दैनन् भन्ने धारणा पहिले थियो ।
महिलाले सक्दैनन् भन्नु त विभेदै भयो नि ?
लाखेको महिला नाच लसीँ नचाउने परम्परा छैन । सबै खेती किसानीमा जाने भएपछि बालबालिका घरमा एक्लै हुन्छन् । बालबालिकाको रक्षा र मनोरञ्जनका लागि लाखे नचाइने परम्परा बस्यो । फेरि लसीँ आक्रामक हुन्छ । त्यसकारण लाखेलाई स्थान दिएको हो ।
महिला कसरी आक्रामक हुन्छन् ?
महिलाको स्वभाव रक्षात्मक हुन्छ भन्ने मान्यता थियो । पुरुषले कमाएर ल्याउने र महिलाले त्यसको व्यवस्थापन गर्ने चलन बस्यो । त्यस क्रममा आउने समस्यासँग जुध्न आक्रामक हुनैपर्छ । आफ्ना सन्तानमाथि व्यवधान आए प्रतिवाद गर्छन् । त्यसकारण लसीँ नचाइँदैन थियो ।
अब इन्द्रजात्रामा पनि महिलाले लाखे नाच्लान् ?
यो लैंगिक सवाल हो । नाच्न इच्छा राखेर मात्र हुँदैन । यो नाच मात्र होइन, साधना पनि हो । आस्था भएपछि दैवीय शक्ति आउँछ । दैवीय शक्तिलाई पचाउन सक्छन्, सक्दैनन्, त्यो हेर्नुपर्छ । नाच्छु भनेमा नाइँनास्ती नहोला । किनभने कुमारीको रथ महिलाले पनि तान्न थालेका छन् । इन्द्रजात्राको महाकाली नाचमा महिला नाच्न थालेका छन् ।
महिला नाचे अनिष्ट हुन्छ भन्ने मिथ रहेछ ?
चुलोचौकोमा सीमित महिला स्वतन्त्र रुपमा बाहिर आएपछि तिनमा राजनीतिक, सामाजिक, सांस्कृतिक चेत पलायो । हाम्रा चेली हिजोको तुलनामा शारीरिक र मानसिक रुपमा बलिष्ठ भइसके ।
लाखेको आँखा किन रातो हुन्छ ?
यसलाई भैरव वा शिवगणको रुपमा लिइन्छ । जनैपूणिर्मामा शिवको बाहुल्य हुन्छ । त्यही भएर लाखे जनैपूणिर्माको भोलिपल्टदेखि सुरु हुन्छ । रातो आँखा भैरवको दिव्यता भएकाले त्यसले नराम्रो तफ्वलाई अगाडि बढ्न दिँदैन भन्ने मान्यता छ ।