(पुस्तक समीक्षा) कूटनीतिक प्रशासकको चरादृष्टि

पुस्तक : परराष्ट्रका पात्र | लेखक : मदनकुमार भट्टराई | प्रकाशक : किताब पब्लिसर्स | पृष्ठ : ३१० | मूल्य : ६००

- टीका ढकाल

करिब अढाई सय वर्षअघि जुनबेला आजको नेपाल राष्ट्र आकार लिँदै थियो, गंगाको मैदान हुँदै फैलिएको यस हिमालय उपमहाद्वीपमा १ हजार ५ सयभन्दा धेरै थुम्के राज्य थिए । राज्य विस्तारका लागि गरिने युद्ध वा अन्य राजसी गतिविधिको साइत हेराउन पृथ्वीनारायण शाहको दरबारमा छुट्टै ज्योतिष कार्यालय स्थापित थियो । ज्योतिषी बस्ने हुनाले त्यसलाई लामो समयसम्म बोलीचालीको भाषामा 'जैसीकोठा' भनियो । नेपालको आधुनिक परराष्ट्र मन्त्रालयको प्रारम्भिक स्वरुप यही थियो । सुरुआतका पात्र भानु जैसी (जोशी/ज्योतिषी) थिए । डेढ महिनाअघि प्रकाशित पुस्तक परराष्ट्रका पात्र यिनै प्रसंगबाट सुरु हुन्छ । ११ अध्याय पार गरेपछि आजको परराष्ट्र नीतिमा परिपक्वताको अपेक्षा गर्दै टुंगिन्छ ।

कुनै पनि राष्ट्रको विदेश नीतिलाई उसको इतिहास, भूगोल, राष्ट्रिय आर्थिक तथा सैन्य क्षमता र आन्तरिक राजनीतिको प्रवाहले अनुकूलित गर्ने तथ्यमा सायदै विमति रहला । फरक निर्धारक तत्वको प्रभावलाई एकमुस्ट राष्ट्रिय संकथनमा बदलेर बाह्य जगत्सँगको सम्बन्ध क्रियाशील राख्ने निर्णायक तत्व मानव संसाधन हुन्छ भने त्यसलाई 'हाउस' गर्ने प्रशासनिक संरचना हुन्छ । कूटनीतिक प्रशासनको जिम्मेवारी यसैलाई भनिन्छ ।

परराष्ट्रका पात्रले नेपालको कूटनीतिक जिम्मेवारीमा सुरुआतदेखि रहेका विभिन्न व्यक्तित्वको छोटकरी परिचय दिँदै परराष्ट्र मन्त्रालयको क्रमिक विकासलाई चित्रण गर्छ । पुस्तक आद्योपान्त पढिसक्दा प्रारम्भदेखि वर्तमानसम्म नेपालको कूटनीति कसले सञ्चालन गरे भन्ने सरसर्ती जानकारी पाइन्छ । साथमा परराष्ट्र मन्त्रालय एउटा सानो कोठादेखि आजको स्वरुपसम्म कसरी आइपुगेको रहेछ भन्ने ज्ञात हुन्छ । परराष्ट्र सेवामा करिब चार दशक बिताएर राजदूत, विदेश सचिव एवं राष्ट्रपतिका कूटनीतिक मामिला विज्ञका हैसियतमा रहिसकेका मदनकुमार भट्टराईलिखित पुस्तकको बलियो पक्ष यही हो ।

परराष्ट्र मन्त्रालय र त्यसका प्रमुख सञ्चालकका वरिपरि रहेका तथ्यलाई मसिनो गरी उत्खनन गर्नु पुस्तकको उद्देश्य देखिन्छ । कूटनीतिक प्रशासकसमेत रहेका लेखक भट्टराईलाई इतिहासका साना तथ्य राम्रोसँग स्मृतिमा राख्न सक्ने व्यक्तिका रुपमा लिइन्छ । आफ्नो यस क्षमतालाई उनले पुस्तकाकारमा उतारेका छन् ।

नेपालको परराष्ट्र नीति, कूटनीतिक सेवा र वैदेशिक मामिला सञ्चालनका सम्बन्धमा कृतिहरु यसअघि पनि लेखिएका छन् । एकै कृतिभित्र इतिहासको सुरुआतदेखि निकट वर्तमानसम्मका पात्रलाई अटाएर लेखिएको परराष्ट्रका पात्रले चाहिँ चराको आँखाबाट नेपाली विदेश नीति सञ्चालनको अढाई सय वर्ष लामो शृंखला नियाल्ने प्रयास गरेको छ ।

आकाशमा विचरण गर्ने क्रममा स्वाभाविक रुपले चराले बाटोको लम्बाइ देख्छ, पहाडका उबडखाबड देख्छ, मैदान र उकाली-ओराली देख्छ । ३ सय १० पृष्ठको परराष्ट्रका पात्र यति तीव्र गतिमा उड्छ कि अढाई सय वर्ष लगाएर विकसित भएको विदेश कार्यालयलाई उसका प्रमुख पात्रहरुको नाम र कामसहित २ सय ४५ पृष्ठमा समेट्छ, प्रतिवर्ष मुस्किलले एक पृष्ठका दरले । बाँकीमध्ये आठ पृष्ठको भूमिका छ, ५१ पृष्ठको पादटिप्पणी खण्ड र पाँच पृष्ठको अनुसूची छ । यस क्रममा सुरुदेखिकै पात्रका प्रसंग आउँछन् र बीचैमा नयाँतिर प्रवेश गर्छन् । 'स्लाइड सो' जस्तै वा एउटा एल्बमका पाना पल्टाउँदा एक-एक गरी देखिने फोटोजस्तै । जैसीकोठाबाट मुन्सीखाना, मुन्सी कप्तान, डाइरेक्टर जनरल अनि क्रमैसँग अनेक पात्रका नाम इत्यादि । पुस्तकमा आधा हजारजति व्यक्तिका नाम अटेका होलान् वा अझ बढी ।

लेखक आफैँले भूमिकामा स्वीकारेका छन्, 'यो मेरो गन्थनलाई कतिले...विश्लेषणात्मकभन्दा विवरणात्मक पाउलान्... यो मेरो कनिका टिपाइ हो ।' अर्थात्, लेखकलाई आफ्नो सीमाको पूर्वाभास छ । त्यसैले पुस्तकबाट गरिने अपेक्षालाई दायराभित्र राख्न उनले सुरुआतमै प्रयास गरेका छन् । पुस्तकको उद्देश्य विश्लेषण नगर्ने भनिएपछि त्यसमा पाठकले विश्लेषण खोज्नु हुँदैन । जसले खोज्छ, उसले पाउँदैन । यद्यपि आफैँ परराष्ट्रका मुख्य पात्र रहेका लेखकबाट समालोचानात्मक विश्लेषणको अपेक्षा राख्नुचाहिँ हरेक पाठकको स्वाभाविक चाहना हुन पुग्छ, यस पंक्तिकारको जस्तै । अर्का पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यलिखित दुई खण्डको नेपालः वल्र्ड भ्युले विश्लेषणको तिर्खा निकै हदसम्म मेट्छ । यी दुई लेखकका कृति एकैसाथ अध्ययन गर्दा परिपूरकजस्तो लाग्ने रहेछन्, एकै पेसामा भएकाले होला ।

भट्टराईको पुस्तकमा वणिर्त राणाकाल र त्यसअघिका ऐतिहासिक तथ्यको उपयोगिता वर्तमानलाई सूचित गर्न हो । नेपालको परराष्ट्र मामिला सञ्चालनमा राणा शासन ढलेपछिको समय आधुनिकताको जग हाल्ने थियो । यसबेला परराष्ट्र मन्त्रालयको संस्थाकरण र नीतिमा स्थायित्व चाहिएको थियो । विडम्बना भन्नुपर्छ, राजनीतिक अस्थिरताका कारण यसो हुन सकेन । नेपालको व्यापक वैदेशिक सम्बन्ध स्थापना, संयुक्त राष्ट्रसंघको सदस्यताजस्ता महफ्वपूर्ण दूरगामी उपलब्धि यसैबेला प्राप्त भए । औपचारिक कूटनीतिक सम्बन्धमा सफलता प्राप्त भए पनि नीतिगत अनिश्चय तथा अवान्छित भारतीय प्रभावको युग पनि यही थियो । त्यसबेलाका सबैभन्दा बलिया नेता बीपीले समेत यसलाई रोक्न सकेनन् । मातृकाप्रसाद कोइराला वा सूर्यप्रसाद उपाध्यायमाथि भारतको 'स्ट्रक्चरल ग्यारेन्टी' गरिदिने व्यक्ति भएको आशंका हुँदाहुँदै बीपीले नजरअन्दाज गर्न सकेको देखिन्न । आफूले भरोसा गरेका धेरै पात्रबाट धोका पाएको कुरालाई बीपी स्वयंले विभिन्न प्रसंगमा उल्लेख गरिसकेका छन् । परराष्ट्रका पात्रले दोहोर्‍याएको छ । 

विदेश मामिला प्रत्यक्ष सञ्चालन गर्ने बीपीको समय मोहनशमशेरको मन्त्रिमण्डलमा गृहमन्त्री रहेको नौ महिना र पहिलो जननिर्वाचित प्रधानमन्त्रीका रुपमा करिब अढाई वर्षजति मात्र थियो । लेखक भट्टराईले २० पृष्ठ लामो एउटा खण्ड र त्यसअघिको सानो उपखण्डसमेत बीपीको राजनीति एवं साहित्यलाई समर्पित गरेका छन् । १७ वर्ष राजा रहेका, त्यसमध्येका १२ वर्ष सर्वेसर्वा राजा रहेका महेन्द्रलाई बीपीसँग तुलना गरिएको एउटा उपखण्डमा सीमित गरिदिएका छन् ।  'पोलिटिकल करेक्टनेस' छाडेर प्राज्ञिकतालाई अनुसरण गर्दाचाहिँ महेन्द्रको समालोचनासहित छुट्टै खण्ड पुस्तकले माग गर्छ । खासमा मोहनशमशेरपछि ०१५ सालको आम चुनावसम्मका प्रधानमन्त्रीहरु राजाको रुचिमा नियुक्त थिए । त्यसैले भारतलाई सन्तुलनमा राख्न प्रधानमन्त्री टंकप्रसाद आचार्यले गरेको चीन भ्रमण, नेपालको संयुक्त राष्ट्रसंघमा सदस्यतालगायतका उपलब्धि त्यसबेलाको अस्थिर राजनीतिमा राजाको प्रत्यक्ष निगरानीका कारण मात्र सम्भव भएका हुन् भन्न कसैले पनि धक मान्नुपर्दैन । यसो भन्दा बीपीको उपलब्धिलाई अवमूल्यन गरेको ठहर्दैन ।

 हलुका, एक-दुई बसाइमै सकिने र धेरै माथापच्ची नचाहिने पुस्तक भएकाले एक पटक आरामसाथ पढ्न सकिन्छ । पढिसकेर घोत्लिँदाचाहिँ किताब परराष्ट्र सेवाको सामान्य ज्ञानजस्तो देखिन्छ ।

बीपी र महेन्द्रबीचको सम्बन्ध नेपाली राजनीतिको एउटा रोचक पहेली भएकाले यसमा पाठकलाई तान्ने सामथ्र्य छ । यो तुलना धेरै हुन थालेको देखिन्छ । अखबारी लेखनदेखि अनेक समकालीन पुस्तकमा नेपाली राजनीतिका यी दुई सक्षम पुरुषका तुलना भएका छन् । बीपी लोकतान्त्रिक संघर्षको पृष्ठभूमिबाट खारिएका निर्वाचित नायक थिए भने महेन्द्र आफ्ना पुर्खाको संघर्षले निर्माण गरेको ठान्ने राज्यका जन्मआधारित राजा । दुवैमा देश हितको उद्देश्य अवश्य देखिन्छ । यससँगै तत्काल आफू हाबी हुन चाहने, राष्ट्रिय भाष्यको सिरानमा उभिने आकांक्षाले राजनीतिक नेतृत्वलाई आफ्नो समयका महफ्वपूर्ण निर्णय लिन प्रेरित गर्छ । दीर्घकालमा आउने परिणामप्रति वर्तमान नेतृत्वको दृष्टि पुगोस् भन्न इतिहासले उनीहरुका निर्णयलाई उज्यालो दिनुपर्छ । तब मात्र इतिहासको बन्दी बन्न छाडेर भविष्योन्मुख राजनीतिको निर्माण हुन सक्छ । ६० वर्षअघि इतिहासको घुम्तीमा बीपी र महेन्द्रबीच जे कारणले सहकार्य हुन सकेन, राजा ज्ञानेन्द्र र राजनीतिक दलहरु पनि लगभग तिनै कारणले एक दशकअघि टाढिए । आज देश गणतान्त्रिक व्यवस्थामा पुगेको छ । राष्ट्रपतिका अधिकार सीमित छन् । सम्पूर्ण कार्यकारी अधिकार अभ्यास गर्ने बलियो सरकारचाहिँ फेरि पनि समकालीन समाजका वैविध्यसँग संवाद गर्न चुकिरहेको छ । निकट इतिहासले आजको राजनीतिक नेतृत्वलाई सूचित गर्न सकिरहेको देखिँदैन, जसरी हिजो सकेको देखिएन ।

पुस्तकको एउटा सानो उपखण्डमा परराष्ट्रमन्त्रीका रुपमा वर्तमान प्रधानमन्त्री केपी ओलीबारे छोटो मूल्यांकन छ- अंग्रेजीमा राम्रो वाककला, प्रस्ट वक्ता र निर्णय लिने क्षमता भएका । पाँच पटक प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइरालाबारे लेखकको अनिणिर्त प्रश्न छ- कोइराला समस्याका कारक हुन् वा समाधान ? आफूले नभेटेको उत्तर उनले भविष्यको इतिहासका लागि छाडेका छन् ।

पात्रका रुपमा उल्लेख नभएको भारत मुख्य पात्रका रुपमा पुस्तकको सुरुदेखि अन्तिमसम्म उपस्थित छ । लेखक भारतमा अध्ययन गरेका, दिल्लीस्थित नेपाली दूतावासमा लामो समय काम गरेका व्यक्तित्व हुनाले भारतबारे धेरै जानकार छन् भन्ने पुस्तकबाट थाहा हुन्छ ।

एकाध ठाउँमा परस्पर विरोधी वाक्य वा तर्क पनि परेका देखिन्छन् । लेखक भन्छन्, 'एक-दुई अपवाद छाडी नेपालको परराष्ट्र मन्त्रालय तुलनात्मक रुपले प्रबुद्ध एवं चर्चित व्यक्तिको सुयोग्य सुपरीवेक्षण र नियन्त्रणमा रहँदै आएको छ ।' पृष्ठ १२ मा यो 'सुयोग्यता' को एउटा दृष्टान्त छ, '...अभिलेख राख्ने प्रणाली छैन । भइहाले पनि जिम्मेवारीबोध छैन । पूर्वाधिकारी या उत्तराधिकारीबीच जिम्मेवारी आदानप्रदान गर्ने परिपाटी छँदै छैन भन्दा पनि हुन्छ ।' यो मूल्यांकन अपवाद लाग्दैन ।

बीपीकै 'सुयोग्यता' को पनि पृष्ठ १२९ मा एक झलक मिल्छ, 'नयाँ सुशिक्षित एवं योग्य अधिकृतको समूह भर्ना गर्ने काममा पनि (बीपीले) महत्वपूर्ण भूमिका निर्वाह गरे । नेपालमा सदाझैँ देखिने यस प्रकारको नियुक्तिमा शक्तिकेन्द्रसँग नजिक प्रभावशाली एवं नाता पर्ने व्यक्ति घुस्ने रोगबाट यो समय पनि खासै अछूतो रहेन ।' 

सारांशमा, सरलता यस पुस्तकको मुख्य आकर्षण हो । सम्बन्धित विधाका अनुभवीले लेखेको हुँदा यसको प्रामाणिकता पछिसम्म रहनेछ । हलुका, एक-दुई बसाइमै सकिने र धेरै माथापच्ची नचाहिने पुस्तक भएकाले एक पटक आरामसाथ पढ्न सकिन्छ । पढिसकेर घोत्लिँदाचाहिँ किताब परराष्ट्र सेवाको सामान्य ज्ञानजस्तो देखिन्छ । 'को, कहिले, कहाँ' प्रश्नमा केन्द्रित, 'किन र कसरी' बारे चुप । सायद अर्को भाग आउला कि !

प्रकाशित: भाद्र २६, २०७६