कागजको रंगीचंगी फूल

- सुनिता लोहनी

मायालु हजार हुन्छन् तर माया एकै हुन्छ

बुझेर माया देऊ, दिनुपर्ने एउटै हुन्छ

यो गीत नसुन्ने को होला ! गायक धु्रव केसी, ७३, को स्वर तथा गोपाल योञ्जनको शब्द, संगीतमा सजिएको गीतले उतिबेला रेडियो नेपाल घन्काएको थियो भने अहिले युट्युबका पेज । अधिकांशले उनको यो गीतमा 'कभर सङ' गाएको देखिन्छ । युट्युबमा गायक धु्रव केसी सर्च गर्‍यो भने दर्जनजति गीत फेला पर्छन् । केसीले अधिकांश प्रेमका गीत गाए । शिवशंकरको संगीतमा निष्ठुरी मायालुलाई कर्णपि्रय स्वर र शब्दमा गुनासो पोखे, तिम्रो माया कागजको रंगीचंगी फूलजस्तो... ।

गायक केसी ९ वर्षदेखि पार्किन्सनबाट ग्रसित छन् । हाल अर्किड केयरहोममा बस्ने उनलाई रोगले शिथिल बनाएको छ । सुस्तरी बोल्छन् । धेरै हलचल गर्न सक्दैनन् । तर आफ्नो अमर गीत 'मायालु हजार हुन्छन्...' भने केही गुनगुनाउँछन् ।

सिनामंगलमा जन्मेका केसीका छिमेकी कृष्ण लामिछाने रेडियो नेपालमा काम गर्थे । लामिछानेकै सहयोगमा ६ वर्षको उमेरमै उनले रेडियो नेपालको बाल कार्यक्रममा सहभागी हुन पाए । त्यहाँ कविता भन्थे । बालगीत गाउँथे । लजालु स्वभावका केसी उमेरमा निकै 'ह्यान्डसम' देखिन्थे । उनका ठूलोबुबाका छोरा भुवन केसी नेपाली चलचित्र उद्योगका सदाबहार हिरो भए ।

६ सन्तानमध्येका जेठा छोरा उनले करिब २० वर्षको उमेरमा मागी विवाह गरे । उनकी जीवनसंगिनीले संसार छाडेको १५ वर्ष भइसक्यो । दुई छोरी भारतमा बस्छन् भने एक छोरी नेपालमै । छोरीसँग फोनमा कुरा भइरहन्छ उनको । कलाकार मदनकृष्ण श्रेष्ठलाई पनि आफूलाई जस्तै रोग लागेको उनी सुनाउँछन् । पार्किन्सनले रोगीलाई डिप्रेसनमा लैजाने उनको अनुभव छ ।

दरबार हाइस्कुलबाट एसएलसी दिएका उनले आर्थिक परिबन्दले डेढ वर्ष मात्र कलेज पढ्न आए । १६ वर्षको उमेरमै स्वर परीक्षा पास गरी गीत गाउन थालेका केसीले रेडियो नेपालमा जागिर खाए, क्लर्क पदमा । उनका सहकर्मी थिए, रामलाल जोशी, कन्हैयाकुमार, माणिकरत्न, यादव खरेल र किरण खरेल । रामलाल, कन्हैयाकुमार, माणिकरत्नसँगै पोखरा घुम्न जाँदा फेवातालमा डुंगा चढेर ताल बाराही मन्दिरअगाडि पौडी खेलेको उनी सम्झन्छन् । भन्छन्, "परिवारसँग बस्ने मन छ । साथीभाइ भेट्ने मन छ ।"

रेडियोमा रामलाल, उत्तमलाल, यादव र आफू भएर विज्ञापन सुरु गरेको उनी सम्झन्छन् । केसीले पहिलोपल्ट बाँसबारी जुत्ताको विज्ञापन पढेका थिए । कुनै विज्ञापन आफैँ लेख्थे, कुनै अरुले बनाउँथे । ०२९ सालतिर बम्बैको स्टुडियोमा भाषा परीक्षा दिन जाँदा कलाकार मनमोहन किसनले अन्तर्वार्ता लिएको उनको स्मृतिमा ताजै छ । अन्तर्वार्तापछि भजनमा कोरस गाउन गए । पछि एउटा साथीको संगीत-शब्दमा उनले हिन्दी गजल रेकर्ड गराए, आ करके मेरे कब्र पर तुमने जो मुस्कुरादिया, बिजली चमके गिरपरे सारा कफन भुलादिया ।

त्यो गीत अल इन्डिया रेडियोबाट बज्यो । आफू हिन्दी गीत गाउने पहिलो नेपाली भएको केसीको दाबी छ । करिब ७० गीत गाएका उनलाई शास्त्रीय संगीत सिक्न ठूलो रहर थियो । डिल्लीबजारको पद्मकन्या स्कुलमा साँझ इलाहावाद विश्वविद्यालयको संलग्नतामा रहेको संस्थाले शास्त्रीय संगीत सिकाउँथ्यो । उनी केही दिन गए । तर घरबाट बन्देज भएपछि धोको अधूरै रह्यो ।

रेडियो नेपालको ४ वर्षे जागिर छाडेर उनी भारत गए । बोतल कारखानामा काम गरे । अवकाशपछि मात्र छाडे र करिब १० वर्षअगाडि नेपाल आए । अहिले उनलाई लाग्छ, संगीतमा केही गर्न सकिएन । तर,केसीका गीत पुरानालाई मात्र होइन, नयाँ पिँढीका लागि पनि उत्तिकै रुचिकर बन्न सक्छन् । उनको गीत सुनेर युवा मन प्रेमिल होस्, निष्ठुरी मायालुलाई फकाउन कोसिस गरिरहोस्, उसका प्रेमिल क्षणलाई यी गीतले अमर बनाइदिऊन् । 

प्रकाशित: भाद्र २६, २०७६