(पुस्तक समीक्षा) साझा कथामाला

पुस्तक : आमाले सक्नुहुन्छ | लेखक : आन्विका गिरी | प्रकाशक  : सांग्रिला बुक्स | पृष्ठ : १५८ | मूल्य : २७५ रुपैयाँ | 

- राजकुमार बानियाँ

छोरीका लागि किताब खोज्दाखोज्दै आफैँ बालसाहित्यमा होमिइन्, आन्विका गिरी । राजकुमारका तिलस्मी कथा अनि भूतप्रेतका रहस्यकथा उनलाई सुनाउन मन लाग्दैनथ्यो । नेपालीमै लेखिएका बालसाहित्यले मन भरिँदैनथ्यो । लेखकले अब कोसित गुनासो गर्नु ! अनि आफैँ पाँच बालपुस्तक लेखिन् । उनको पछिल्लो सचित्र बालकथा-शृंखला हो, आमाले सक्नुहुन्छ ।

अलिकति कथा त नामले नै बताइसक्यो । तर यो पुस्तक आमालाई महिमामण्डित गर्न मात्रै लेखिएको होइन, यसले सिंगो नारी-सामथ्र्यकै कथा भन्न खोजेको छ । सप्त कथामाला आमाले सक्नुहुन्छकी माधवी पाठकलाई तराई-मधेसको ग्राम्य सेरोफेरो डुलाउँछे । उसको घरमा आमा, बाबा, दाजु र भाइ छन् । तरकारी खेती पनि छ । तर उसको टकराव भने एकाघरको दाजुसँगै छ । बालमनोविज्ञानमा आधारित कथाका शीर्षकले नै धेरै कुरा बताउँछन् । आन्विका कथामा बांगोटिंगो बाटो लिन चाहन्नन् ।

माधवीले आमालाई एकल नायक बनाएकी छे । उसकी आमासँग हरेक समस्या छुमन्तर हुन्छन् । एउटा कापी दिदी र भाइलाई आधाआधा बाँडेर सिलाउनेदेखि हरियो साइकल चलाउनेसम्म । साइकल महिला सशक्तीकरणको बलियो विम्ब हो । आमाले साइकल चलाएपछि भान्सामा तरकारी थुप्रन छाड्यो । बजारमा सजिलै लैजान सकियो । घरव्यवहार राम्ररी चल्यो ।

आमाको साइकल सिकाइ रोचक छ । अरुले देखे के भन्लान् भन्ने सोचेर राती सबै सुतेका बेला आँगनमा साइकल निकालिन्छन् । आन्विका 'ड्राइभिङ सिट' मा महिलालाई देख्न चाहने अभियानी भएकाले कथामा त्यसो गर्नु अनौठो भएन । तर माधवीका बाबुले साइकल चलाउन नसकेको बनाउनाले उनलाई आख्यानको लाइसेन्स नै चाहियो । लैंगिक रुपमा आमाभन्दा बाबु बलियो भन्ने भ्रम तोड्ने उनको अधिकतम प्रयत्न छ ।

हुरीले घरको छाना उडाएपछि आमाकै अक्किलले सेतो जस्ता जोरजाम भएको छ । रश्मीको रजस्वलापछि माधवीलाई लुक्नु नपर्ने विशेष व्यवस्था गरिदिएकी छन् । त्यसैले आमालाई 'पाप धुने साबुन' भनिएको छ । आमाको महानतासामु सबै नतमस्तक छन् । रंगीन टीभीका निम्ति बाल समूहको भद्र भोक हडतालको कुनै असर छैन । बरु आमाको दोकान खुलेर क्यालकुलेटर चलाएको चामत्कारिक दृश्यसँगै कथा टुंगिएको छ । तर यो हाम्रा बालबालिका ठूलासामु पददलित भएको दृष्टान्त हो । बालकथामा कम्तीमा लेखकले बालबालिकाकै विजय देखाइदिए हुने । आमाको जयले माधवीको बाल वकालतमा प्रश्न उठ्छ । यद्यपि विजय महिलाको पोल्टामै छ ।

हाम्रो सामाजिक संरचना पक्कै नारीमैत्री छैन । महिलाको सकारात्मक ऊर्जा र उत्साहलाई बुझ्दैन । माधवी कहिलेकाहीँ दाजु प्रकाशसँग अलि पूर्वाग्रही लाग्छे । माधवीलाई पासै नदिई फुटबल खेल्छ, प्रकाश । सामूहिकताको मर्म नबुझ्दाको परिणाम द्वन्द्व हुन्छ । माधवी 'बेस्ट प्लेयर' बनेपछि दाजु सहअस्तित्व स्वीकार्छ र मानसिक युद्धविराम हुन्छ ।

आमाका मात्र होइन, माधवीका कदम अनौठा लाग्छन् । यथार्थका घरबीच आन्विकाले एउटा आदर्श घर सिर्जेकी छन् । त्यहाँ मायालाग्दा पात्र छन्, बाबु । भान्सा विभागमा सिपालु छन् । छोरीको चुल्ठो बाटिदिन्छन् । महिलालाई अघि बढाइरहेका छन्, सहयोगीका रुपमा । छोराछोरी दुवैलाई सानैदेखि घरव्यवहारमा सहभागी गराउनुपर्छ भन्ने मान्यतामा समाजको खिसिट्युरी र व्यंग्यवाण उनले पचाएकै छन् ।

सातै कथा जोड्दा उपन्यासजस्तो देखिन्छ । कथाको सिलसिला कतै भंग भएको छैन । कथा पढेपछि पाठक 'जजमेन्टल' मात्र होइन, 'जेन्डर सेन्सेटिभ' पनि हुन सक्छन् । गडी, गोजिया, दाउनी, मौगिया, गुल्टीमुल्टी, ढोक्सो आदि तराईका ग्राम्य शब्दको सूची बनाएर अर्थ राख्न पाए सबैतिरका पाठक लाभान्वित हुन सक्थे ।

लाग्छ, आन्विकाको लेखन सचेत बौद्धिक हस्तक्षेप हो । कथामा बालसुलभ खेल, मनोरञ्जनभन्दा पनि लैंगिक उछिनपाछिनले रोचकता घटाएको पनि छ । र, आन्विकाले छोरीको पालाको होइन, आफ्नै पालाको कथा लेखेजस्तो छ । सहरकै परिवेशका बालबालिकाले यसलाई कति बुझ्लान् ? कथाले कहेजस्तो गाउँघर कहाँ पाइएला ? नेपाली भाषा नै पढ्न अल्छी मान्ने पुस्तालाई कति खुराक देला ? यद्यपि बालकथामा उनको मौलिकतासहितको जाँगर प्रशंसनीय छ ।

पात्रहरुको चरित्र निर्माणमा मात्र नभएर भाषा, पात्र, प्रस्तुतिमा पनि आन्विका संवेदनशील देखिन्छिन् । कुलदीप जंगबहादुर गुरुङका चित्रले कथा जीवन्त बनेका छन् । स्वतन्त्र बालसाहित्य भए पनि यसलाई विद्यालय तहको पाठ्यक्रममै समावेश गर्न सकिन्छ । तर 'आखिर चिसो शरद् सकिएर वसन्त ऋतु पनि आयो' जस्ता झुक्याउने वाक्य झिकेर । यो पुस्तक बालबालिकाका साथै अभिभावक र शिक्षकका लागि पनि साझा मागदर्शक बन्न सक्छ ।

प्रकाशित: भाद्र ३१, २०७६