अडोनिसका तीन कविता
नोबेल पुरस्कारका लागि सदाबहार दाबेदार अडोनिसको जन्म सिरियाको अलविती नामक किसान गाउँमा भएको थियो । गरिब परिवारका भएकाले उनी स्कुल जान सकेका थिएनन् । प्रारम्भिक शिक्षा पिताकै खेतबारीमा प्राप्त गरे । पिता अरबी शास्त्रीय कवि भएकाले उनले पनि कविता लेखन र वाचनमा निपुणता पाएका थिए ।
प्रत्येक कविले चेतन वा अवचेतनमा एउटा स्रष्टा बोकेको हुन्छ, एउटा पि्रयजन वा सहकर्मीको प्रवक्ता भई हिँडिरहेको हुन्छ । मेरा अमेरिकी गुरु डेविड रेले महान् कवि विलियम कार्लोस विलियमको काव्य जगत्सित परिचय गराए भने इजरायली कवि रोनी सोमेकले पोलिस कवयित्री सिम्बोस्कासित परिचय गराए ।
म पनि भ्रमणका क्रममा पि्रय कवि गोपालप्रसाद रिमालको परिचय ठाउँ-ठाउँमा दिइरहेको हुन्छु । प्रतीकको पछिल्लो अंकमा फ्रान्सका केही कविको अनुवाद छाप्दा कवि एवं अनुवादक पियर जोरिससित न्युयोर्कमा भेट्ने मौका पाएँ । भेट्नेबित्तिकै जोरिसले प्रसिद्ध अरबी कवि अडोनिसको प्रसंग उप्काए । अरेबिया(नट सो) डेजर्टको अन्तर्वार्ता र अंग्रेजी भाषामा अनूदित कविता पढेर म अडोनिसको साहित्य जगत्मा डुबेको थिएँ ।
जहाँ पनि सजिलोसित बोक्न सक्ने र मूल रुपमा नितान्त घुमन्ते स्वरुपको अरबी कविताको उत्पत्ति इस्लाम धर्मभन्दा एक-दुई शताब्दीअघि भएको थियो । सातदेखि दस कविता अर्थात् केही स्तुति (मुअल्लकत) बाट प्रारम्भ भएको अरबी कविता एकनासे लय, छन्द र ढाँचामा रचिएको थियो । यसलाई आठौँ शताब्दीमा अल खलिल बिन अहमदले औपचारिक रुपले संहीताकरण गरेर पूर्णता दिए । जोरिसका अनुसार बाह्रौँदेखि बीसौँ शताब्दीसम्मको केही समयसम्म यस विधाको कथ्य र ढाँचामा कुनै पनि उल्लेखनीय परिवर्तन भएन । बीसौँ शताब्दीमा आएर कवि अडोनिस र उनका समकालीनले यस विधालाई पारम्परिक बन्धनबाट मुक्त गरी अरबी साहित्यमा नौलो सौन्दर्यशास्त्र स्थापना गरे ।
नोबेल पुरस्कारका लागि सदाबहार दाबेदार अडोनिसको जन्म सिरियाको अलविती नामक किसान गाउँमा भएको थियो । गरिब परिवारका भएकाले उनी स्कुल जान सकेका थिएनन् । प्रारम्भिक शिक्षा पिताकै खेतबारीमा प्राप्त गरे । पिता अरबी शास्त्रीय कवि भएकाले उनले पनि कविता लेखन र वाचनमा निपुणता पाएका थिए । सिरियाका तत्कालीन राष्ट्रपति छिमेकी नगरमा आएका बेला अडोनिसले कविता सुनाएर मन जितेका थिए । कवितामा उनले विद्यालय गई पढ्ने इच्छा व्यक्त गरे । राष्ट्रपतिले पछि बालकलाई कार्यालयमा बोलाई छात्रवृत्ति दिए । छात्रवृत्तिकै कारण कलेजसम्म पढ्ने प्रबन्धका साथै विद्यावारिधिसम्म गर्ने मौका मिल्यो । उनले दमास्कस विश्वविद्यालयबाट स्नातक गरे । पछि साहित्यिक पत्रिका शेरको सम्पादन गरी विश्व साहित्यका अनुवाद छापेका थिए ।
ग्रीक देवता अडोनिसको उपनाम लिएर हिँडेका अलि अहमद साउइदले राजनीतिक मतभेदका कारण १९५६ देखि बेरुत र १९८५ देखि पेरिस प्रवास रोजे । पेरिसमा बस्दा आफ्ना रचनामा उनले निरन्तर एकेश्वरवादविरुद्ध उभिएर जीवनमा बहुलताको वकालत गरेका छन् । एउटा नास्तिकले मात्र कविता लेख्न सक्छ भन्ने विचार छ, उनको ।
उनका ९५ प्रतिशतभन्दा बढी कवितामा मुख्य वक्ता स्त्री नै हुन्छन् । स्त्रीलाई पुरुषको हाडबाट थुतिएको भन्ने विश्वास रहेकाले इसाई, इस्लाम र यहुदी धर्ममा पुरुष बहुलताको विरोध छ । फ्रान्सेली कवि मल्लार्मेबाट प्रभावित अडोनिसले आफ्नो किताब मिगरका घुमन्ते गीतमा छन्दरहित लामो गद्य कविता लेखी अरबी कविताको पुनर्लेखन गरेका छन् । उनले यसमा ईश्वरको परिभाषा नै बदलिदिएका छन् र चर्चित व्यक्तित्वको स्तुतिगान गरेका छन् ।
यसमा रक्सी र केटाहरु मन पराउने अबु नुवास, नास्तिक रहस्यवादी सुफी कवि हलाज (कट्टरपन्थीबाट जिउँदै चितामा जलाइएको), इरानी मूलका आठौँ शताब्दीका कवि बसिर इब्न बर्ड (स्वतन्त्र विचारका कारण कोर्रा हिर्काएर मारिएका) र समकालीन राजनीतिक सिरियन स्पि्रङको विरुद्ध लेखिएका रचना समाविष्ट छन् । वर्तमान अभाँ गार्दको तर्ज शैलीले अरब कविताको पुनः लेखनको प्रयास मात्र नभई त्यसको शैली र कथ्यलाई भित्रदेखि पुनर्जीवित गरी नौलो अध्याय प्रारम्भ गरेको छ । अडोनिसको संसारमा नारीको शरीरमाथि इतिहास च्यातिएको छ । अरबी नारीले मात्र अरब संसारमा स्वतन्त्रता दिलाउन सक्छन् भन्ने अडोनिसको विश्वास छ ।
अडोनिसका तीन कविता :
एक्काइसौँ शताब्दीका लागि एउटा ऐना
एउटा शिशुको अनुहार बेरिएको एउटा कात्रो
एउटा किताब
एउटा गाईको आँतबीचमा बसेर लेखिएको
एउटा जनावर फिलिंगो बोकेर हिँडिरहेको
एउटा ढुंगो
सास फेरिरहेको एउटा बहुला मानिसको फोक्सोमा
यति नै हो नि
यही नै हो बीसौँ शताब्दी ।
प्रथम शताब्दी
कवि, ढुंगे ओढारहरूबाट निस्केर आऊ
मुसा, सालामन्दर र जूनकिरीसित बाहिर आऊ
र साक्षी बन्नू ती कविहरूको जो बेनाम पितृभूमिमा बसेका छन्
पितृभूमि जुन सुन्निएको छ लासहरूले
ती कविहरूलाई, जसले घाँसका लागि कविता पढ्ने गरेको छ
बाहिर आउनु र साक्षी हुनु कविताका लागि
पानसहरूपछि आउनेछ पखेटाहरूको गहिरो रसातल
समुद्रपछि, एउटा अपर्झट मृत्यु
उन्मत्तको पर्दापछाडि प्रेमासक्त अस्वीकृति-
मानिस, हामीलाई एउटा भविष्यवाणी गरिदिनुस् ।
अर्बाद, भ्रमहरूकी राजकुमारी
कविताले आफ्ना प्राचीन पानाहरू
बाल्छ, यसको ध्वस्त परेको
नालीबेलीलाई घोडा हिर्काउने कोर्राले
हान्छ ।
भोलिको कविता इन्कारको राष्ट्र
हो । ओहो ! मृत्युका शब्दहरू !
ओहो ! किरियाको कुमारीत्व !
भविष्यको कविताले बाल्यकालको
परेलीले आफूलाई लेख्नेछ ।
यो रुन्छ र प्रार्थना गर्छ, स्तनको
देवत्वका लागि ।
कसका लागि एउटा अशक्त
आगोले काखीको आकारलाई प्रज्वलित गर्छ ? कसका लागि यी मसी र
नोस्टाल्जियाका वर्षे अन्त्येष्टिहरू ? कसका लागि शब्दका घाउहरूले यस
स्त्रीको शुद्धीकरण गरेको ? ओहो, समुद्री सिपीहरूको टापु ! नग्नताको
द्वीप ! पुरुषले पाल्तु बनाउँछ छातीको लोखर्केलाई, खोल्छ पाठेघरको दुर्ग,
एउटा अनुहारविहीन देउता, पृथ्वीको ताज ।
अर्बाद, सिरियाको एउटा नगर
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...