बिर्सिइँदै ठूला अपराध

- माधव घिमिरे/विराटनगर

निर्मला फुयाँलका आँखा दुई वर्षयता ओभाना हुन पाएका छैनन् ।  अझै पनि बेलाबेला कुना बसेर भक्कानिएको देख्दा परिवारका अरू सदस्य पनि आफूलाई थाम्न सक्दैनन् । कसरी थामियोस् मन ?

फूलका कोपिलाजस्ता ८ वर्षे छोरा प्रदीप र १४ वर्षकी छोरी सुष्माको हत्या भएयता ३७ वर्षीया निर्मला मात्र होइन, उनका पति चेतनाथ पनि उस्तै अवस्थामा छन् । श्रीमती र अर्की छोरीलाई सम्हाल्नुपर्ने भएकाले उनी मन थाम्न खोज्छन् ।

दुई वर्षअघि १० असारमा भोजपुरको अरुण गाउँपालिका-३ प्याउलीका उनीहरूका दुई सन्तान र छिमेकी रवीन्द्र सापकोटाका १५ वर्षीय छोरा रञ्जितको एकसाथ हत्या भएको थियो । खेल्न निस्केका उनीहरू भोलिपल्ट गाउँकै एक पोखरीमा तैरिरहेको अवस्थामा मृत फेला परेका थिए । घटनाको प्रकृति हेर्दा हत्या गरेपछि पोखरीमा ल्याएर फालिएको प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरी ठम्याइ थियो । हत्या कसले, किन गर्‍यो, अझै पत्तो लागेको छैन । हत्यापछि फुयाँलको परिवार ६ रोपनी जग्गा र घर छाडेर सुनसरी, इटहरीको हलगडा आएर बसेको छ ।

यो एउटा प्रतिनिधि घटना मात्र हो । घटना अनुसन्धानमा प्रहरी निष्कर्षमा पुग्न नसक्नु अनि दोषी पत्ता नलाग्दा पीडित थाकेका छन् । मोरङको कानेपोखरी-३ हरकपुरमा दुई वर्षअघि मध्यराती घरसहित जलेर परिवारका चार जनाको मृत्यु भयो । कसैले आगजनी गरिदिएको भन्दै आफन्तले उजुरी पनि गरे । सोही आधारमा प्रहरीले अनुसन्धान थाले पनि दोषी पत्ता लाग्ने गरी निष्कर्षमा पुग्न सकेन । न त घटनाको कारण नै प्रस्ट भयो । दसैँ आउन लाग्दा भएको उक्त घटनामा ८६ वर्षीया गंगामाया राई, ५६ वर्षीय छोरा चन्द्रकुमार राई, ४९ वर्षीया छोरी पार्वता तामाङ र ४६ वर्षीया बहिनी विष्णुकुमारी मारिएका थिए । दुईतले घरको चारैतर्फबाट एकसाथ आगो दन्किनु र त्यहाँ रहेका चारै जनाको मृत्यु हुनु रहस्यमय भएको आफन्त र स्थानीयको भनाइ छ । मृतकका आफन्तले शंका गरेका परिवारभित्रैका सदस्य कानेपोखरी-४ का रामबहादुर तामाङ बेलबोटेलाई प्रहरीले त्यसैबेला नियन्त्रणमा लिएर सोधपुछ गरी केही समयमै छाडेको थियो । उनी मृतक पार्वताका पति हुन् । केही शंकास्पद व्यक्तिबारे जानकारी दिए पनि गहिरो अनुसन्धान नहुँदा वास्तविकता पत्ता लाग्न नसकेको मृतक गंगामायाकी छोरी इन्दिरा राईको गुनासो छ ।

गत वर्ष झापाको शिवसताक्षी नगरपालिका-७ लालझोडास्थित एक घरमा राती आगलागी हुँदा परिवारका चार जनाको मृत्यु भयो । यो घटनाको पनि प्रहरीले वास्तविकता बाहिर ल्याउन सकेको छैन । घटनामा जलेर ३४ वर्षीय लक्ष्मण खनाल, उनकी श्रीमती २९ वर्षीया राधिका, ४ वर्षीया छोरी चन्द्रा र ५ महिने नाबालक टीकारामको मृत्यु भएको थियो । काठको दुईतले घरको चारैतर्फ एकै पटक आगो दन्किएको देखेका गाउँलेले त्यसलाई नियोजित आगजनी भएको बताउँदै आएका छन् ।

सामूहिक हत्या घटना सुरुमा सक्रिय रूपमा अनुसन्धान गरिए पनि पछिल्लो समय ध्यान नगएको एक प्रहरी अधिकृत बताउँछन् । प्रदेश प्रहरी कार्यालयका ती अधिकृतका अनुसार काठमाडौँबाट समेत विशेष टोली खटिएर अनुसन्धान गरिँदा स्थानीय प्रहरीले सहयोग गरे पनि फेरि त्यसमा अनुसन्धान गर्ने क्रम घटेको छ ।

प्रदेश १ प्रहरी कार्यालयका अनुसार गत वर्ष प्रदेशका १४ जिल्लामा ४ हजार २ सय ३१ आपराधिक घटना भएका छन् । कार्यालयका अनुसार तीमध्ये हत्याका ७२ र ज्यान मार्ने उद्योगका १ सय १८ थिए ।

ठूला अपराध/सामूहिक हत्या घटनाका दोषी किन पत्ता लाग्दैनन् त ?

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका संस्थापक निर्देशक पूर्वएआईजी राजेन्द्रसिंह भण्डारीका केही तर्क छन् । पहिलो, सामान्यतः सामूहिक हत्या घटनामा प्रत्यक्षदर्शी अभाव हुने गरेको छ । अर्को, यस्ता हत्या आवेशप्रेरित र मनसाययुक्त पनि हुने भएकाले कतिपय घटनामा दोषीसमेत हुने मृतकसँगै यथार्थ कुरा हराएर जान्छ ।

भण्डारीका अनुसार कतिपय घटनामा पेसेवर आपराधिक समूहको संलग्नता हुने गरेको छ । यस्तोमा प्रमाण नष्ट गर्ने गरिएको छ । "कतिपय ठूला घटनाका दोषी लामै समयपछि पनि पक्राउ परेका उदाहरण छन्," भन्छन्, "तर प्रमाण नभेटिने, प्रत्यक्षदर्शी अभाव हुने अनि सम्भावित दसी प्रमाण नरहने गरी नष्ट गर्ने अवस्थामा भने दोषी पत्ता लगाउन सहज हुँदैन ।"

प्रकाशित: आश्विन ५, २०७६