जंगलमा रजाइँ
राजमार्ग उत्तरका वन क्षेत्र धार्मिक र जातीय समुदायको नाममा निरन्तर कब्जा
झापा मेचीनगर–१२ चारआलीमा रहेको नेपाली सेनाको ब्यारेक उत्तरपश्चिमपट्टि प्रगति सामुदायिक वन छ । वन क्षेत्रभित्र एउटा अनौठो किसिमको वरको रूखलाई देवीको रूप मात्र भनिएन, रूखमा पाथिभरा देवीको पाइला रहेको मनगढन्ते कथा रची ११ असोज ०७१ मा ‘पाउ पाथिभरा मन्दिर’ नै खडा गरियो ।
पाउ पाथिभरा मन्दिर बनेलगत्तै बौद्धमार्गीले नजिकै गुम्बा खडा गरे । गुम्बानजिक किराँत समुदायले किराँतेश्वर मन्दिर बनाए । स्थानीय अरू धार्मिक संघ–संस्थाहरूको वक्रदृष्टि पनि वनको जमिनमै छ । केही समयअघि राजवंशी समुदाय, साई धर्मका अनुयायी र नेवार समुदायले समेत मन्दिर बनाउने उद्देश्यका साथ जमिन कब्जा गरेका थिए । तर अहिले उनीहरूलाई हटाइएको छ । वन क्षेत्रमा क्रंक्रिटका संरचना निर्माण गर्न नपाइने प्रावधानलाई बेवास्ता गर्दै तिनै मन्दिर र गुम्बाले त्यस्ता संरचना बनाएका छन् ।
चारआलीको प्रगति सामुदायिक वन क्षेत्र मात्रै कहाँ हो र ! बिर्तामोड–५ को निचाझोडा क्षेत्रमा धिमालको प्राचीन गढ रहेको भन्दै झापाका आदिवासी धिमाल समुदायले भर्खरै मन्दिर निर्माण गरेका छन् । प्रत्येक वैशाखमा समुदायले यही जंगलभित्रको मन्दिरमा कुलदेवता (दन्कावाराङ) को पूजा गर्छन् । अर्जुनधारा–११ मा रहेको वनको करिब शून्य दशमलव ५४ हेक्टर जमिनमा किराँतेश्वर महादेव मन्दिर निर्माण गरिएको जिल्ला वन कार्यालय झापाले जनाएको छ ।
झापाको वन क्षेत्र कसरी धार्मिक अतिक्रमणको चपेटामा पर्दै छन् भन्ने उदाहरण हुन्, यी । जिल्लाका प्राय: वन क्षेत्रमा देवीदेवता, खेलमैदान, हटिया र सुकुम्बासीका नाममा अतिक्रमण जारी छ । पाउ पाथिभरा मन्दिर व्यवस्थापन समितिका सचिव यमनाथ बराल भने कब्जाभन्दा पनि मासिँदै गएको वन जोगाउने उद्देश्यसाथ मन्दिर स्थापना गरिएको दाबी गर्छन् । भन्छन्, “भगवान्को मन्दिर बनाएपछि वन मासिने क्रम रोकिएको छ ।”
वनको जमिनमा पाउ पाथिभरा मन्दिर स्थापना गर्न तत्कालीन प्रमुख जिल्ला अधिकारी एकमणि नेपालले समेत सहयोग गरेका थिए । मन्दिर स्थलको शिलान्यास पनि उनैले गरेका थिए । प्रगति सामुदायिक वनका अनुसार डेढ सय हेक्टरमध्ये करिब ५ हेक्टर जमिन धार्मिक एवं जातीय समुदायले अतिक्रमण गरेर मठ, मन्दिर र गुम्बा बनाइसकेका छन् ।
यो क्षेत्रलाई पर्या–पर्यटकीय स्थलका रूपमा विकास गर्ने सरकारको योजना थियो । सामुदायिक वनले उपखण्डको रूपमा यो क्षेत्र छुट्याएको थियो । त्यो थाहा पाएपछि केही व्यक्तिले भ्रामक कथा रचेर मन्दिर निर्माणको योजना बुनेका थिए । “धार्मिक अतिक्रमण तीव्र छ,” डिभिजन वन कार्यालय भद्रपुरका डीएफओ विष्णुलाल घिमिरे भन्छन्, “धेरै प्रयत्न गर्दा पनि हटाउन सकिएको छैन ।”
पाउ पाथिभरा मन्दिर समितिको दाबी छ– धार्मिक पर्यटकीय गन्तव्यका रूपमा सरकारले छुट्याएको जमिनमा मन्दिर निर्माण गरिएको हो । तर वन कार्यालयको दाबी छ, धार्मिक पर्यटकीय गन्तव्यको नाममा जमिन छुट्टिएकै छैन । जिल्लाको कुल वन क्षेत्रमध्ये १५ दशमलव ८५ प्रतिशत जमिन मठ, मन्दिर र गुम्बाका नाममा अतिक्रमण भइरहेको छ । खासगरी राजमार्ग उत्तरका वन क्षेत्र सबभन्दा बढी अतिक्रमणको चपेटामा छन् । धार्मिक र जातीय समुदायबाट भएको वन कब्जा राजनीतिक दलको छत्रछायामा हुने गरेका छन् ।
धार्मिक स्थल धनुषकोटिधाम र सताक्षीधाम मन्दिरले पनि वनको जमिन ओगटेको वन कार्यालयले जनाएको छ । कनकाईस्थित कोटिहोम क्षेत्र पनि कुनै समय वन क्षेत्र थियो । अहिले मन्दिरै मन्दिर छन् । डीएफओ घिमिरे भन्छन्, “यो क्षेत्र पनि कुनै समय वनकै थियो भनेर पत्याउनै मुस्किल छ ।” विगतमा झापामा करिब ६० प्रतिशत जंगल थियो । अहिले त्यो घटेर ११ दशमलव २४ प्रतिशतमा खुम्चिएको छ ।
बाहुनडाँगीस्थित तेलपानी सामुदायिक वनको जमिन ओगटेर बसेका केही परिवारलाई वनले गत वर्ष हटाएको थियो । हालै चारआली जंगल ओगटेर बसेका चार घर र खेलमैदानसमेत हटाइएको छ ।
झापामा ०२८ देखि वनको जमिन अतिक्रमण हुन थालेको जिल्ला वन कार्यालयको दाबी छ । मेचीनगर, अर्जुनधारा, बुद्धशान्ति, राजगढ, कमल गाउँपालिका, शिवसताक्षी, कन्काई, दमक र भद्रपुर क्षेत्रको १ हजार ६ सय ४९ दशमलव ६८ हेक्टर जमिन सुकुम्बासीका नाममा अतिक्रमित छ । डीएफओ घिमिरे भन्छन्, “अतिक्रमण हटाउन राज्यले तत्काल नीति बनाएर कार्यान्वयन गर्नु जरुरी छ ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...