भाइ, तँ गइस् !
कहिलेकाहीँ मानिस आवाज खोसिए जसरी मृत्युको बबन्डरलाई चुपचाप हेरिरहन अभिशप्त हुन्छ । दशा लागेका बेलामा आफ्नै छायाले पनि तर्साउँछ मान्छेलाई ।
कहिलेकाहीँ मानिस आवाज खोसिए जसरी मृत्युको बबन्डरलाई चुपचाप हेरिरहन अभिशप्त हुन्छ । दशा लागेका बेलामा आफ्नै छायाले पनि तर्साउँछ मान्छेलाई । झारपात पनि विषालु बन्छ । कीराफट्यांग्रा पनि यमराजको रुप धारण गरेर आउँछन् । जीवन कमजोर धागोमा झुन्डिएको गह्रौँ सपनाझैँ, सानै हावाको झोक्काले चुँडिएर चकनाचुर बन्न सक्छ ।
०५६ असोजको कुरा हो, यो । घाम उदाए जसरी नेपाली आकाशमा दसैँ उदाउँदै थियो । लेखनाथ बाले भनेजस्तै हिलोमैलो हटिसकेको थिएन । आनन्दको वर्षा पनि भइरहेको थिएन । बरु घाम र झरीको लुकामारी चलिरहेको थियो । झरी पाकेको मकैको दुस्मन थियो तर भर्खर नुहिन लागेको धानका लागि भने अमृत । मकै भाँचेर झुत्ता बाँधेर थांग्रो नहालेसम्म दसैँको चहलपहल आउँदैनथ्यो । मकै थन्काएर पाट चुट्नु थियो । बाबियो काट्नु थियो । लठारो बाट्नु थियो । कैँची बाँध्ने डोरी र गरालोको जोहो गर्नु थियो । सकेसम्म घरबारी खनेर मूला-तोरी-रायो छर्नु थियो । खेतमा धान बल्ल नुहेको थियो । धान थन्काउने चटारोले दसैँमा थप बोझ पर्नेवाला थिएन । यो ठूलाबडाको तानाबाना थियो ।
भुराहरुको तनाव अर्कै थियो । दसैँ सँगसँगै जाँच पनि आइरहेको थियो । दसैँ आएको रमाइलोलाई जाँच आएको नरमाइलोले छोपिरहेको थियो । उज्यालो जूनलाई अँध्यारो ग्रहणले छोपेजस्तो । घटस्थापनालाई जाँच सकिने गरी रुटिन निकालेका हुन्थे स्कुलहरुले । जाँच सकिएपछि मात्रै लुगा, जुत्ता, र चंगाको अध्याय सुरु हुन्थ्यो । लुगा, जुत्ता र चंगा आफ्नो वशका कुरा थिएनन् । त्यसका लागि पैसा चाहिन्थ्यो । पैसा मात्रै भएर पनि नहुने । बुबाआमाको फुर्सद पनि चाहिन्थ्यो । कहिलेकाहीँ फुर्सदले मात्रै पनि काम नहुने । मुड पनि चाहिन्थ्यो । त्यसमाथि बाटो काट्नै लाग्दा जेब्रा क्रसिङमा रातो बत्तीजस्ता विभिन्न सर्त तेर्सिएका हुन्थे । यसपालिको जाँचमा यति नम्बर ल्याइस् भने दसैँमा यो वा त्यो किनिदिउँला टाइपका ।
भुराहरुले आफैँ गर्न सक्ने केही काम पनि थिए । जस्तो, रुख चढेर सोइसेला खेल्ने । लहरामा झुन्डिएर पिङ खेल्ने । घरबाट पाट चोरेर वा कसैको बारीबाट बाबियो ल्याएर डोरी बाट्ने । ती डोरीबाट रुखका हाँगामा पिङ हाल्ने । बाक्लो थोत्रो चप्पल काटेर लट्टाई बनाउने । प्लास्टिकबाट चंगा बनाउने । कालीमाटी र चिम्टे माटो खोजेर मोटर गाडी बनाउने । यी सबै गर्न पनि त्यति सजिलो थिएन । मिलाएर बनाउन सबैको ढंग पुग्दैनथ्यो । एउटा खुबीवाल केटो वा केटीले यी सबै कामको नेतृत्व लिनु जरुरी थियो ।
हो, यस्तै काम गर्ने एउटा केटो थियो- हाम्रो संयुक्त परिवारको रोशन । जनक तिमिल्सिना, वर्ष १३ । हाम्रा माहिलो बुबाको छोरा । साथीहरुलाई हँसीमजाक गरेर रमाइलो दिने । कहिले हौस्याउने । कहिले अलिअलि घुर्काउने । सबैको प्यारो । ठूलो टाउको । फराकिलो निधार । मिलेका दाँत । काला, गाढा र ठूला आँखा । कालोकालो वर्णको मुखमण्डल । बढाइचढाइ कुरा गरेको होइन । साँच्चै, उसको स्माइल नै किलिङ थियो । ११-१२ वर्षको उमेरमै हिरो देखिने ।
उसको एउटा बानी नराम्रो थियो । बेलामौकामा दाहिने हातको चोरी औँला चुस्थ्यो- बाछाले माउको थुन चपचप पारे जसरी । ऊ दूध कटुवा थियो । ऊ जन्मिएको १८ महिना नपुग्दैमा बहिनी जन्मी । आमाको दूध नपाए पनि उसलाई गाईभैँसीको दूधको कहिल्यै कमी भएन, न त पारिवारिक मायाको । गोठमा जहिले पनि ३-४ वटा भैँसी लैना हुने । २०-२२ जनाको संयुक्त परिवार । ८-१० जना त भुराभुरीकै जमात । खायो, चल्यो, उफ्रियो, रमायो । हाम्रो मिलिजुली परिवारको जिन्दगी उत्सवमय थियो ।
०५६ सालमा ऊ ६ कक्षा पढ्थ्यो । घटस्थापनाको अघिल्लो दिन थियो सायद । त्यही दिनबाट उसको जाँच सकिएको थियो । किशोर समूहले स्कुलबाट फर्किंदा नै पिङ हाल्ने योजना बनायो । प्रायः फूलपातीका दिन बा र काकाहरु नै लिंगे पिङ हाल्दिनुहुन्थ्यो । फूलपातीसम्म कसले कुरोस् ! जनकको नेतृत्वमा पिङ टोलीको निर्माण भयो । पिङ हाल्ने उपयुक्त रुखको खोजीमा १०-१२ जना निस्किए । घरदेखि अलि माथि हाडेगेडीका दुई अजंगका रुख थिए । उपयुक्त हाँगो ठम्याउन जनक रुख चढ्यो । हाँगा पन्छाउँदै माथि पुगेपछि उसले अरिंगालको गोलो देख्यो । ए भागओ ! भागओ ! यहाँ अरिंगालको गोलो रहेछ । अरु भाग्न थाले । ऊ के गरोस् ! अरिंगालहरु ऊमाथि खनिन सुरु गरिसकेका थिए । जसोतसो ऊ रुखबाट फाल हान्यो । सँगसँगै अरिंगालको गोलो पनि ऊमाथि बर्सियो । ऊ रोयो, करायो चिच्यायो । जे होस्, उसले अरुलाई भगायो । भाग्दाभाग्दै पनि अरु १०-१२ जनालाई टोकिहाल्यो । क्रन्दन सुनेर बुबा र काकाहरु पुग्नुभयो । उसलाई घर ल्याएर पिँढीमा सुताइयो । जतिसक्यो छिटो अस्पताल पुर्याउनुपर्ने हुँदा एम्बुलेन्सलाई फोन गरियो ।
एम्बुलेन्स आएन । त्यस दिन उपत्यका बन्द थियो । देशमा जनयुद्ध जारी थियो । बन्द, हड्तालको हिसाबकिताब थिएन । सहरमा एउटा सरकार थियो, जंगलमा अर्को । हामीलाई सहरको सरकारमाथिको भरोसा भत्किसकेको थियो । बरु जंगलको सरकारमाथिको भरोसा भर्भराउँदो भएर आएको थियो । टायर, धुवाँ र अवरोध । त्रास, अत्यास र अनिश्चितताका साथमा सडक धुवाँमय थियो । भक्तपुरबाट हाम्रो गाउँ सुडालसम्म पुग्न करिब ५ किलोमिटरको कच्ची, साँघुरो र जर्जर सडक थियो । एक हिसाबले सडक नै बिरामी थियो । मेरो घरसम्म त मोटर पनि पुग्दैनथ्यो । तात्कालिक सुडालको निधारमा एउटा ट्याग पनि लगाइएको थियो । पुलिस आर्मीको नजरमा उपत्यकामा सबभन्दा बढी माओवादी भएको गाउँ सुडाल थियो । सुडाल ब्ल्याक लिस्टमा छ भन्ने सुनिन्थ्यो । सेनाले घरघर छिरेर बेलाबेला खानतलासी गरिरहन्थ्यो ।
आउन सक्ने ठाउँसम्म पनि एम्बुलेन्स आएन । स्ट्रेचरमा हालेर अस्पताल कुदाइयो । नजिकैको भक्तपुर अस्पताल पुर्याउन जति छिटो हिँडे पनि डेढ घन्टा लाग्थ्यो नै ।
यी सबै घटना हुँदा म भने घरमा थिइनँ । दिउँसो ४ बजेतिर भक्तपुर अस्पताल पुर्याइएछ । अस्पतालले यहाँ उपचार हुँदैन कान्ति लैजानू भनेछ । सडकमा आगो बलिरहेकै थियो । अवरोध कायम नै थियो । जसोतसो एम्बुलेन्समा हालेर कान्ति लैजाने तर्खर भएछ । जनकले जतिखेर पनि 'पानी पानी' भन्ने रहेछ तर त्यहाँका डाक्टरले पानीचाहिँ कुनै हालतमा पनि नदिनू भनेका रहेछन् । मेरा कान्छा काका अहिले पनि भन्नुहुन्छ- 'जनकले पटक-पटक प्लिज मलाई पानी दिनु । प्लिज ! प्लिज ! प्लिज ! भनेर धेरैचोटि बाटोभरि याचना गरिरह्यो रे ।
कान्ति पुर्याएको एकछिन पछाडि ऊ कराउन, चिच्याउन छाड्यो । उसले पानी पनि मागेन र प्लिज ! प्लिज ! भनी याचना पनि गरेन । उसको सास बन्द भइसकेको रहेछ । यसरी दसैँको मुखमा अरिंगालको आक्रमणले हामीले परिवारको एउटा प्यारो सदस्य गुमायौँ । हामी लाचार बनेर उसको मृत्युलाई हेरिरह्यौँ । सायद उसलाई त्यही एक दिन दुःख र पीडा भयो । हामीलाई जुनीभरका लागि उसको पीडा सरेको छ । प्रत्येक वर्ष दसैँसँगै हाम्रो घरमा एउटा पीडादायी स्मृतिले प्रवेश गर्ने गर्छ ।
यस्तो लाग्छ, यो असोज महिना नआए पनि हुने । २० गते त झन् आउँदै नआए हुने । तर हरेक साल यो आउँछ ।
हे मेरो भाइ ! तँ त गइस् । तैँले अल्पायुमा छाडेर गएका सम्झनाका असंख्य अरिंगालहरुले हामीलाई अझै पनि डसिरहेका छन् ।
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...