‘राजनीति सबैखाले अपराधको केन्द्रबिन्दु बन्यो’
नैतिक पतन, राजनीतिमा आपराधीकरण र गुन्डागर्दीको प्रयोग र त्यसैको पृष्ठभूमिमा शक्तिशाली र प्रभावशाली नेताहरूको सहभागिता नयाँ घटना होइन ।

दसैँको पारिवारिक जमघटका बेला सभामुख कृष्णबहादुर महरा जोडिएको नैतिक विचलनको खबरले प्रधानता पाइरह्यो । त्यो खबर सेलाउन नपाउँदै कांग्रेसका अर्का सांसद मोहम्मद आफताब आलमबारे जे खबर बाहिरियो, त्यसले मानिसलाई हिंसा र आतंकको त्यति क्रूर रूप पनि हुँदो रहेछ भनी मूल्यांकन गर्न बाध्य बनायो । राजपा सांसद प्रमोद साह जनकपुरमा विमानस्थल काउन्टर तोडफोड गरेको आरोपमा समातिए । नेकपाका अर्का सांसद पार्वत गुरुङ त्यस्तै हत्या उद्यमको घटनासँग जोडिए, जसबारे न्युज ब्रेक हाम्रै म्यागजिनले गरेको थियो । कांग्रेस सांसद देवेन्द्रराज कँडेलको नागरिकता हैसियतबारे विभिन्न समाचारहरू प्रवाहित भइरहेका छन् ।
प्रदेश सांसदहरू एकपछि अर्को गर्दै समातिने, कारबाहीको दायरामा आउने शृंखला बढ्दो छ अनि माननीय नभनिए पनि बैतडीको डोजर काण्डमा अन्तत: सत्तारुढ नेकपाकै स्थानीय नेताहरू जोडिएको प्रसंग दृश्यमा खुल्न आएको छ । यसले पछिल्लो राजनीतिक परिवर्तनका लागि लडेका शक्तिहरूप्रति आममानिसमा कस्तो खालको धारणा बन्न सहयोग पुर्याउँछ ?अनि समग्र राजनीतिप्रति कस्तो खालको सन्देश प्रवाह गर्छ ? दलहरूले यसबारे गम्भीर भएर सोच्ने बेला आइसकेको छ कि छैन ? यदि सोच्ने हो भने अब गर्नुपर्ने काम के के हुन् ? नेपाल म्यागजिनको राउन्ड टेबल ‘माननीयको मान किन गिर्दो ?’ मा वक्ताहरूका धारणाको सम्पादित अंश :
शक्तिशालीहरूको संरक्षण छ
रामकुमारी झाँक्री, नेकपा सांसद
राज्यको शक्तिशाली ठाउँमा रहेका र राज्य संरचनाले संरक्षित मान्छेहरूले यस्ता आपराधिक क्रियाकलाप राजनीतिक रङमा गरेको यो पहिलोपटक होइन । गौर हत्याकाण्ड, लहान हत्याकाण्डबारे अहिले पनि हामी प्रश्न उठाउन सकेका छैनौँ । नैतिक पतन, राजनीतिमा आपराधीकरण र गुन्डागर्दीको प्रयोग र त्यसैको पृष्ठभूमिमा शक्तिशाली र प्रभावशाली नेताहरूको सहभागिता नयाँ घटना होइन ।समग्रमा हाम्रो राजनीतिक मूल्य मान्यतामा ह्रास आएको भन्दिनँ तर नैतिक मूल्य घटेको पक्कै हो । सोसल मिडिया खोलेर हेरौँ, केही शक्तिशालीको संरक्षणमा रहेका व्यक्तिहरू विभिन्न चारित्रिक मामिलामा नमुछिएका छन् र ? तिनका बारे कुनै अखबारमा समाचार छापिएका छन् र ? तिमी फलानो दलको कार्यकर्ता तिमी किन बोल्दैनौ भन्ने प्रश्न हामीलाई पनि आउँछ । यस्ता विषयले राजनीतिक रङ लिए भने अपराधीले उन्मुक्ति पाउँछन् । त्यसकारण म बोल्दा धेरै कुरा राजनीतिकरण हुन्छ कि भनेर म कहिलेकाहीँ बोल्ने कुरामा हतार गर्दिनँ । आपराधिक घटनालाई राजनीतिक र रङ दिएर त्यसलाई विषयान्तर गर्ने र वास्तविक अपराधीतर्फ नगएर अन्यलाई कारबाही गर्ने पनि हुन सक्छ ।
कानुनले देख्न थाल्यो
प्रदीप पौडेल, कांग्रेस नेता
संसदीय व्यवस्था अँगालेका देशहरूमा जनप्रतिनिधिलाई माननीय भन्ने चलन छ । तर, माननीयहरूले आफ्नो मर्यादा कायम राख्न सक्नुभएन । हाम्रो राजनीतिमा ‘मनी’, ‘मसल’ र ‘म्यानुपुलेसन’ को प्रभाव भएकाले यस्तो खालको स्थिति उत्पन्न भएको हो । सकारात्मक ढंगले कसरी पनि हेर्न सकिन्छ भने अत्यन्त शक्तिशाली मानिस पनि कानुन विपरीत चल्यो भने उसले आफूलाई नैतिक धरातलमा उभ्याउन सकेन भने रातारात सकिँदो रहेछ । कानुनले अत्यन्त शक्तिशाली मानिसलाई पनि छाडेन भनेर पनि हेर्नुपर्छ । कुनै पनि विषय आउने बित्तिकै त्यसलाई निष्पक्ष ढंगले छानबिन गरिनुपर्छ । छानबिन गरेर त्यस्तो घटनामा जोडिएका व्यक्तिहरू दोषी ठहरिएको अवस्थामा जुनसुकै पार्टीमा जोडिए पनि वा शक्तिशाली पदमा रहे पनि त्यस्ता व्यक्ति कारबाहीको भागीदार हुनुपर्छ । यस्तो समाजमा दण्डहीनताको स्थिति अन्त्य हुन्छ । समाजमा अरु कसैले त्यस्तो गर्ने प्रयास गर्दैन । समाजले देखिरहने तर कानुनले नदेख्ने अवस्थाभन्दा कानुनले पनि देख्ने अवस्था उचित हो ।
राजनीति ‘लाजनीति’ भयो
रञ्जु दर्शना, नेत्री, विवेकशील नेपाली
५० को दशकपछि जन्मिएकाहरूले सांसदका रूपमा ६ सय १ सुनेका हुन्, चिनेका हुन् । ६ सय १ सांसद, पहिलो संविधानसभा, दोस्रो संविधानसभा हुँदै संघीय संरचनामा आइपुग्दा सुटकेस बुझाएर सांसद पद किनेको कुरा सुन्दै आएको भएर पनि माननीयहरू मुछिएका विभिन्न घटना भयंकरै हुन् भन्ने लागेको छैन । बरु यो हेर्दा अहिलेसम्म गरिएको ‘राजनीति’ थियो कि ‘लाजनीति’ भन्ने प्रश्नचाहिँ आउँदो रहेछ । हामीले कसलाई हेरेर राम्रो कुरा सिक्ने भन्ने प्रश्न आउँछ । हाम्रो दैनिकी परिवर्तन गर्ने नीतिलाई कार्यान्वयन गरे मात्र जनताले माननीय भन्छन् ।
तर यस खालका घटनाले जनतालाई ‘फ्रस्टेड’ बनाउँछ । अरु पनि धेरै मुद्दा उठाउनुपर्ने होला तर माननीयहरूकै यस्ता समाचार आएपछि कसैलाई पनि खुसी लाग्दैन । निष्पक्ष छानबिन त हुनुपर्यो तर त्यही निष्पक्षतामा हस्तक्षेप गरेकाले माननीयहरूको मान गिरेको हो । अहिले आएका कुरा त नैतिकताका सन्दर्भमा आएका छन् । तर ससाना कुरामा पनि उहाँहरूको हस्तक्षेप हुन्छ । कोही जेल पर्यो भने छुटाउन माननीयज्यूहरूकै फोन जाने कुराहरूले नै ठूला घटनाका लागि बाटो खोलिदिएका हुन् । राजनीति ‘लाजनीति’ भयो ।
शक्ति र अपराधको सम्बन्ध
अजयभद्र खनाल, विश्लेषक
पैसा नहुने र गुन्डाहरू प्रयोग गर्न नसक्ने मानिस राजनीतिमा सफल हुन सक्दैन । प्राकृतिक स्रोतसाधन बालुवा गिट्टी, माटो, वन आदि लुट्न नसक्ने मानिस राजनीतिमा टिक्न सक्दैन । यस्तो प्रवृत्ति जहिलेसम्म रहन्छ र यसका आधारमा कोही राजनीतिमा रहिरहन्छ, यस्ता प्रवृत्ति दोहोरिरहन्छन् ।
दोष कसको ?
रामकुमारी झाँक्री
विश्वविद्यालय, स्कुल, व्यवसाय वा सार्वजनिक क्षेत्रमा एकप्रकारको आफूले नकमाएको सम्पत्ति खाएर मस्ती गर्ने र आर्जन नगरेको सम्पत्तिबाट बाँच्ने मानिसहरूको संख्या ठूलो छ । चाहे त्यो कमिसनको कुरा होस् वा दलालीको । जब हामीले मत दिँदा नैतिक मूल्य बिर्सन्छौँ र यस्ता आपराधिक मनोवृत्ति भएका मानिसलाई वाहवाही गर्छौं, तब अपराधहरू झन् बढ्छन् । र, यस्ता पात्रहरूको बोलवाला हुन्छ । यसमा समाज, व्यवस्था, नागरिक समाज, मानवअधिकारवादी, मिडिया सबै चुकेका छन् ।
प्रदीप पौडेल
हामीले संविधान बदल्यौँ, व्यवस्था बदल्यौँ तर प्रवृत्ति बदल्न सिकेनौँ । ठ्याक्कै इंगित गरेर भन्न गाह्रो छ तर राजनीतिक दलहरू पनि यसमा दोषी छन् । मुख्य रुपमा हामीले नीतिको नेता बनाउन सकेनौँ । प्रतिनिधिसभामा निर्वाचित हुन नीतिको नेतृत्व गर्नका लागि हो । तर हाम्रा माननीयहरू चारित्रिक प्रश्नबाट घेरिनुभएको छ, आपराधिक घटनामा मुछिनुभएको छ । जसरी पनि चुनाव जित्ने, माननीय बन्ने, संसद भवनमा पुग्ने, मन्त्री बन्ने, त्यसका लागि चुनाव जित्ने प्रवृत्ति छ । यसले के देखिन्छ भने जनताले ‘उक्त व्यक्तिले मेरो प्रतिनिधित्व गर्न सक्छ कि सक्दैन ? ऊ किन चुनाव लड्दैछ ?’ भन्ने हेरेकै छैन । राजनीतिक तहबाट पनि हेरिँदैन । वर्षौँदेखि राजनीति गरिरहेका, वैचारिक रुपमा स्पष्ट र नैतिकवान मानिस किन चुनाव जित्दैन भने ऊ यस्ता काममा कमजोर छ । विषय गुपचुप हुनुभन्दा बाहिर आएर अनुसन्धान भएर छानबिन हुने र दोषीलाई कारबाही हुने कुरा राम्रो हो ।
रञ्जु दर्शना
जसको राजनीतिक उठबस छ, उसलाई भाउ दिने तर जो इलम गरेर खान्छ, उसलाई भाउ नदिने सामाजिक प्रवृत्ति छ । यसमा परिवर्तन आएन भने हाम्रो पुस्ताले मात्र होइन, हामीपछिको पुस्ताले पनि यसैलाई निरन्तरता दिनुपर्ने बाध्यता हुन्छ । अर्को कुरा आम नागरिकले अपराधबारे किन बोल्न सक्दैन ? किन बोल्दैन ? भन्दा उसले बोलिहाल्यो भने सुरक्षाको अनुभूति कतैबाट पनि हुँदैन । यदि कसैले उजुरी गर्छ भने ऊ सुरक्षित हुनुपर्छ । आफू नै मरेर प्रश्न उठाउने कुरा सायद सम्भव नहोला । आफूलाई सुरक्षा दिने संस्थाहरूकै विश्वसनीयताको खडेरी हुँदा ‘तैँ चुप मै चुप’ को अवस्था छ । तेस्रो, लहरो तान्दा पहरो घर्किने खतरा पनि छ । लहरो तानेर पहरो घर्काउन भन्दा विकास र समावेशिताको कुरा गर्न सजिलो छ । त्यसैले नैतिकताको कुरा अझ धेरै वर्षसम्म उठाइँदैन जस्तो मलाई लाग्छ । केहीले उठाइहाले पनि उनीहरू ‘माइनोरिटी’ मा पर्छन् । यो विषय किन पनि सम्वेदनशील छ भने अदालतसम्म पनि मानिसहरूको विश्वास छैन । अदालत, संसद, प्रहरी जस्ता संस्थाहरूमाथि नै आमजनताको विश्वास उड्न थालेको अवस्थामा गम्भीरतापूर्वक सोच्नुपर्ने अवस्था छ ।
अजयभद्र खनाल
पहिले राजनीति गर्नका लागि पैसा चाहिन्थ्यो, अहिले पैसा कमाउनका लागि राजनीति गर्ने प्रचलन बढ्दो छ । नेपालमा अहिले प्राकृतिक स्रोतसाधन दोहनको अर्थतन्त्र वार्षिक दुई खर्ब बराबरको छ ।सम्भ्रान्त राजनीतिज्ञहरूसँगको संघर्षमा जनता बलियो भएमा मात्र यस्ता घटनाहरू न्यूनीकरण हुन्छन् । निर्वाचन प्रणालीमा पनि सुधारको आवश्यकता छ ।