खप्तडको खर्कबास

- - मोहन बुढाऐर

बाजुरा, काँडाका ८१ वर्षीय बजिरे रावलको जुनी खप्तडमा भैँसी चराएरै बित्यो । सात वर्षको उमेरमा जिजुबुबाले पहिलोपल्ट उनलाई खप्तड उकालेका थिए । त्यसपछिका केही वर्ष बुबाआमाका साथ खप्तड खर्क बसे । भन्छन्, "१७ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएपछि श्रीमतीका साथमा हरेक बर्खा खप्तड खर्क उक्लिन सुरु गरको हुँ ।"

बझाङ, बाजुरा, डोटी र अछामको छानो खप्तडमा स्थानीयले जेठदेखि असोज अन्तिमसम्म खर्क (गोठ) थाप्छन् । तुषारो पर्न सुरु भएपछि मात्रै खर्कबाट घर र्फकन्छन् । "खप्तड फेदी घर भएका स्थानीयको खप्तडमा खर्क चार-पाँच सय वर्ष पहिलैदेखिको हो," वृद्ध गोठाला रावल थप्छन् ।

रावलका अनुसार यहाँ अहिले पनि सय वर्ष पुराना पुख्र्यौली पक्की खर्क छन् । पहिला दुई हजारभन्दा बढी भैँसी चर्थे । गाईगोरु, बाख्रा-भेडाच्यांग्राले फाँट भरिभराउ हुन्थ्यो । ५-७ सय गोठाला हुन्थे । अहिले गोठाला र भैँसी दुवैको संख्या घटेको छ ।

"उतिबेला संयुक्त परिवार हुन्थ्यो । घरको एक जोडी खर्क बस्न आउँथ्यो," रावल भन्छन्, "केही घरमा भोटे ताल्चा लगाएर लालाबालासहित खप्तडमा भैँसी चराउन ल्याउँथे । एक प्रकारले गाउँको बसाइँ सथ्र्यौं ।" तर अचेल घरको एक जना मात्रै खर्क बस्न आउने गरेकाले गोठालाको संख्या घट्दै गएको हो ।

केदार ढुंगा


पहिले-पहिले भैँसी नपाल्ने परिवार हुन्थेनन् । गाउँमा जसका धेरै भैँसी हुन्थे, उही धनी मान्छे कहलिन्थ्यो । गाउँघरबाट कामका लागि भारत जान सुरु भएदेखि भैँसीपालन र खप्तड खर्क बसाइ घटेको रावलको अनुभव छ । सुनाउँछन्, "त्यसताका भैँसीको घिउ बेचेर घर चल्थ्यो । खर्कका चार महिनामा दस टिना (टिनको बक्स) घिउले भरिन्थ्यो । एक टिनामा १५ देखि २० किलो घिउ भरिन्थ्यो । खर्कबाट र्फकेपछि तिहारका लागि महिना दिनसम्मको लामो पैदल यात्रा भारतको पिथौरागढ, झुलाघाट, लुहाघाट, चम्पावत र टनकपुर सीमावर्ती बजारमा बिक्री गरिन्थ्यो । त्यहीँबाटै वर्ष दिनका लागि लुगाफाटा र नुन ल्याउने चलन थियो ।"

अहिले घिउ बेच्न भारत जाने चलन हटिसकेको छ । जिल्ला सदरमुकाम चैनपुरमै घिउ बेच्छन् । उतिबेला हरेक परिवारले ३-४ वटा किलामा भैँसी पाल्थे । रावलसँग मात्रै १० किला अर्थात् १० वटा भैँसी थिए । अहिले उनीसँग ४ वटा भैँसी छन् । "खर्कको रमाइलोले बुढ्यौली उमेरसम्म छाडेको छैन," उनी भन्छन्, "नातिनातिनाको उमेरै पुग्यो, खर्क बस्ने । मेरो त कुनै जरुरी थिएन, भैँसी गोठालो हुनुपर्ने तर रहरले नै खिचेर ल्याउँछ ।" नथन्किँदासम्म खप्तड खर्क नछाड्ने उनको अठोट छ । दुई दशकदेखिको घंघारुको लौरो देखाउँदै रावल भन्छन्, "६० कटेपछि खप्तड उक्लिने सहारा यही हो ।"

खर्कमा देउडा

वृद्ध रावललाई खप्तड खर्कको जिन्दगी रमाइलो लाग्नु देउडा-मोह पनि हो । उनी जहिलेदेखि खप्तड खर्क बस्न थाले, त्यतिबेलादेखि देउडा खेले । खर्क बस्न आउने चारै जिल्लाको यहाँ दिनरात -२४ घन्टे) देउडा खेल हुन्छ ।

खप्तड खर्कमा ५५ वर्षीय अमृतबहादुर रावल पनि भेटिए । बझाङ, छान्नाका रावल पनि सानैदेखि बर्खाका ४ महिना खर्क बस्दै आएका छन् । "खर्कको बास रमाइलो हुन्छ," रावल खुसी सुनिन्छन्, "खर्कमा बस्ने गोठाला-गोठाली रमाइलो गर्न देउडा खेल्छन् ।" उनका अनुसार दिनरातको देउडा चल्छ ।

बजिरे रावल


अविवाहित गोठाला-गोठालीको देउडामै चिनजान भएर विवाह हुने गरेको अमृत बताउँछन् । "अहिले पहिलाजस्तो लामो देउडा चल्दैन । अहिले खर्क बस्न पुरानै उमेरका बढी आउने भएकाले त्यहाँबाटै विवाह पनि कमै हुने गरेको छ । वातावरण पनि उहिलेजस्तो छैन," अमृत थप्छन् ।

उनका अनुसार खप्तडमा नयाँ मान्छे गंगा दशहराको मेलामा मात्र देखिन्थे । चालीसको दशकपछि यहाँ पल्टन बस्यो । "पल्टन बस्यापछि खप्तडको सत्य पनि उड्यो," बझाङ छान्नागाउँका ७१ वषर्ीय मनिराम उपाध्याय भन्छन्, "०१५ सालमा पहिलोपल्ट खप्तड देखेको थिएँ । मेरा बुबा खप्तडमा पूजा लगाउँथे ।"

सत्य, शक्ति र छल

खप्तड स्वामीका निकट भएर धेरै वर्ष बसेको दाबी गर्ने उपाध्याय हरेक वर्ष गंगा दशहरा मेला हेर्न आउँछन् । हेर्दाहेर्दै खप्तड दूषित भइसकेको उनको अनुभव छ । "पहिला यहाँ भात पकाउन्नथ्यौँ, खसीबोका काटिन्नथ्यो," उनी भन्छन्, "यो शिव-पार्वती र भगवतीको बास बस्ने ठाउँ हो । यहाँ साक्षात देवीदेवताको दर्शन हुन्छ ।"

उपाध्याय खर्कका गोठालाले साक्षात देवीदेवताको स्वरूपलाई कैयौँ पटक देखेको दाबी गर्छन् । "कैयौँ पटक देवीदेवताको प्रत्यक्ष स्वरूप देखिएको आभास मलाई पनि भएको छ," उनको दाबी छ, "भिक्षु स्वरूप गेरु वस्त्र लगाएका ऋषिहरू त्रिवेणी तट, केदारनाथ ढुंगाछेउ, पाटनका थुम्कामाथि योग तटमा बसेको देखेको छु ।"

अर्का गोठाला प्रेम रावलका अनुसार पहिला खप्तडमा छल पनि हुन्थ्यो । त्रिवेणीमा सुन्दर महिला सेतो वस्त्र लगाएर नुहाएको र पाटनमा फुलेका रंगीचंगी फूल टिपेको दृश्य गोठालालाई भान पथ्र्यो । हरेक सन्ध्याकालीन समय शंख बजेको, वरपरको जंगलमा पन्चेबाजा र गजरा बजेको सुनिन्थ्यो । कहिले खर्कभित्र दही जमाएको ठेकीमा मही देखिन्थ्यो । कहिले मही बनाउँदा नचिताएको घिउ लाग्थ्यो । कहिले चराउन गएका भैँसी दिउँसै खर्कमा देखिनेजस्ता अनेक छल हुन्थ्ये ।

गाईगोरु, भैँसी, भेडाच्यांग्रा–बाख्रा चराउँदै 


भगवान्को छिटा परेको यो ठाउँ दूषित भइसकेको उनको पनि कथन छ । "खप्तडमा खुन (रगत) देखाउनै हुन्नथ्यो," उनी भन्छन्, "सहस्र लिंग, केदारनाथको ढुंगामा गाई दूधको धारा बगाउँथे गोठालाहरू ।" दूधले शिला सेताम्य हुन्थ्यो । भन्छन्, "४-५ सय गोठाला परिवारले एक लिटर दूध केदारनाथ ढुंगामा बगाउँदा कति धरै बग्थ्यो होला ? आफैँ विचार गर्नुस् ।"

खप्तडमा त्रिवेणी, सहस्र लिंग, सीतापाइला, नागढुंगा, केदारशिला, खप्तड दह, दिदीबहिनी हरिना चरो र खप्तड बाबा आश्रम स्थानीयका पूजनीय स्थल हुन् । पल्टन बसेपछि सबैथोक हराएको प्रेमको दाबी छ । उनका अनुसार यहाँको शक्ति विलयसँगै खप्तड फेदीका स्थानीयलाई समेत राम्रो भएको छैन ।

पैसाको लोभमा परेर खप्तड पुज्ने चलन तोडेर स्थानीय आफैँले पल्टनलाई खसीबोका र मेलामा मासु बेच्ने काम गर्न थालेको उनको गुनासो छ । "जथाभावी सुरु भएपछि स्थानीयको संस्कार, संस्कृति, रीतिथितिमा असर परेको छ," उनी भन्छन्, "सुन्दर खप्तडको बयान मात्रै प्रचार भयो, यसको सत्यको भएन ।"

उपाध्यायका अनुसार पशुपति र केदारनाथमा शिव स्वरूप गोरु आकारको शिला यहीँबाटै उडेर गएको किंवदन्ती छ । खप्तडको केदार ढुंगाको आकार गोरुको जस्तो छ । पाण्डवका भाइ भीमसेनले खापर दैत्य मार्ने बेला उनको वाण लागेर गोरु रूपका केदारनाथको टाउको पशुपतिनाथमा उछिट्टएिर आएको र पुच्छर भारतको केदारनाथ पुगेको उनी बताउँछन् ।

खप्तड बाबाको प्रभाव

खप्तड बाबालाई खर्कका गोठालाले भगवान् शिवका अवतारको रूपमा लिएर श्रद्धा गर्ने गरेको अर्का गोठाला ४५ वर्षीय नवबहादुर रावल बताउँछन् । उनका अनुसार खर्कका गोठालाले अहिले पनि उनको आश्रममा रहेका मूर्तिको पूजा गर्छन् । "पहिला गोठालालाई खप्तडको महत्त्व थाहा थिएन," केही वर्ष खप्तडका सन्निकट बसेका रावल भन्छन्, "दूध दिन जाने गोठालाले यहाँको महिमा दर्शाउँथे । खप्तडलाई नेपाल सरकारले समेत चिनेको छैन ।"

०३७ सालमा खप्तड राष्ट्रिय निकुञ्ज स्थापना भएको हो । गोठालाको भनाइमा खप्तड निकुञ्जले नभई स्थानीयको आस्थाको धरोहर भएकाले मात्र जोगिएको छ । निकुञ्ज हुँदा स्थानीयले सुविधाभन्दा बढी असुविधा भोगेको प्रेमको भनाइ छ । "पहिला खर्क बस्न मनमर्जी थियो," भन्छन्, "अहिले पुर्जी काटेर आउनुपर्छ ।"

खप्तड प्लास्टिकयुक्त हुँदै छ । सफा-सुग्घर घट्दै गएको छ । नेपाली सेनाले खप्तडको सौन्दर्य कोतरेको उनको भनाइ छ ।

भदौमा फुल्छ खप्तड

साउन-भदौमा खप्तड हेर्न लायक हुन्छ । मौसम परिर्वतन भइराख्ने हुँदा घामपानीको लुकामारी चलिरहन्छ । यहाँ फुल्ने १ सय ३५ प्रकारका फूलले पाटनको सौन्दर्यलाई लोभलाग्दो बनाउने गरेको छ । भगवान्‌काे सत्यले यो ठाउँ छाडे पनि खप्तडको सौन्दर्य भने खासै नघटेको बजिरे रावलको दाबी छ ।

गोठालाका अनुसार पछिल्लो समय खप्तडमा जलवायुको परिवर्तनको असरसमेत देखिन थालेको छ । पहिलेको तुलनामा गर्मी बढ्दै गएको छ । छिनछिनमा मौसम परिवर्तन भइराख्ने भएकाले यहाँको सौन्दर्य अहिलेसम्म जीवितै रहेको उनीहरूको भनाइ छ । खप्तडमा २२ पाटन र ५२ झोता छन् । नेपालमा पाइने ७ सय जडीबुटीमध्ये २ सय २४ प्रजाति यहीँ नै पाइन्छन् । यहाँ ५ सय ६७ प्रजातिका वनस्पति र २ सय ७० जातका चराचुरुंगी पाइन्छन् । 

प्रकाशित: कार्तिक १३, २०७६