(पुस्तक समीक्षा) घुमीफिरी युद्धमै

पुस्तक : एघार नोभेम्बर | कथाकार : काङमाङ नरेश राई | प्रकाशक : फिनिक्स बुक्स | पृष्ठ : १७२ | मूल्य : २५० रुपैयाँ |

- गुरुङ सुशान्त

झन्डै दुई करोडले ज्यान गुमाएको पहिलो विश्वयुद्धमा सबैभन्दा धेरै नरसंहार बेल्जियमको फेन्डर्सफिल्डमा भएको थियो । भनिन्छ, त्यहाँ एक लाखभन्दा धेरै मानिसले जीवन गुमाए । २८ जुलाई १९१४ मा सुरु भएको युद्ध ११ नोभेम्बर १९१८ मात्रै थामियो । त्यसबेलाका रक्तकुण्ड र रक्तनदीबारे कल्पना गर्नसमेत कठिन हुन्छ । उक्त ठाउँमा बगेको रगतमा कालान्तरमा पप्पी फूल उमि्रएको मिथक पनि जन्मियो । युद्ध रोकिएको तिथि पारेर प्रत्येक नोभेम्बर ११ मा ११ बजेर ११ मिनेट ११ सेकेन्डमा त्यहाँ दुई मिनेट मौनधारण गरी 'पप्पी डे' मनाइन्छ । यही मिथकीय मितिको आधारमा काङमाङ नरेश राईले आफ्नो पछिल्लो पुस्तकको नामकरण गरेका छन्- एघार नोभेम्बर । आधा दर्जन पुस्तक लेखिसकेका राईले नयाँ किताबमा पनि युद्ध नै रोजेका छन् ।

'युद्ध-साहित्य' लाई आफ्नो ब्रान्ड बनाइसकेका राई स्वयं ब्रिटिस गोर्खा सेनाबाट अवकाशप्राप्त स्रष्टा हुन् । आर्थिक हैसियतले समृद्ध देखिने लाहुरे समुदायभित्रका पीडा, असन्तुसष्टि र अन्यायका पाटालाई राईले आफ्नो लेखनीमा समेटेका छन् । युद्धबाट घर नफर्किएका योद्धामा समर्पित यस संग्रहमा उनले यथार्थलाई आख्यानीकरण गरेका छन् । कतिपय कथामा राईले गोर्खा पल्टन र युद्धको इतिहास पढाउने लोभ पनि पालेको देखिन्छ ।

आज पनि गुरुङ, मगर, राई र लिम्बू समुदायको चाहना लाहुरे बन्ने नै देखिन्छ । वैदेशिक रोजगारीको उन्नत बाटो मानिने गोर्खा भर्ती र त्यसबाट निम्तिएको समस्यालाई राज्यले सम्बोधन गर्नुपर्ने जिकिर राईको छ । दाबीअनुसार यही राज्यसत्ताले गरेको सन्धि-सम्झौताकै कारण अर्काको देशमा गएर लड्दा ६० हजार नेपालीले ज्यान गुमाएका छन् । सन्धि-सम्झौता राज्य-राज्यबीच भएकाले भर्तीमा गएका सबै नेपालीलाई राज्यले पठाएको मान्नुपर्छ । भलै ९ नोभेम्बर १९४७ सम्म लड्नेहरु 'भाडाका सिपाही' थिए । ' तक्मा' को पात्रले आफैँलाई प्रश्न गर्छ, 'किरणको गोलीले ढलिरहेको तालिवानको लाश आँखामा निरन्तर आउन थाल्छ । उसको दुस्मन थिइनँ र ऊ पनि मेरो दुस्मन थिएन । बाध्यताले मात्र हामीलाई दुस्मन बनाएको थियो ।' बहादुरी र इमानदारीमा विश्व प्रसिद्ध गोर्खाहरु आफ्नै स्वतन्त्रता र समानताको राजनीतिक लडाइँमा नसमेटिनु गर्वको विषय होइन भन्ने मत पछिल्लो समय बलियोसँग उठेको छ । व्यक्तिगत आर्थिक स्तर केही उकासिए पनि आफ्नै मुलुकको नीति निर्माण र राज्य सञ्चालनमा आदिवासी-जनजाति पाखा पर्नुको एक कारण गोर्खा भर्तीमोहलाई पनि मानिन्छ । मुलुकबाट बिस्तारै पलायन हुनेसम्मको यात्राले नरेशहरुलाई एउटा विषाद दिएको छ भन्ने प्रस्ट साक्ष्य एघार नोभेम्बर हो ।

भूपू गोर्खाहरुलाई बेलायतमा बसोबासका लागि वैधानिकता मिलेपछि केहीमा आशा र खुसी सञ्चार भएको पाइन्छ भने कतिपयले पारिवारिक विखन्डनसमेत भोगेका छन् । पराया भूमिमा लौरीबिनाको बुढ्यौलीजस्तो निर्जन दैनिकीको पीडाभन्दा दुखद अनुभूति अरु के होला ! नयाँ पुस्तामा नौलो सपनासहितको भागदौड र पुराना पुस्तामा आधुनिक प्राविधिकताले थोपरेको अलगावजस्ता पक्षले त्यहाँको डायस्पोरिक जीवन अत्यासलाग्दो देखिन्छ । सांस्कृतिक भिन्नताले नेपालीका लागि त्यहाँ आफ्नो पहिचान जमाउन खोज्नु लेउदार ढुंगामा सीधा टिक्नु बराबर मुस्किल प्रयत्न हो । कथामा यस्ता अप्ठ्याराको कौशलपूर्ण अभिव्यक्त छ । साथै, लाहुरे र तिनका  परिवारले युद्ध र युद्धसामग्रीलाई समेत घरको सजावटजस्तो ठान्ने मनोवृत्तिलाई  पनि प्रस्तुत गरिएको छ ।

नरेशका युद्ध-कथाले बेलायती सैनिकका दर्द मात्रै भन्दैनन्, नेपालकै एक दशक लामो सशस्त्र द्वन्द्वले छाडेका छापलाई पनि उत्तिकै सशक्त ढंगले चित्रित गरेका छन् । राज्य पक्ष र विद्रोहीको दोहोरो चेपुवाबाटै बच्न गोर्खा सैनिक बन्न बाध्य पात्रले खुट्टा गुमाएको दारुण यथार्थ छ, 'एक सेकेन्ड' मा ।

उनी क्रान्तिसिंजस्ता बाल मजदुर बन्न विवश पात्रको पृष्ठभूमिमा पनि माओवादी जनयुद्ध' लाई कारक ठहर्‍याउँछन् ।

जुनसुकै तर्क र दर्शनमा उब्जिए पनि युद्धको परिणाम दीर्घकालीन घाउ र विद्वेष नै रहेको निष्कर्ष यो कथा संग्रहको छ । युद्धले लडाकु मात्रै नभएर उसको परिवारलाई पनि सधैँ अन्योलमा राख्छ ।

नवीन कथनपद्धति र चुस्त सम्पादन खड्किने यी कथाले लाहुरे जीवनको सम्पन्नताभन्दा अँध्यारा पक्षलाई सतहमा ल्याइदिएको छ, जसले नागरिक मात्रै नभई राज्य पनि सोच्न बाध्य हुनुपर्छ ।

 किम्यान युद्धपछि 'युद्ध-साहित्य' लेख्न थालिएको मानिन्छ । नेपालमा पनि 'जनयुद्ध' पछि छिटफुट युद्ध-साहित्य लेखिए पनि यसले सैद्धान्तिक विमर्शको रुप लिन सकेको छैन । नेपाली युद्ध-साहित्यमा धेरैजसो लेखकसँग पर्यटकीय अनुभव मात्रै रहेकाले ती उति विश्वसनीय लाग्दैन । युद्धलाई अन्तिम सत्य ठान्ने या गाली गर्ने एकांगी विश्वदृष्टिका कारण ती लेखनीमा यथार्थ र कला दुवै फिक्का लाग्छन् । तर राईजस्ता गोर्खा सैनिकले युद्ध-साहित्य लेखिदिँदा आम पाठकका लागि पल्टने परिवेश बुझ्ने आँखीझ्याल तयार हुन्छ । हुन त, युद्ध-साहित्य लेख्न-पढ्न नपरे हुन्थ्यो भन्ने चाहना धेरैको हुन्छ । तर राईहरु लेख्न बाध्य छन् ।

प्रकाशित: कार्तिक १५, २०७६