सीमा रक्षक गोठाला

  • प्रदेश १

- नारायण तुम्बापो/पाँचथर 

भारतको सिक्किम र पश्चिम बंगालसँग जोडिएका छन्, ताप्लेजुङको सिदिङ्वा, पाँचथरको याङ्वरक, फालेलुङ, इलामको सन्दकपुर गाउँपालिका । तर ती पूर्वी सीमा क्षेत्रमा कतै पनि नेपाली सुरक्षाकर्मीको उपस्थिति छैन । रेखदेखविहीन ती ठाउँको रखबारी गरिरहेका छन्, गोठालाले ।

दैनिक निगरानी हुँदा भारतीय पक्षले सीमास्तम्भमा गडबडी गर्न नसकेको दाबी गर्छन्, चौँरीपालक चन्द्रलाल नेपाल । चन्द्रलालजस्ता गोठाला सीमा क्षेत्रमै गोठ बसेर नियमित चौँरी चराउँछन् । "हामी नेपाल सरकारको आधिकारिक सीमा सुरक्षाकर्मी होइनौँ तर नागरिकका रूपमा राष्ट्रिय दायित्व सम्झिरहेका छौँ," अर्का गोठाला थर्कप्रसाद गुरुङ थप्छन् ।

भारतले सीमामा सडक निर्माण गर्ने क्रममा नेपालको ढुंगामाटो खोस्रने गर्दा गोठालाले रोक्ने गरेका छन् । सिदिङ्वाको तिम्बुपोखरी, याङ्वरकको चिवा, पानीभित्ता, लामपोखरी, सिंहलीला डाँडा, तोरीफुले, फालेलुङको फालोट, चारराते, सन्दकपुर क्षेत्रमा सुरक्षाकर्मीजस्तै गोठाला तैनाथ हुने गरेका हुन् ।

पूर्वी सीमा क्षेत्रमा भारतले आफ्नोतर्फ ६-६ किलोमिटरको दूरीमा सीमा सुरक्षा बल (एसएसबी) क्याम्प राखेको छ । तर नेपालतर्फ एसएसबीकै भूमिका निर्वाह गरिरहेका गोठालाका गोठ क्याम्पका रूपमा रहेको चन्द्रलाल सुनाउँछन् । सीमा क्षेत्रमा तीन दर्जन हाराहारी नेपाली गोठ छन् । चौँरीपालन संस्कृतिको संरक्षणका साथै सीमाको समेत सुरक्षा गर्न पाउँदा गौरव लाग्ने गरेको गोठाला सुनाउँछन् ।

गोठालो निगरानी बढेपछि सीमा क्षेत्रबाट नेपालको हुने गरेको अवैध चोरी सिकार र जडीबुटी ओसारपसार पनि घटेको छ ।

विशेषगरी रेडपान्डाका साथै लाखौँ मूल्यका बिखुमा, सतुवा, पाखानवेद, पाँचऔँलेलगायत जडीबुटीको चोरी निकासी हुने गरेको थियो । रेडपान्डा नेटवर्क र दीपज्योति युवा क्लब पाँचथरले अभिमुख गराएसँगै जैविक विविधता संरक्षणमा गोठाला क्रियाशील बनेका हुन् । पूर्वी सीमा क्षेत्रमा नेपाल सरकारले चाँडै सुरक्षाबल राखे मात्रै सीमाको दर्बिलो सुरक्षा हुने गोठाला बताउँछन् । माओवादी द्वन्द्वकालमा नेपाली सीमा क्षेत्रको काठपात चोरी हुँदा ध्वस्त बनेको जंगल अहिले उजाड छ । त्यसको ठीक विपरीत भारततर्फको जंगल विशाल सिंहलीला नेसनल पार्कको रूपमा विकास भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार गत वर्ष जिल्लासँगको सीमा क्षेत्रका १२ वटा सीमास्तम्भ हराएका थिए । स्तम्भ गाडिएको डोबसमेत नरहने गरी हराएको छ । ३५/१, ३७, ३८, ४३, ४३/३, ४८/१, ५०/१, ५०/३, ५४/७, ५४/७, ५४/१२, ५५/१३ र ५६/१३ नम्बरका स्तम्भ पूर्ण रूपमा हराएका हुन् ।

पाँचथरको याङ्वरक-२, तिम्बुपोखरी क्षेत्रदेखि फालेलुङ-७ सन्दकपुर आहाले बीचका स्तम्भ हराएका हुन् । यसैगरी यहाँका ३९, ४०, ५२/४ र ५४/१३ नम्बरका चार स्तम्भ हराएर डोब मात्र बाँकी छ । निकट भविष्यमा ती डोब पनि मेटिने अवस्था रहेको स्थलगत अध्ययन गरेका प्रहरी चन्द्र चौहान सुनाउँछन् । बाँकी स्तम्भ पनि जीर्ण छन् । पुनर्निर्माण तथा मर्मतमा दुवै देशले चासो दिएको देखिँदैन ।

पछिल्लो समय भारतले दसगजा क्षेत्रमा निर्माण गरेको मोटरबाटोका कारण सीमास्तम्भमा क्षति पुग्ने क्रम बढेको छ । यसले नेपाल-भारतबीच सीमाविहीनताको अवस्था सिर्जना गर्दै लगेको पनि देखिन्छ । भारतीय सुरक्षा बलले महिनामा एकपल्ट सीमास्तम्भ अनुगमन गर्दै अभिलेख अद्यावधिक गरे पनि नेपालतर्फबाट बिरलै हुने गरेको छ । ०७५ माघमा चिवाभन्ज्याङको निरीक्षण गरेका प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले नेपाली सीमा सुरक्षाबल राखिने योजना रहेको सुनाउँछन् । भन्छन्, "हराएको सीमास्तम्भ पुनः स्थापना तथा मर्मतका लागि दुवै देशको कूटनीतिक समन्वय आवश्यक छ ।"

प्रकाशित: कार्तिक १८, २०७६