कर्णालीलाई पूर्वाधार खोइ ?

  • पर्यटन

- शरद ओझा

१ वैशाख ०७५ मा कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक रारातालछेउ बस्यो । उक्त बैठकले रारा–कर्णाली भ्रमण वर्ष–०७५ घोषणा गर्दै एक वर्षमा ५ लाख पर्यटक भित्र्याउने घोषणा गर्‍यो । सोही दिन प्रधानमन्त्री केपी ओलीले राराताल छेउबाटै देशका नाममा सम्बोधन गर्दै गरिबी, अशिक्षा, असमानता हटाउन पर्यटनको भूमिका महत्त्वपूर्ण हुने भएकाले कर्णाली प्रदेशको पर्यटन विकास गर्न संघीय सरकारले काम गर्ने बताएका थिए । तर २९ भदौमा जुम्ला रारा अल्ट्रा म्याराथनमा सहभागी हुन राराताल पुग्दा पर्यटकलाई सहज हुने गरी रारा परिसरमा सामान्य भौतिक पूर्वाधार पनि विकास भएको देखिएन ।

कतिसम्म भने रारातालछेउ रहेको होटलबाट ताल्चा विमानस्थल फर्कंदा बाटोमा गलत दिशा देखाउने बोर्ड राखिएको थियो । उक्त बोर्डमा लेखिएको ‘ताल्चा जाने बाटो’ पछ्याउँदै हिँड्दा मुगु सदरमुकाम गमगढी नजिक पुगिएको थियो । रारा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ लामाचौरमा खटिएका नेपाली सेनाले सहयोग नगरेको भए रारा विमानस्थल ताल्चा जान हिँडेको हाम्रो टोली झन्डै मुगु सदरमुकाम गमगढी पुग्थ्यो ।

५ लाख पर्यटक ल्याउने घोषणा कागजमा सीमित हुँदा रारामा कति पर्यटक पुगे भन्ने यकिन तथ्यांक नै कर्णाली प्रदेशसँग छैन । कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको तथ्यांकअनुसार गत वर्ष कर्णालीमा करिब २ सय विदेशी र ७ हजार स्वदेशी पर्यटक पुगेका थिए ।

नेपाली सेनाको हेलिकप्टरबाट रारा पुगेर सम्बोधन गरेका प्रधानमन्त्री र कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्री राराको सुन्दरतासँग त परिचित छन् । तर पर्यटकलाई रारा पुग्दा हुने असहजताका विषयमा भने मौनता साँध्ने गर्छन् । समुद्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा अवस्थित रारा ताल १ सय ६७ मिटर गहिरो छ । १०.८ वर्गकिलोमिटर क्षेत्रफल, ५ किलोमिटर लम्बाइ र ३.२ किलोमिटर चौडाइको ताललाई पूरै फन्को लगाउन कम्तीमा ४ घन्टा लाग्छ । मौसम सफा र खुला भए तालमा देखिने ७ किसिमका रङले जोकोहीलाई मोहित बनाउने गर्छ ।

तत्कालीन राजा महेन्द्रले ०२० मा रारा पुग्दा यस ताललाई ‘स्वर्गकी अप्सरा’ भन्दै बयान गरेका थिए । उनकै पहलमा ताल संरक्षण गर्न भन्दै ताल क्षेत्र नजिकैको बस्ती बाँकेको चिसापानीमा स्थानान्तरण गरिनुका साथै ०२४ सालमा ताल क्षेत्रलाई राष्ट्रिय निकुञ्जको रूपमा विकास गरिएको थियो । नेपालको दोस्रो सानो राष्ट्रिय निकुञ्जमा रहेको ठूलो र सुन्दर रारातालसम्म पुग्ने कमजोर भौतिक पूर्वाधार र यस क्षेत्रमा स्तरीय होटल, लजको कमीलगायत कारणले सम्भावना भएर पनि राराले पर्याप्त पर्यटक आकर्षित गर्न सकिरहेको छैन ।

बेवास्तामा पूर्वाधार

आर्थिक वर्ष ०७५/७६ मा कर्णाली प्रदेश सरकारले राराताल वरिपरि साइकल ट्रेल बनाउने भन्दै ३ करोड बजेट विनियोजन गरेको थियो । तर राराताल छेउबाट सहज हिँड्न सक्ने पदमार्ग छैन । राराताल वरिपरिको दलदले माटोको हिलो, ढलेका रूखको अप्ठ्यारोले पानी पर्दा राराताल छेउ हिँड्न सकसपूर्ण हुने गर्छ । राराछेउ भेटिएका १ सय ५५ देशमा साइकल यात्रा गरेका कीर्तिमानी साइकल आरोही पुष्कर शाह पर्यटन र पर्यटकीय पूर्वाधारको महत्त्व बुझ्न नसक्दा रारा क्षेत्रमा विकास हुन नसकेको बताउँछन् । भन्छन्, “यहाँ ढलान गरेर काम गर्नुपर्छ भन्ने होइन । ताल वरिपरि हिँड्न वा साइकल चलाउन सहज हुने गरी ढुंगा छ्याप्न सकियो भने रारामा पर्यटकको बसाइ अवधि बढाउन सकिन्छ ।”

गत वर्ष साइकल ट्रेल बनाउने काम हुन नसकेपछि त्यसका लागि छुट्याएको बजेट नै फ्रिज भएको थियो । चालू आवमा पनि प्रदेश सरकारले रारा ताल वरिपरिको १६.४ किलोमिटर क्षेत्रमा साइकल मार्ग बनाउने भन्दै ३ करोड बजेट विनियोजन गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकाया डिजाइनलगायत काम सम्पन्न भइसकेकाले चालू आवमा साइकल मार्ग बनाउन टेन्डर आह्वान गरिने बताउँछन् ।

अल्ट्रा म्याराथन आयोजक समिति सदस्य तथा स्थानीय महेन्द्र कार्की पर्यटनको बजेट मेला– महोत्सव आयोजनामा खर्च गरिँदा पूर्वाधार विकास हुन नसकेको बताउँछन् । भन्छन्, “हामीले जुम्लादेखि राराको पदमार्ग विकास गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्दा कसैले सुन्दैन । सानो मेला–महोत्सव आयोजना गर्न भने बजेट दिने चलन छ ।”

रारालाई खेलसाग जोड्ने प्रयास


पछिल्लो समय कर्णाली प्रदेशमा मात्र नभई देशैभरि मेला–महोत्सव आयोजना गर्ने क्रम बढ्दो छ, जुन कार्यक्रमले पर्यटन प्रवद्र्धन कसरी गर्छ भन्ने कुनै अध्ययन पनि भएको छैन । यस्तै स्थानीय, प्रदेश र संघीय सरकारले टोलटोलमा सडक पुर्‍याउन पहाडमा डोजर चलाउन सुरु गरेपछि पुराना पदमार्ग नासिँदै गएका छन् । कर्णाली स्पोर्ट्स क्लबका अध्यक्ष सरोज शाही जनप्रतिनिधिले विकास भनेको सडक मात्रै बुझ्दा समस्या आएको बताउँछन् । भन्छन्, “एकाधबाहेकको सडक हाम्रा लागि पनि आवश्यक होइन तर स्थानीय सरकारले वातावरणीय प्रभाव मूल्यांकन नगरी मनलाग्दो तरिकाले सडक बनाउँदा भएका पर्यटकीय पूर्वाधार पनि नासिँदै गएका छन् ।”

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी रोकाया कर्णाली पर्यटन बोर्ड स्थापनाका लागि गठन आदेश जारी भइसकेकाले अगामी दिनमा बोर्डले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा एकीकृत काम गर्ने बताउँछन् ।

जताततै फोहर

अल्ट्रा म्याराथनका लागि जुम्ला पुगेकी ट्रेल रनविज्ञ प्रीति खत्रीको अनुभवमा जुम्ला, रारा र समग्र कर्णालीको सुन्दरता मानवीय कमजोरीले फिक्का बनाएको छ । भन्छिन्, “ट्रेल रन नेपालअन्तर्गत आयोजना गरिएका चार दौड प्रतियोगितामध्ये जुम्ला रारा अल्ट्राम्याराथन ट्रेलमा निकै सुन्दर दृश्य देखिन्छ तर सुविधासम्पन्न होटल अभाव, कमजोर सरसफाइले यो क्षेत्र पछाडि परेको छ ।” जुम्ला पदमार्ग छेउछाउका होटल र लजको सफाइ निकै कमजोर छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी समग्र कर्णाली प्रदेशमा अतिथि सत्कार र होटल व्यवस्थापन क्षेत्रमा काम गर्न आवश्यक रहेको दाबी गर्छन् । भन्छन्, “केही वर्षयता रारा तालभित्र र बाहिर निजी क्षेत्रबाट धेरै काम भएका छन् । केही वर्षअगाडि जस्तो कहाँ बस्ने, के खाने भन्ने समस्या अब छैन ।”

रारा विमानस्थल मुगुमा एयर ट्राफिक कन्ट्रोलर रहेका किरण दाहाल विगतको तुलनामा समग्र कर्णालीमा सरसफाइ अवस्थामा सुधार हुँदै गएको दाबी गर्छन् । प्रदेश सरकारले गत वर्ष सिन्जा क्षेत्रमा होमस्टे सञ्चालनका विषयमा तालिम प्रदान गरेको भन्दै आतिथ्य व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि तालिम सञ्चालन गर्न लागेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

सरसफाइ र स्वास्थ्य चेतना कतिसम्म कमजोर छ भने मुगुमा मृत कुखुरा बिक्री भइरहेका थिए । होटल लज, भान्सा र भाडाको सफाइ पनि कमजोर थियो । “हामीले सरसफाइमा सुधार गर्नुपर्‍यो भन्दा होटल सञ्चालकले तँ कसरी हुर्किएको थिइस्, हामीलाई थाहा छैन र भन्ने गर्छन्,” कर्णाली स्पोर्टस् कल्बका अध्यक्ष शाही भन्छन्, “फोहर कसैले पनि मन पराउँदैन भन्ने कसरी सम्झाउने ?” जुम्लादेखि रारातालसम्म पदयात्रा गर्दा कुनै पनि ठाउँमा डस्टबिन देखिँदैनन् । बाटोमा भेटिने गुट्का र चाउचाउका खोलले यो बाटोमा मानिस पनि हिँड्छन् र भनेर छुट्याउनुपर्ने अवस्था छ ।

खेल जोड्ने प्रयास

ओलम्पियन तथा हाई अल्टिच्युड म्याराथनमा सबैभन्दा छिटो दौडिएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका हरिबहादुर रोकायाले प्रतिभावान खेलाडीलाई सहयोग गर्न भन्दै जुम्लामा कर्णाली स्पोर्ट्स कल्ब स्थापना गरेका थिए । उनै रोकायाको अग्रसरतामा क्लबले गत वर्षबाट जुम्ला खलंगाबजारदेखि मुगुको रारातालसम्म ४९ किलोमिटर जुम्ला–रारा अल्ट्राम्याराथन प्रतियोगिता गर्न थालेको छ ।

गत वर्ष कर्णाली प्रदेशका धावकको बाहुल्य रहेकामा यस वर्ष भने भोजपुरदेखि डडेल्धुरासम्मका २ सय ५०, दुई भारतीय र ४ युरोपियन धावक सहभागी थिए । त्यसमध्ये ५८ धावकले ४९ किलोमिटर दौड पूरा गरे । ओलम्पियन रोकाया भन्छन्, “जुम्ली खेलाडी तालिम गरेको ट्रेलमा देश–विदेशका खेलाडीलाई पनि दौडाउन र पर्यटकको संख्या बढाउन म्याराथन आयोजना गरेका हौँ ।”

कर्णाली स्पोर्टस् क्लबका अध्यक्ष शाही अल्ट्रा म्याराथनको माध्यमबाट जुम्ला र मुगुमा पर्यटन विकास गर्न खोजिएको बताउँछन् । उनका अनुसार पछिल्लो समय अल्ट्रा म्याराथन संसारभर चर्चित बन्दै भएको छ । पैसा तिरेर दौडिन चाहने धावकको संख्या बढिरहेको छ । अल्ट्रा म्याराथनको माध्यमबाट जुम्ला– रारा पदमार्ग प्रवद्र्धन गर्ने र पर्यटनको लाभ स्थानीयलाई पनि दिने क्लबको उद्देश्य छ ।”

लेखक स्वयं जुम्ला–रारा म्याराथन आयोजना भएको ४९ किलोमिटर लामो ट्रेलमा पदयात्रा गर्दा स्थानीयले प्रतियोगितालाई उत्सवको रूपमा मनाइरहेका थिए । ठाउँ–ठाउँमा धावकलाई पानी, फलफूल, जुस र स्थानीय परिकार जनताले स्वत:स्फूर्त रूपमा दिइरहेका थिए ।

“पदयात्रा गर्न धेरै दिन समय नहुने तर स्थानीय संस्कृतिको जानकारी लिन खोज्नेहरू अल्ट्रा म्याराथनमा भाग लिने क्रम बढ्दो छ,” इन्जिनियरसमेत रहेकी ट्रेल रनविज्ञ प्रीति खत्री भन्छिन्, “नेपालमा आयोजना हुने ट्रेल रनलाई प्रवद्र्धन गर्न सकियो भने ट्रेकिङ प्याकेजजस्तै गरी अल्ट्रा म्याराथन प्याकेज बिक्री गर्ने सम्भावना छ ।”

प्रकाशित: कार्तिक २०, २०७६