(पुस्तक समीक्षा) जसले लेखे पञ्चायतको मृत्युपत्र

- सन्तोष आचार्य

१४ पुस ०३८ साल । सधैँझैँ त्यस साँझ पनि नेपाल टाइम्स प्रकाशित भयो । छुराभन्दा धारिलो सम्पादकीयका कारण ख्याति कमाइरहेको सन्ध्याकालीन दैनिकले यो दिन भने विशेष आलेखका कारण सनसनी मच्च्यायो । राजादेखि रंकसम्म यसको चर्चा भयो । पञ्चायती व्यवस्थाको जगजगीमा उक्त लेखको सानो अंश, ‘मेरो राजा चोर हुनुहुन्न, मेरो राजा तस्करको नाइके हुनुहुन्न’ ले दरबारिया अधिकारीलाई आपद् पर्‍यो । कसरी थुन्ने ?

त्यही लेखकै आधारमा थुन्ने हो भने प्रश्न उठ्न सक्थ्यो – उसो भए राजा चोर हुनुपर्छ त  ? राजा तस्करको नाइके हुने त ? पञ्चायती कानुनले पनि पक्रन सकेन । राजालाई चुनौती दिने ती व्यक्ति थिए, सम्पादक चन्द्रलाल झा । ०१५ देखि ०५२ सम्मको ३७ वर्ष निरन्तर पत्रकारिताको एकलव्यको रुपमा बिताएका झाको जीवनचक्रको सार खिचेका छन्, उनका छोरा सुनिलचन्द्र झाले चन्द्रलाल झा : कलमको स्वाभिमानी सिपाहीमा ।

स्वाभाविकै थियो, निरकुंश पञ्चायत शासक नेपाली पत्रकारिता नौनीजस्तो प्रस्तुत होस् भन्ने चाहन्थ्यो । तर झाको कलम फरक धातुले बनेको थियो । पञ्चायतलाई बेलाबेला चस्किन थालेपछि राजा महेन्द्रबाट एक दिन अञ्चलाधीशमार्फत झालाई दरबारमा बोलावट भयो । राजा महेन्द्रले ‘अञ्चलाधीश वा मन्त्री पद खाऊ तर पञ्चायतविरुद्ध नलेख’ भन्ने आग्रह गर्दा झाले आफ्नो पत्रिकाको मूल्यतर्फ संकेत गर्दै राजालाई जवाफ फर्काए, ‘सरकार म दस पैसामा बिकेको मान्छेले त्यत्रो ठूलो पद खाने औकात र इच्छा छैन, माफ पाउँ ।’ लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई अर्जुनदृष्टि बनाएर पत्रकारिता गरेका झाले आत्मसन्तुष्टिबाहेक सबै गुमाए । पटक–पटक पक्राउ परे । जेलमा थुनिए । केही समय पत्रिका प्रकाशन प्रतिबन्धमा पनि पर्‍यो । कोट कचहरीको घनचक्करमा रुमल्लिनुपर्‍यो । धाक, धम्की त कति कति ! तर कहिल्यै पनि सत्तालाई प्रश्न गर्ने कर्मबाट उनी चुकेनन् । सम्झौता गरेर मखमली जीवन बाँच्ने चाहना राखेनन् । यसैले त नेपाल टाइम्स फगत पत्रकारिता मात्र थिएन, आफैँमा आन्दोलन पनि थियो । झा आफ्नो पूरै शक्ति लगाएर सत्ताको बेथितिसँग लडिरहे । बहुदलीय व्यवस्थाको पक्षमा उभिरहे । उनका लागि पत्रकारिता पेसा थिएन, जीवनको लक्ष्य थियो । एक किसिमको मिसन नै थियो । यसैले उनी तत्कालीन शासकको वक्रदृष्टिमा परिरहे । राजनीतिक बन्देजको समय पनि अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर लेखिरहे । उनको निर्भीकतालाई कुनै पनि तानाशाहले समाप्त गर्न सकेन ।

पुस्तकमा आफ्ना गुरु झाका सन्दर्भमा पत्रकार किशोर नेपालले लेखेका छन्, ‘...उहाँलाई तत्कालीन सत्ताले पत्रकारिता गरेकै अपराधमा निरन्तर कारागारमा राख्यो । सत्यको मुख बन्द गरेर झुटको थुतुनो खोल्ने काममा कतै–कुनै कन्जुसी गरेन । चन्द्रलालजीलाई सरकारी गुमास्ताहरुले भारत र अमेरिकाको एजेन्ट भएको आरोप लगाएनन् कि नेपाली कांग्रेसको थिंक ट्यांकको मुख्य संयोजक भन्न नै हिच्किच्याए । तर उहाँ सधैँ पत्रकार रहनुभयो, न कहिल्यै कुनै पार्टीको झन्डा उचाल्नुभयो, न त कहिल्यै कुनै समाजको जुलुसमा सामेल हुनुभयो । नेपाल टाइम्सद्वारा प्रजातान्त्रिक आन्दोलनको अनवरत समर्थनमा उहाँको निहित स्वार्थ थियो । अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति र नागरिकका मौलिक हक अधिकारको संरक्षण प्रजातान्त्रिक शासनले मात्रै गर्न सक्छ । उहाँ नेपाली समाजका लागि भोल्तेयर हुनुहुन्थ्यो ।’

पत्रकारिताको अघोषित विद्यालय झाले लेखेका सम्पादकीय राजनीतिशास्त्र तथा भाषाविज्ञानका गुरुहरुले आफ्ना शिष्यलाई पढ्न प्रेरित गर्थे । नेपाल टाइम्सको सम्पादकीय पढ्न सबै आतुर हुन्थे । यो पत्रिकाको आनन्द नै यसको सम्पादकीय पढ्नुमा थियो । अदुवादेखि अमेरिकासम्मको विषयमा प्राञ्जल भाषासहित सन्तुलित विचारका विषयलाई राजनीतिक मोडमा घुमाउँदै सम्पादकीय लेखनमा झाको क्षमता अहिले पनि धेरै पत्रकारको स्मरणमा ताजै छ । नेपाली भाषामा शब्द भण्डार छैन भन्ने मतप्रति पूरै विमति राख्थे, झा । अभिव्यक्ति स्वतन्त्रता र मौलिक हक नभएको देशमा पत्रकारमा अभिधा, लक्षणा र व्यन्जनाको ज्ञान भएन भने पत्रकारिता प्रभावकारी नहुने ठम्याइ उनको थियो । उनीसँग यही विशेषता थियो, जसले उनको पत्रकारिता धारिलो बनाएको थियो । ०६९ मा आफू बितेका पत्रकार चन्द्रलाल झाले पञ्चायतकालभरि जे लेखे, त्यो पञ्चायतको मुत्युपत्र थियो ।

दुर्वासा ऋषिजस्ता यी पत्रकारको जीवनमा कहिल्यै घाम झुल्केन । ०४६ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि पनि पुराना शासक फालेर सिंहदरबार छिरेका नयाँ शासकका लागि झा सायद खोटो सिक्का भइसकेका थिए ।

पुस्तक : चन्द्रलाल झा : कलमको स्वाभिमानी सिपाही | संकलक : सुनिलचन्द्र झा | प्रकाशक : सुनिलचन्द्र झा | पृष्ठ : २२४ | मूल्य : ३०० रुपैयाँ |

प्रकाशित: कार्तिक २०, २०७६