'प्रकृतिसँग सिक्दै कान्छो कीर्तिमान'

  • ७ प्रश्न

- मनबहादुर बस्नेत

१ हजार ५ सय ५० मिटर उचाइको ताप्लेजुङ, लेलेप गाउँमा जन्मिए, मिङमा डेभिड शेर्पा, ३० । बुझ्दैनबुझी पर्वतारोही बनेका मिङमासँग सबैभन्दा कान्छो उमेरमा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढ्ने पहिलो नेपालीको कीर्तिमान छ ।

३० वर्षमै अग्ला हिमाल चढिसक्छु भन्ने सोच्नुभएको थियो ?

सानो छँदा केही त्यस्तो सपना थिएन । काम गर्दै जाँदा पाएको सफलता हो, यो । हिमाल आरोहणमै पनि म संयोगले आएको हुँ ।

ख्यालख्यालमै हिमाल आरोहणमा .... ?

सन् २००८ मा काठमाडौँ घुम्न आइयो । स्कुलको लामो बिदामा केही गर्नुपर्‍यो भनेर पोर्टरको रुपमा अन्नपूर्ण क्षेत्र ट्रेकिङ गएँ । गाइड बन्न मन लाग्यो । अर्को साल किचन ब्वाई बनेर मनास्लु बेस क्याम्प पुगेँ । नजिकै हिमाल देखेपछि चढ्न मन लाग्यो । मामा पर्ने हिमाल चढ्थे । उनलाई भनेपछि पहिलोचोटिमै सगरमाथा चढ्ने अवसर मिल्यो, २०१० मा । तर एसएलसीको जाँच दिँदादिँदै सगरमाथा चढ्न चीन जानुपर्ने भयो । परीक्षै छाडेर हिँडेँ । त्यसपछि तालिम लिँदै लगातार २ वर्ष सगरमाथा चढेँ ।

पढाइ छुटेकामा पछुतो लाग्दैन ?

सानोमा पढ्ने रहर थियो । तर द्वन्द्वकालले गर्दा नियमित पढाइ नभएपछि मन बिथोलियो । पछि एसएलसी पास गरे पनि अगाडि पढ्न मन भएन ।

अग्ला १४ हिमालमध्ये फरक अनुभव कुनमा भयो ?

प्राविधिक रुपमा उच्च जोखिम भएको पाकिस्तानको केटु हिमालमा आरोहणको पूर्ण मज्जा छ । आइस क्लाइम्बिङ, रक क्लाइम्बिङ, सफ्ट स्नोट सबैको अनुभव यो आरोहणमा लिन पाइन्छ । यस्तो कहीँ पाइँदैन ।

आरोहणमा 'क्रेजी' रेकर्ड आउन थाल्यो, झन् प्रतिस्पर्धा भएको हो ?

प्रतिस्पर्धाभन्दा पनि प्रकृतिसँग सिक्ने क्रममा बनेका कुरा हुन्, ती । प्रतिस्पर्धा होइन, प्रकृतिसँग मानिसले रिसर्च गर्दा प्राप्त भएको । प्रकृतिले दिएको अवसर हो, त्यो । आरोहण प्रकृतिसँगको रिसर्च हो । प्रतिस्पर्धा हुन्थ्यो भने रेकर्डवालाले सहयोग गर्दैन । आरोहणमा रेकर्ड तोडिन्छ भनेर थाहा पाउनेले नसोचेको सहयोग गरिरहेको हुन्छ ।

सगरमाथामा आरोहीको जाम कसरी व्यवस्थापन गर्न सकिएला ?

आरोहणको बाटो खोल्ने काम अहिलेभन्दा अलि चाँडो भए केही हदसम्म जाम घटाउन सकिन्छ ।

तपाईं उद्धारक पनि हो । नेपालमा यो अभ्यास कस्तो छ ?

आरोहण आफैँमा जोखिम हो । अग्ला हिमाल, अग्लै जोखिम । हामीकहाँ अग्ला हिमाल धेरै भए पनि आरोहणका लागि उद्धार टिम छैन । सरकारले उद्धार संयन्त्र बनाउनुपर्छ । अनि मात्र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली हिमाल सुरक्षित छन् भन्ने सन्देश जानेछ र आरोहण व्यवसाय फस्टाउनेछ ।

प्रकाशित: कार्तिक २६, २०७६

×