केही फाइदा बालाई भयो होला, केही फाइदा संग्रौलालाई 

  • प्रतिवाद

- शिशिर वैद्य

धमिराले खाएर केही मक्किएका, केही च्यातिएका, किरिङमिरिङ कोरिएका र केही धमिला पाना बचेको एउटा पुरानो डायरी । च्यातिएको, हरियो गाता भएको डायरीमा केही खर्च विवरण, केही पेस्की टिपोट, केही भुक्तानी भर्पाइ र केही टेलिफोन नम्बर छन् । केही चिनियाँ र भारतीय मित्रहरूका नाम पनि छन् । कतै ठेगाना छन्, कतै छैनन् । डायरीका पाना पल्टाउँदै गर्दा आमाका सम्झना केही ताजा हुन थाले । तर ताजा हुन खोज्दाखोज्दै ती सम्झना हराए । स्मृतिहरु बिलाए । 

८० वर्षमा स्मृति बिलाउँदै जानु सामान्य हो । चिकित्सकको भाषामा यो रोग हो । तर हाम्रो समाजमा यसलाई बुढ्यौलीले छोएको भनिन्छ । आमाको स्मृतिका पाना पनि धमिला हुन थालेका छन् । बिर्सने रोगले गाँज्दा कुराहरू भर्खरको भर्खरै बिर्सने, एउटै कुरा घरिघरि सोध्ने बानीले हैरान हुन थालेका छन्, परिवारका सदस्यहरू । नयाँ कुरा बिर्सिए पनि पुराना स्मृति प्रसंग जोडिएसँगै स्पष्ट सम्झिनुहुन्छ, उहाँ । तर कहिले ठाउँको नाम बिर्सनुहुन्छ, कहिले मान्छेको नाम ।

डायरी पल्टाउँदै जाँदा उहाँ एउटा पानामा पुगेर रोकिनुभयो । पानामा एक हस्ताक्षर थियो । माथि लेखिएको थियो– कम्पुचियाली प्रश्नको अनुवादको पारिश्रमिक रु. ५०० मध्ये रु. २०० बुझिलिएँ । मिति ०३/०६/०४० हस्ताक्षरकर्ता थिए, खगेन्द्र संग्रौला । संग्रौलाको प्रसंग जोडिएसँगै बुबासँग भएको एक संवाद सम्झिनुभएको थियो, आमाले । ‘चितवनबाट आएका एक जना साथी बिरामी भएर अस्पतालमा उपचार गराइरहेका छन् । डाक्टर भोलि डिस्चार्ज गर्ने भन्दै छ तर विचराको काठमाडौँमा कोही छैन, घर ल्याउँछु है ।’ बाले राखेको प्रस्तावमा आमाले हुन्छ भन्नुभएको थियो । यो घटनाको यकिन समय याद छैन, आमालाई । तर यो संवाद लगभग चार चाढे सार दशकअघिको हुनुपर्छ । आफैँ बिहान–बेलुकाको छाक मुस्किलले टारिरहेको समय थियो त्यो । परिवारमा पाहुना थपिनु बोझ हुनु स्वाभाविक थियो । तर बोझ ठान्नुभएन । अप्ठेरोमा परेको साथीलाई साथीले सहयोग नगरे कसले गर्ने ? लगभग एक महिना बसे, ती साथी घरमा । तंग्रिएपछि गए । कता गए, सम्झना छैन आमालाई । संग्रौलालाई बासँग परिचय गराएका थिए, जैसीदेवलका विद्या नामका एक मानिसले । कुरा नसकिँदै आमाको मुहारको भाव परिवर्तित भयो । केहीछिन अघिसम्म सामान्य उनको मुहार एकाएक रौद्ररसले भरियो । बेइमान, अधर्मी, बैगुनी भन्दै आमा बर्बराउनुभो ।

‘कोही छैन भनेर सहारा दियो, सेवा गर्‍यो, काम दियो हामीलाई नै नानाथरी भन्छ । तिम्रो बुबाजस्तो सोझो, कसैको कुभलो नचिताउने, सहयोगी मान्छेसँग चर्को स्वरमा कराउनु हुन्छ ? कुनै नाटक प्रकाशनताका भएको घटना जोडियो यहाँ । कम भनेर बढी छापे पो कराउने, झगडा गर्ने । दुई हजार छाप्ने कुरा थियो, नाटक (नाम बिर्सिएँ) भएकाले चल्ला कि नचल्ला भनेर हजार प्रति मात्रै छापेको त लौ वैद्यजीसँग (बालाई वैद्यजी भन्ने गर्नुहुन्थ्यो) धाँधली गर्ने भन्दै पाखुरा सुर्केर पो कराउँदो रहेछ अधर्मी ।’ आमाको रिस अझै मरेको थिएन । उहाँ सम्झनाका पोका खोल्न खोज्दै हुनुहुन्थ्यो । तर गाँठो यति कस्सिएछन् कि खुल्न गाह्रो भइरहेको थियो । बल्लबल्ल खुल्न खोज्थ्यो गाँठो, फेरि बल्झिहाल्थ्यो ।

अलिअलि फुस्किन खोजेजस्तो गाँठोबाट स्मृतिहरू चुहिएजस्तो गर्दै थिए । ‘त्रिचन्द्रमा पढ्दै थियो क्यारे । फुर्सदमा पसलमा आइरहन्थ्यो, दैनिकजसो । बालाई गफ गर्न साथी पनि, कहिलेकाहीँ सहयोगी पनि । अंग्रेजी राम्रो थियो । पुस्तक पढ्नमा अधिक रुचि थियो । गफैगफमा एक दिन बाले प्रस्ताव राखेछन्– पुस्तक अनुवाद गर्छौ ? सुरुमा बाले के अनुवाद गर्न दिए, याद छैन आमालाई । तर त्यो अनुवाद देखेर बा दंग परे । ल भेटियो नयाँ अनुवादक भनेजस्तो भो बालाई । उसलाई काम चाहिरहेको थियो, बालाई राम्रो अनुवादक । कुरो मिल्यो । अनुवादक त अरू पनि थिए तर नयाँलाई अवसर दिनुमा बाले पक्कै केही फाइदा देखे ।’

प्रगतिशील पुस्तकहरू प्रकाशन र बिक्री–वितरण गर्ने कार्य सोह्र–सात्र सालअघि नै सुरु गरिसकेका थिए, बाले । बलभद्र ठाकुर, रुद्रकुमार शाक्य, अरुण कुमार (कृष्णदास श्रेष्ठ), मंगलदास महर्जन, रामआसारे वर्मा, देव रञ्जितकार, शिव प्रसाद, लक्ष्मीदेवी श्रेष्ठ, शान्तदास मानन्धर, प्रतीक ढकाल र आफ्नै अनुवादमा थुप्रै पुस्तक प्रकाशित भइसकेका थिए । प्रगति प्रकाशनका नाममा प्रकाशित पुस्तकको सुरुआती चरणका पुस्तक नेवारी र हिन्दीमा थिए । प्रकाशनको नाम थिएन, आफ्नै नाममा प्रकाशन सुरु गरेका थिए, बाले । स–साना नेवारी पुस्तिका प्रकाशन भएका थिए, पहिले ।

बलभद्र ठाकुर अनुदित चाउयाङको दर्शनशास्त्र और समाज विज्ञान के कार्यकर्ताओंको बौद्धिक कर्तव्य की चुनौति शीर्षकको पुस्तक प्रगति प्रकाशनको दोस्रो नम्बरको प्रकाशन हो । २०२१ सालमा प्रकाशित उक्त पुस्तक महालक्ष्मी प्रेस, महाबौद्धमा मुद्रित थियो । आफ्ना प्रकाशित पुस्तकमा प्रकाशन अंक राख्ने गर्नुभएको थियो बाले । एक नम्बरको प्रकाशन के थियो, थाहा भएन । पुस्तकालयमा अझै भेटिएको छैन त्यो १ नम्बरको पुस्तक । चौथोमा चीनको संविधान, पाँचौँमा सांघाई र ताइयुआनको पतनपछि, सत्रौँमा प्रारम्भिक कम्युनिस्ट शिक्षा, अठारौँमा अध्यक्ष माओकी रचनाओंसे चुने हुए लेख, बाइसौँमा माओको जीवनी (हिन्दीमा), एकतीसौँमा स्टालिन लिखित द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद, छत्तीसौँमा फूल बेच्ने केटी । सयौँ प्रकाशन संख्या थिए, प्रगति प्रकाशनका । यी केही छ्यासमिस भेटिएका पुस्तक मात्रै हुन् ।

चालीस सालपछिका प्रकाशनमा संख्या राख्ने क्रम तोडियो । तर पुस्तक अनुदीत र प्रकाशित हुने क्रम चली नै रह्यो । प्रकाशनको छत्तीसौँ संस्करणमा बल्ल जोडिन आएका थिए संग्रौला, प्रगति प्रकाशनसँग । त्यसपछि अनुवादक र प्रकाशकको जोडी लामो समय जम्यो । नेपाली पाठकले उत्कृष्ट चिनियाँ साहित्य, माओको जीवनी, माओका रचना सरल नेपाली भाषामा पढ्न पाए । 

काटिएका, केरिएका, पानीले भिजेका थुप्रै पानामध्ये डायरीमा अलि स्पष्ट देखिने एउटा भर्पाइ थियो । त्यसमा लेखिएको थियो– असल कम्युनिस्ट कसरी बन्ने, अन्तरपार्टी संघर्षबारे र पार्टीबारे अनुवादबापत रु. १६०० बुझिलिएँ, ०३८ साल माघ २५ । चिनियाँ राजनीतिका प्रभावशाली नेता ल्युसाओ ची लिखित पुस्तक थ्री एस्सेज अन पार्टी बिल्डिङको नेपाली अनुवाद गरेका थिए, रुद्रकुमार शाक्यले । यी तीन भागमध्ये असल कम्युनिस्ट कसरी बन्ने पुस्तक प्रकाशनको कथा पनि रोचक छ । छापिएर तयार पुस्तकको शीर्षक देखेर अञ्चलाधीश कार्यालयका अधिकृतले व्यंग्य गर्दै भनेका थिए, ‘पञ्चायतराजमा असल कम्युनिस्ट कसरी बन्ने पुस्तक प्रकाशित गर्न खोज्ने ? ज्यानको माया छैन ?’ उनले उपाए सुझाए, ‘यो कम्युनिस्ट भन्ने शब्दमाथि कालो पोतेर ल्याउनुस्, म पास गरिदिउँला ।’

फसाद पर्‍यो– पुस्तकको गातामा कालो पोतेर कसरी पुस्तक प्रकाशन गर्ने ? लु यो पुस्तकको गातामा लेखकको नाम राख्नुस्, अनि पुस्तकको नामचाहिँ असल कसरी बन्ने भन्ने राखेर ल्याए पास हुन्छ, नत्र हुन्न । यस्तै अलमल र बेमेलका उपाय सुझाउँदा सुझाउँदै पुस्तक पाठकसम्म पुग्न निकै लामो प्रतीक्षा गर्नुपर्‍यो । पुस्तक प्रकाशनका थुप्रै अप्ठेरा कहानी बा सुनाउनुहुन्थ्यो हामीलाई । शाक्यले अन्य थुप्रै पुस्तक पनि अनुवाद गरेका थिए । द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद, विश्वका केही इतिहासमाथि एक अध्ययन आदि ।

प्रगति प्रकाशनका प्रकाशित पुस्तकहरूको फेहरिस्त हेर्दा धेरैजसो राजनीतिक विषयका पुस्तकको अनुवाद कृष्णदास श्रेष्ठले गरेका छन् । उनी अनुदीत पुस्तकमा केहीमा उल्था गर्ने श्रेष्ठ लेखिएको छ भने केहीमा उनको छद्म नाम अरुणकुमार लेखिएको भेटिन्छ । माओ त्से तुङको चुनिएको रचना भाग १ पनि श्रेष्ठले नै गरेका थिए ।

प्रगति प्रकाशनका सयौँ पुस्तक प्रकाशित भए पनि तिनका प्रकाशन र अनुवादका तथ्य तथ्यांक भेटिने डायरी, रजिस्ट्रर, रेकर्डमा भेटिएनन् । पुस्तक प्रकाशन संस्था नै बन् दभएको दशकौँपछि यी कुरा भेटिने सम्भावनाको कल्पना गर्नु पनि बेकार हो । तर अनायास एउटा घटनाले छिटपुट बाँकी रहेका पुराना रेकर्ड फाइलहरू, खाताहरू खोतल्न हौस्यायो । नेपाल साप्ताहिकको २५ कात्तिकमा प्रकाशित अंकमा खगेन्द्र संग्रौलाको एक व्यक्ति चित्र छापिएको रहेछ । शीर्षक थियो ‘खाँटी अनुवादक’ । लेखक राजकुमार बानियाँ । खगेन्द्र संग्रौला मेरा प्रिय दाजु हुन्, लेखक हुन्, अनुवादक हुन् । आजभोलिको भाषामा भन्नुपर्दा म उनको लेखनकलाको डाइहार्ड फ्यान हुँ । बुबाको मित्र भएको नाताले काका भन्नुपर्ने हो उनलाई मैले । तर यदाकदा हुने भेटमा दाजु नै भन्छु । यति प्रिय दाजुका विषयमा लेखिएको व्यक्तिचित्रमा आदरणीय बालाई गरिएको चित्रणले मेरो मन–मस्तिष्क रन्थनियो । दिमागका तारहरू झनझनाए । दाजुले बोलेको भाषा उतार्नमा पत्रकार मित्रले पक्कै गल्ती गरे भन्ने मनमा लाग्यो । तर होइन रहेछ । एउटै आलेखमा बानियाँ लेख्छन्, ‘संग्रौलालाई वैद्यले ठगे ।’ अनि फेरि अलि तलतिर लेख्छन्, ‘संग्रौला वैद्यप्रति कृतज्ञ छन् ।’

माओको चुनिएका रचना भाग–२ अनुवाद गरेबापत ६ हजार रुपैयाँ मात्र पाएको रिस पोखेका रहेछन्, संग्रौला दाजुले । बानियाँ लेख्छन्, ‘माओका पाँच ठेली छन् । पहिलो ठेली अनुवादबापत वैद्यले कृष्णराज श्रेष्ठ (कृष्णदास हुनुपर्ने) लाई बीस हजार दिएछन् । दोस्रो ठेली पहिलोभन्दा दोब्बर ठूलो थियो । वैद्यले संग्रौलालाई जम्मा ६ हजार मात्रै दिएछन् । ...वैद्य दाइले मलाई ठगे ।’ बा बित्नुभएको १५ वर्ष भयो । कृष्णदास माडसाब यसै वर्ष बिते । अब कसरी सत्यतथ्य थाहा पाउने ? आमा भन्नुहुन्छ– ‘हो, कृष्णदासलाई भन्दा कम पैसा दियो भनेर रिसाएका थिए, संग्रौलाजी हामीसँग । तर बीस हजार होइन, दस हजार लिएका थिए कृष्णदासले । कसलाई कति दियोसँग के सरोकार ? कबुलेभन्दा कम दिएको भए पो रिसाउनु । कृष्णदासजीलाई अनुवाद गराउँदा हामीलाई महँगो परेको थियो । त्यसैले उनलाई गराएका थियौँ । माओ रचना भाग १ प्रकाशनबाट हामीलाई घाटा भएको थियो ।’ 

माओबाट निकै प्रभावित थिए, बा । चीन भ्रमणका बेला माओसँगको भेटले उनमा माओप्रतिको श्रद्धा अझ बढेको थियो । त्यसैले माओका सम्पूर्ण रचनाहरू अनुवाद गराएर नेपालीलाई पढ्न सजिलो पार्ने बाको जीवनको लक्ष्य थियो, जुन उनले आफ्नो जीवनकालमै पूरा गरे । चिनियाँ साहित्य र सिद्धान्तका पुस्तकहरू अनुवाद र प्रकाशनअघि चीनको विदेशी भाषा प्रकाशन गृहसँग अनुमति लिनुपर्थ्यो । पटक–पटक चिट्ठीपत्र आदानप्रदान हुन्थे । केही प्रति पुस्तक चीनमै पठाउनुपर्थ्यो । ठूला ठेली सस्तो र राम्रो मुद्रणका लागि पटना जानुपर्थ्यो । गाताको डिजाइन दुरुस्त बनाउनुपर्ने हुँदा रंग मिलाउन निकै समस्या हुन्थ्यो । पुस्तक प्रकाशन अहिलेजस्तो सजिलो कहाँ थियो र ? अनुवादकको काम अनुवाद गरेको ठेली बुझाएपछि सकिन्छ । तर प्रकाशक र वितरकको काम पुस्तक बजारमा पुगेपछि पनि सकिँदैन ।

पुस्तकलाई पाठकले मन पराएनन् भने ? बिक्री भएन भने ? पाठकले पुस्तक मन नपराइदिँदा फसेका पुस्तक अझै थुप्रिएका छन्, पुस्तकालयको कुनै कुनामा । बूढाहरूले दु:ख गरेर तयार पारिदिएका पुस्तक खुरु–खुरु बिनाअनुमति पुनर्मुद्रण गर्नजस्तो सजिलो अवस्था कहाँ थियो र उहिले ? 

वैद्यले ठगे भनेका दाजुले त्यसपछि पनि लगालग थुप्रै अनुवादको काम पनि गरेका रहेछन्, बासँग । प्रकाशित पुस्तकले त्यस्तै अवस्था देखायो । लगभग पाँच वर्ष । माओ त्से तुङ चुनिएका रचना भाग ३, युवाहरूका गीत, लुसुनको जीवनी, गुनिला चिनियाँ कथामाला भाग (१–७), चिनियाँ लोककथामा आइमाईहरू, माओ त्से तुङ चुनिएका रचना भाग ४ आदि–आदि ०४० सालपछिका प्रकाशन हुन् । बाको र संग्रौला दाजुको प्रकाशन र अनुवादकको जोडी माओ त्से तुङ चुनिएका रचनाहरू भाग ४ पछि थामियोजस्तो लाग्छ, २०४८ सालमा । व्यक्तिचित्रमा बानियाँ लेख्छन्, ‘याङ मोको उपन्यास द सङ अफ युथलाई युवाहरूको गीत बनाइदिएको उनैले हो ।’ द सङ अफ युथलाई जसले अनुवाद गरे पनि युवाहरूको गीत नै बन्ने हो । ०४१ सालमा भक्तपुर नगरपञ्चायतले पनि द सङ अफ युथको भावानुवाद प्रकाशन गरेको थियो । अनुवादक थिए, एम.आर सुवेदी । पुस्तकको आवरण दुरुस्तै हुँदा मानिस निकै झुक्किएका थिए । सुवेदीले पनि पुस्तकको अनुवाद युवाहरूको गीत भनेरै गरेका थिए । तर पुस्तक ११० पृष्ठको मात्रै थियो । प्रगति प्रकाशनको पुस्तक ६ सय पृष्ठभन्दा बढी थियो ।

खगेन्द्र संग्रौलाको लेखन क्षमता, अनुवाद शिल्प, उनका कृतिहरू, अभिव्यक्तिहरूको विश्लेषण गर्ने क्षमता ममा छैन । उनका धारिला शब्द, कटाक्षपूर्ण तर्कले भरिएका लेखरचना चाख मानेर पढ्ने म एक सामान्य पाठक हुँ । सामाजिक सञ्जालतिर उनलाई कुण्ठाले भरिएको लेखक भनेर गरिने गाली पढेर बडो दु:ख लाग्थ्यो मलाई । तर त्यो कुण्ठा अनायास मेरा बामाथि पनि तेर्सिएकामा म अचम्मित छु । मेरा बा बितिसके । संग्रौला आफैँले भनेका छन्– म उनीप्रति कृतज्ञ छु । बासँगको लामो संगतमा पक्कै पनि तीतामीठा घटनाहरू घटे होलान् । केही फाइदा बालाई भयो होला, केही फाइदा संग्रौलालाई । 

प्रकाशित: मंसिर ३, २०७६

×