सीमास्तम्भ : ४ हराए, ४ ढले

  • प्रदेश ५

- मनोज पौडेल/कपिलवस्तु

वियजनयर गाउँपालिका–५, ठकुरापुरमा ४ महिनाअघि बाढीको भेलमा हराएका ४ सीमास्तम्भ अझै फेला परेका छैनन् । बाढीले ढालेका ४ सीमास्तम्भ अझै ठडिन सकेका छैनन् । 

२८ असारको बाढीले सुदूरपश्चिमको सीमा छुट्याउँदै बगेका दुई खोलाका ८ सीमास्तम्भ प्रभावित भए पनि मर्मतसम्भार हुन सकेको छैन । एक सीमास्तम्भ अर्रा खोलामा क्षतिग्रस्त बनेको छ । ठकुरापुरका रामबहादुर थापा भन्छन्, “पानीको भेलले सार्दै लगेको छ । पछि यही कुराले विवाद बढ्छ । त्यही भएर अहिले नै सतर्कता अपनाई हराएका र ढलेका सीमास्तम्भ उठाउन ढिलो गर्नुहुन्न ।”

वियजनयर गाउँपालिका–५, ठकुरापुर र भारतको बलरामपुर जिल्ला गिद्धहवा सीमामा रहेको पिलर नं ५७८/७ ढलेको छ । त्यसको डेढ किमि उत्तर पिलर नं ५७८/१० पनि ढलेको छ । पिलर नं ५७८/७ को २ किमि दक्षिण दुइटा पिलर ढलेका छन् । उक्त गाउँपालिकाको वडा–६ गेडुवाजोत र भारत प्रतापपुरको सीमा रहेको पिलर नं ५७७/७ र ५७७/९ ढलेका छन् । ५७७/९ नम्बर पिलर तेस्रो परेर बालुवा र पानीमा धसिएको छ । आधी भाग मात्र देखिन्छ । 

“त्यही नजिक रहेको ५७७/७ नं पिलर देखिएको छैन,” बिओपी, डालपुरका सशस्त्र प्रहरी निरीक्षक अनिरुद्ध हजारा भन्छन्, “बाढीले बगाएको हुन सक्छ ।” आफूहरू दैनिकजसो पुगेर निरीक्षण गर्दै फर्किने गरेको उनी बताउँछन् । पानीमाथि आएको ५७७/६ नं पिलरको जग कुनै पनि बेला ढल्न सक्छ । त्यस्तै, विजय नगरपालिका–१ अर्रा खोलाको चमरका जंगलमा ५८७/७ नम्बरको स्तम्भ क्षतिग्रस्त बनाएको छ । टुप्पो भाँचिएको छ । ठूल्ठूला बोल्डर लागेर भाँचिएको र स्तम्भ पनि सरेको अनुमान गरिएको छ । जिल्लाकै विकट मानिने जुवाबैराठ गाउँबाट एक घन्टा पैदल हिँडेर उक्त ठाउँ पुगिन्छ । 

कृष्णनगर नगरपालिका–१२, भगवानपुरमा पनि बाढीका कारण दुई सीमास्तम्भ हराएका छन् । वियजनयर गाउँपालिका–५, ठकुरापुरका हरिराम यादव हराएका स्तम्भ छिट्टै पुन: स्थापित गर्न लागिहाल्नुपर्ने बताउँछन् । भन्छन्, “पानीको भेलले सार्दै लगेको छ । नापी विभाग आएर ढलेका र हराएका सीमास्तम्भ उठाउन ढिलो गर्नुहुन्न ।” 

जिल्लाकै ठूला खोलामा पहाडतिर थोरै पानी पर्नासाथ बहाव तीव्र हुन्छ र स्तम्भ ढल्ने अवस्थामा पुग्छन् । कमजोर फाउन्डेसनका कारण स्तम्भ ढलेका र हराएको वडा–७ का अध्यक्ष दिनेश चौधरी बताउँछन् । भन्छन्, “आधी मिटर पनि फाउन्डेसन छैन, त्यही भएर अडिएनन् । दुई देशको सीमास्तम्भजस्तो संवेदनशील कुरामा कम्तीमा ३–४ मिटर गहिरो फाउन्डसेन बनाएको भए केही हुन्थेन ।”

गत वैशाखमा मात्र मर्मत गरी गाडिएका खोलामै रहेका सीमास्तम्भ २ महिना नपुग्दै ढलेको चौधरीको भनाइ छ । स्तम्भ मर्मत ढिलो भइरहेकामा चिन्तित स्थानीयले सक्दो छिटो पुन: स्थापित गर्न माग गरेका छन् । ठकुरापुरका अजय चौधरी सरकार राष्ट्रियताप्रति संवेदनशील नभएको बताउँछन् । भन्छन्, “सानोतिनो बाढी आउनासाथ अहिले ढलेका स्तम्भ बगाउने अवस्था छ ।” हराएका पिलर जहाँ गाडिएका थिए, त्यहीँ गाड्न प्राविधिक टोली छिटो आउनुपर्ने स्थानीय राजेन्द्र यादव बताउँछन् । “सीमास्तम्भ ढलेको ठाउँबाट बगेर ठाउँ सर्न थालेका छन्,” यादव भन्छन्, “यो संवेदनशीलतालाई बुझ्नुपर्छ ।”

सीमास्तम्भ रेखदेख जिम्मा पाएको सशस्त्र प्रहरीका प्रमुख उपरीक्षक जनकराज पुरीका अनुसार बाढीले हराएका र ढलेका सीमास्तम्भको विस्तृत विवरण विभागमा पठाइसकिएको छ । ती ठाउँको नियमित अनुगमन भइरहेको छ । हराएका स्तम्भ खोज्दा नभेटिएको जानकारी गृह मन्त्रालयमा पठाइसकेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ बताउँछन् । भन्छन्, “सक्दो छिटो पुन: निर्माण हुन्छ ।” 

प्रकाशित: मंसिर ४, २०७६

×