तिब्बती हाटबजारकै भर

  • कर्णाली प्रदेश

- राजबहादुर शाही/मुगु

मुगम कार्मारो–२ मुगु गाउँका टासी लामा, ३५, को तिब्बतसँगको व्यापारिक साइनो १५ दिनको मात्र छ । टासी हरेक वर्ष १५ दिनका लागि तिब्बतमा सामान किनमेल गर्न जान्छन् । टासीले तिब्बतसँग व्यापार गर्न थालेको भने करिब २० वर्ष पुगेको छ । 

१० वर्षको उमेरमै भारी बोकेर तिब्बत उक्लिन थालेका उनी चाहन्छन्, सके वर्षैभरि, नसके महिना दिन तिब्बतसित व्यापार गर्न पाइयोस् । तिब्बती व्यापारी साथीसँग भेटघाट भइरहोस् । तर उनले तिब्बती नियम मिचेर व्यापार गर्न पाउँदैनन् । 

प्रत्येक वर्ष १ देखि १५ साउनसम्मका लागि मात्र अस्थायी तिब्बती हाटबजार खुल्छ । त्यही मौका छोपेर सामान किन्न र चिनापर्ची भएका तिब्बतीसँग साइनो नवीकरण गर्छन् । उक्त अवधिभित्र सामान किनमेल गर्न नसके वर्षभरिको गाँस र कपासका लागि गाउँ छाडेर बाहिरिनुपर्ने अवस्था हुन्छ । भन्छन्, “अवधि सकिएपछि पैसा भए पनि किनमेल गर्न मिल्दैन । तिब्बती हाटबजार उठेर गइहाल्छ । सरकारी सहयोगबिना हामीले चाहँदैमा केही हुन्न ।”

पञ्चायतकालदेखि नै मुगु गाउँका आदिवासी जनजातिले तिब्बतीसँग व्यापार गर्दै आए पनि व्यापारिक सम्बन्ध विस्तार हुन सकेको छैन । १५ दिने तिब्बती हाटबजारले सामान किनमेल गर्न हतार हुन्छ । कहिले साउन महिना लाग्ला र तिब्बतमा सामान किन्न अनि जडीबुटी बेच्न जाउँला भन्दै दिनगन्ती गरेर बस्ने गरेको मुगु गाउँकै छिरिङ तोर्ची लामा बताउँछन् । भन्छन्, “वर्षभरि तिब्बतसँग व्यापार गर्न सरकारले नियम बनाइदिएको भए पनि यस्तो दु:ख–कष्ट गरेर किन बस्नुपथ्र्यो ?” 

जिल्ला सदरमुकाम गमगढीदेखि २८ कोष टाढाको मुगु गाउँ तिब्बत सीमासँगै जोडिएको छ । उक्त गाउँमा बस्ने दुई सय परिवारको बास नेपाली भूमिमा भए पनि गाँस र कपासका लागि तिब्बततिरै निर्भर छन् । अघिल्लो वर्ष तिब्बतबाट किनेर ल्याएको खाद्यवस्तु पछिल्लो वर्षसम्म पुर्‍याउनै मुस्किल हुने स्थानीयको गुनासो छ । तिब्बती हाटबजार नलाग्दै घरमा दैनिक उपभोग्य वस्तु सिद्धिएर पल्लो घरसँग पैँचो गर्नुपर्ने अवस्थाले मनमा पीर मानेर जीवन निर्वाह गर्नुपर्ने बाध्यता छ । मुगु गाउँदेखि तिब्बत पुग्न गहु्रँगो भारीसँग दुई दिन र रित्तै एक दिन समय लाग्ने स्थानीयको भनाइ छ । स्थानीय छिरिङतोर्ची दुखेसो पोख्छन्, “यो हाम्रै सरकारको कमजोरी हो ।”

मुगु गाउँदेखि जिल्ला सदरमुकाम पुग्न तीन दिन र तिब्बत पुग्न एक दिन लाग्छ । स्थानीयलाई नेपालको भन्दा तिब्बती बाटो सहज लाग्छ । मुगु गाउँदेखि रातापानी, पुरानो मुगु, टाँकेखोला, रानीओढार, रिमारको बाटो हुँदै १३ नम्बरको तिब्बत सीमा पिलर भेटिन्छ । भीरपखेरा केही नभएकाले तिब्बत पुग्न र आउन सहज हुने स्थानीयको अनुभव छ । 

१५ दिने व्यापार

तिब्बतमा खुल्ने १५ दिने तिब्बती हाटबजारबाट स्थानीयले ऊनदेखि नुनसम्म किनेर ल्याउने गर्छन् । आफ्नो भूमिमा अन्न उत्पादन न्यून हुने भएकाले वर्षैभरिका लागि पुग्ने चामल, मैदा, नुन, तेल, घ्यु, चिनी, साबुन, चाउचाउ, जुस, रक्सी, तिब्बती चिया, कम्बल, जुत्ता, चप्पल, भाँडाकुँडा ल्याउने गरेका छन् । 

तिब्बती भाषाको समस्याले अधिकांश स्थानीय दाहाते अर्थात् नेपालीसितै सामान किनेर ल्याउनुपर्दा ठगिनेसमेत गरेका छन् । चिनियाँ मुद्रा सुक्कुरको भार वृद्धि हँुदै गएकाले खाद्यवस्तु, लत्ताकपडा विगत वर्षभन्दा महँगो हँुदै गएको टासी सुनाउँछन् । पहिले चिनियाँ एक सुक्कुरको ७ देखि ८ रुपैयाँमा सटही हुन्थ्यो भने यो वर्ष १६ देखि १७ रुपैयाँ सटही गर्नुपर्दा वस्तुभाउ महँगोमै खरिद गर्नु परेको उनको भनाइ छ ।

नाक्चेनाङ्ला नाकाबाट मालसामान बोकेका खच्चडको लस्कर


स्थानीयले तिब्बतमा खाद्यवस्तु किनमेल गर्न जाँदा आफ्नो घरबस्तीबाट वनजंगलको जडीबुटी पाटनको यार्सा, उवाको सातु र खल्तीमा पैसा बोकेर जान्छन् । तिब्बतबाट गहु्रँगो भारी बोकेर ल्याउन नसकिने हुँदा चौँरी, झोवा, घोडा खच्चरलाई १५ दिनसम्म भरियाको रूपमा प्रयोग गर्छन् । मुगम कार्मारोङ गाउँपालिका प्रमुख छिरिङ क्याप्ने लामा भन्छन्, “हामीलाई रेल चाहिएन, सरकारले पक्की सडक बनाइदिए पुग्छ ।” सरकारले भूगोल र जनसंख्याका आधारमा थोरै बजेट विनियोजन गर्ने भएकाले बाटो, खानेपानी, स्कुल क्षमता विस्तार गर्दै रकम सकिने उनको गुनासो छ । 

तिब्बतसँग जोडिएको मुगुको उत्तरी क्षेत्रमा छायानाथ तिहार बगर, कोइजी मरक्का हिमाल, माथिल्लो मुगु पर्यटकीय हिसाबले महत्त्वपूर्ण छन् । वनजंगल, वन्यजन्तु र जलस्रोतको भण्डार रमणीय मानिन्छन् । बौद्ध धर्मावलम्बीका १२ सयभन्दा बढी चिटिम गुम्बा यसै क्षेत्रमा पर्छन् । 

उत्तरी नाक्चेनाङ्ला सडक खोल्न सके चिनियाँ पर्यटकका लागि उत्कृष्ट मार्ग हुने कर्णाली प्रादेशिक पर्यटन विकास समितिका संयोजक राजु कार्की बताउँछन् । उनका अनुसार तिब्बत जोड्ने सडकले डोल्फुको तामाखानी अनुसन्धान तथा उत्खनन गर्न सहज हुन्छ । बहुमूल्य यार्सा पनि उक्त क्षेत्रमै पाइने हुँदा पर्यटकले त्यो रुट मन पराउँछन् । उक्त स्थानलाई सिकार आरक्ष क्षेत्र घोषणा गर्न सके अझ बढी पर्यटक आउन सक्छन् । 

कछुवा गतिमा सडक 

मुगम कार्मारोङस्थित पुवा गाउँका जिक्मेद लामा, ३९, को गाडी चढेर तिब्बत जाने सपना अधूरै छ । उनले तिब्बतबाट सामान ल्याउन थालेको ८ वर्ष भयो । ६ वर्षअघि गमगढीमा गाडी पुग्दा अब तिब्बत नाक्चेनाङ्ला पुग्ला भन्ने आशा राखेका लामा सडक निर्माणको गति हेर्दा उदेक मान्छन् । भन्छन्, “राजनीतिक दलहरूले भोट माग्ने बेला नाक्चेनाङ्ला सडक बनाइदिन्छौँ भन्छन्, जितेपछि वास्ता गर्दैनन् ।” 

कर्णाली प्रदेशकै गौरवको आयोजना मानिने मुगु गमगढीदेखि नाक्चेनाङ्लासम्म ८५ किलोमिटर र सुर्खेतबाट नाग्मा, गमगढी हँुदै तिब्बत सीमासम्म ३ सय ३२ किलोमिटर लम्बाइ छ । ०६७ देखि निर्माण थालिएको नाक्चेनाङ्ला सडकको छाइल गाउँसम्म १७ किलोमिटर ट्रयाक मात्रै खुलेको छ । अझै ६८ किलोमिटर सडक खन्न बाँकी छ । ५ वर्षभित्र नाक्चेनाङ्लासम्म गाडी पुर्‍याउने लक्ष्यका साथ निर्माण थालिए पनि अलपत्र छ । 

उक्त सडकको कुल लागत ८० करोड भए पनि अहिलेसम्म १० करोड मात्र खर्च भएको सडक डिभिजन कार्यालयले जनाएको छ । चालू आर्थिक वर्षमा प्रदेश सरकारबाट १० करोड बजेट विनियोजन भएको सडक डिभिजन कार्यालयका इन्जिनियर श्रवणकुमार महतारा बताउँछन् ।

गमगढी–नाक्चेनाङ्ला सडक निर्माण परियोजना स्वीकृति भए पनि बजेटको समस्याले अहिलेसम्म कार्यालयसमेत खोलिएको छैन । ठेक्का स्वीकृति गरे पनि काम कछुवाको गतिमा छ । निर्माण कार्य पनि असार मसान्तका बेला हुने भएकाले आधा बजेट फ्रिज जाने गरेको छ । 

नेपालको उत्तरी तिब्बततर्फका सात नाकामध्ये नाक्चेनाङ्ला सबैभन्दा छोटो र सहज हुँदा पनि सडक निर्माणमा लापरबाही भएको जिल्ला नागरिक समाजका अध्यक्ष रूपबहादुर मल्ल बताउँछन् । भन्छन्, “अब ठेक्काबाट सडक बन्ला भन्ने आशै छैन । नेपाली सेनालाई जिम्मा दिए हुन्छ ।”

स्थानीयका अनुसार मुगु कर्णाली नदीको तीरैतीर भएर तिब्बत सीमा पुगिने भएकाले सडक खन्न कुनै अप्ठेरो छैन । उक्त सडकको कर्णाली नदीमा दुई स्थानमा बाहेक अन्यत्र बेलिब्रिज बनाउनु पर्दैन । 

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा मुगुबासीले नाक्चेनाङ्ला सडकले प्राथमिकता पाउने अपेक्षा गरेका थिए । प्रदेश सभासद् झोवा विकले उत्तरी सडकलाई वैधानिक बनाउनसमेत आग्रह गरेकी थिइन् ।

राजस्व असुल्ने निकाय मुगु भन्सार कार्यालय कर्मचारी नहुँदा सुनसान छ । घरमा साइनबोर्ड मात्र झुन्ड्याइएको छ । मुगु–तिब्बत सीमा क्षेत्रको अवैध व्यापार नियन्त्रण र मालसामान चेकजाँचका निम्ति मुगुमा भन्सार कार्यालय खुलेको वर्षौं भइसक्यो । 

भन्सारमा कर्मचारी नहुँदा एकातिर राजस्व असुलीमा गिरावट आएको छ भने अर्कोतिर नाक्चेनाङ्ला हुँदै तिब्बततिर अवैध कारोबार बढेको प्रदेश सभासद् विकको गुनासो छ । 

प्रकाशित: मंसिर ४, २०७६

×